एटा संवाददाता
फार्नबोरो । मगर संघ यूकेकी उपाध्यक्ष अनिता राना मगरले छैटौं कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले गत शनिबार २ मार्चका दिन मगर भवन फार्नबोरोमा सम्पन्न पाँचौं कार्यसमिति बैठकमा साथीहरुबीच अध्यक्ष पदमा रहेर काम गर्ने इच्छा व्यक्त गर्दै त्यस्तो घोषणा गरेकी हुन् । सोही बैठकमा मगर महिला संघ यूकेकी अध्यक्षसमेत रहेकी छविमाया पुनले आफू पनि उपाध्यक्ष (महिला) मा रहेर काम गर्ने इच्छा व्यक्त गरिकी थिइन् ।
मगर संघ यूकेको हालै सम्पन्न मगर दिवसबारे छलफल गर्न बसेको बैठकमा मगर संघ यूकेका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, सल्लाहकार ले.कर्णेल याम राना लगायतको विशेष उपस्थिति रहेको बैठकमा उनीहरुले आफूनो उम्मेदवारी घोषणा गरेकी हुन् ।
सन् २००७ देखि बेलायतमा स्थायी रुपमा बस्दै आएकी उपाध्यक्ष रानाले सुरुमा आफू कार्यसमितिमा नरहे तापनि मगर संघ यूकेको विभिन्न कार्यक्रममा सहभागी हुँदै आफूले सकेको सहयोग गर्दै आएको बताइन् । उनले नेपाली मेलाका लागि आवश्यक नृत्यको तयारी गरिएको पनि स्मरण गर्दै मगर संघ यूकेको सांस्कृतिक सचिव र मगर संघ स्वीन्डन शाखाको उपाध्यक्षमा बसेर संस्थालाई सक्दो सहयोग गरेको बताइन् ।
उनको सरल स्वभाव र काम गर्ने उर्जा देखिएकै कारण मगर संघ यूकेले ३ वर्षअघि उनलाई उपाध्यक्षमा चयन गरेको थियो । उपाध्यक्षमा रहेर मगर संघ यूकेको विभिन्न कार्यक्रमहरुसमेत संयोजन गरिसकेकी रानाले आगामी ३ वर्षको लागि गठन हुन लागेको नयाँ कार्यसमितिको गरिमामय पद अध्यक्षमा दाबी गरेकी हुन् ।
हङकङबाट समाज सेवामा प्रवेश गरेकी रानाले सुरुमा मगर संघ हङकङको कार्यसमितिमा रहेर काम गरिकी थिइन् । हङकङमा मगर महिला संघ स्थापनामा विशेष भूमिका निभाई संस्थापक उपाध्यक्षमा रहेर काम गरेर विशेष अनुभव लिइसकेकी छन् । तनहुँ पुख्र्यौली घर भएकी राना अहिले परिवारसहित बेलायतको स्वीन्डन सहरमा बस्दै आएकी छन् ।
स्मरण रहोस्, सन् २००३ मा स्थापना भएको मगर संघ यूकेको थर्क राना, मेजर कुलबहादुर थापा र दुत पुनले अध्यक्षता गरिसकेका छन् भने नेम थापाले ३ वर्षदेखि वर्तमान कार्यसमितिको अध्यक्षको जिम्मेवारी सम्हालीरहेका छन् । उनको कार्यकाल आउने ६ अप्रिलका दिन सम्पन्न हुन लागेको छैटौं अधिवेशनका दिन समापन हुने छ । सोही अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।
मगर संघ यूकेको निर्वाचन समितिले निर्वाचन तालिकासमेत सार्वजानिक गरिसकेको छ ।






