एटा संवाददाता
लन्डन । तमुधिं लन्डन इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गत ३ मार्च २०१९ आइतबार लन्डनको हेरोस्थित स्टकोर्ट एभिन्यु सोसियल क्लबमा सम्पन्न भएको हो । इकाईको विभिन्न विषयमा व्यापक रुपमा छलफल भएको साधारणसभामा सदस्यहरुको दिवंगत भएका समाजका आफन्तहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । साधारणसभालाई तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, तमुधिं यूकेका निवर्तमान ज्ञाम गुरुङ, इकाई अध्यक्ष चन्द्रबहादुर गुरुङ र इकाई आमा समूहकी अध्यक्ष डिलमाया गुरुङले संयुक्त रूपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष र निवर्तमान अध्यक्षलाई विशेष कार्यक्रमसहित स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै, इकाईको ११ औं ल्होसार कार्यक्रम भव्य सफल बनाउन भूमिका खेलेका कार्यक्रम संयोजक उपाध्यक्ष चेतप्रसाद गुरुङलगायत आमा समूह तथा बाबा समूहलाई विशेष धन्यवाद दिँदै कदर पत्र वितरण गरिएको थियो ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, आमा समूहकी अध्यक्ष जगतमाया गुरुङ र निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा इकाई ट्रस्टीज, सल्लाहकार र आमा समूहका विशेष व्यक्तिहरुले संस्थाले गर्दै आएको कार्यहरुप्रति धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यसरी नै राम्रो कार्य गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै, उनीहरुले आवश्यक सल्लाह र सुझावका साथै शुभकामना समेत दिए । साधारणसभाले इकाईका आगामी कार्यक्रमहरुको मिति तय गरी सशक्त ढंगले सधैं नेपालीहरुको हकहितका लागि काम गर्दै अगाडि बढ्ने निर्णय गरेको इकाईका महासचिव भरत गुरुङले जानकारी दिए ।
तमुधिं लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चेतप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए भने उपाध्यक्ष बिष्णु गुरुङले सुरक्षासम्बन्धी जानकारी गराएका थिए ।






