मधुकर गुरुङ
लन्डन । बेलायतवासी नेपालीहरुद्वारा निर्मित तथा निर्देशित नेपाली चलचित्र ‘एटीन’ अल्डरसटमा प्रदर्शन भएको छ । गत आइतबार १० मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ३ बजे र साँझ ६ बजे गरी दुई शो प्रदर्शन भएको हो ।
प्रमिस भिजनको व्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतवासी प्रेम लामाले निर्देशन गरेका छन् । नेपालीहरु बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेपछि दोस्रो पुस्ता युवायुवतीहरु बेलायतकै संस्कारमा हुर्के बढेका छन् । पहिलो र दोस्रो पुस्ताबीचको जेनेरेशन ग्यापलाई सो चलचित्रमा प्रस्तुत् गर्न खोजिएको छ । चलचित्रमा १८ वर्ष मुनीका बालबालिकाहरुको सोचाई, उनीहरुको अवस्था, आफ्नो सन्तानप्रति अभिभावकको भूमिका, चाहना र भविष्यबारे गरिएको चिन्तनलाई प्रस्तुत् गर्न खोजिएको छ ।
चलचित्र गत २४ फेबु्रअरीका दिन ह्यारोस्थित सफारी सेना हलमा पहिलो प्रदर्शन भई बेलायतका विभिन्न सहरहरुमा प्रदर्शनका क्रममा अल्डरसटका दर्शकहरुले हेर्ने अवसरमा पाएका हुन् ।
चलचित्रमा बेलायतवासी नेपालीहरु प्रसुना कँडेल, राजदिप राई, अम्बिका राई, सनमकुमार वैराग र रितेश चाम्सलगायतको अभिनय रहेको छ । त्यस्तै नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनले समेत राम्रो भूमिका निभाएका छन् । त्यस्तै, नाटककर्मी प्रसुना कँडेलले जीवन्त अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी छन् । र, नाटककर्मी बैरागको छोटो भूमिका भए पनि दर्शकलाई छाप छोड्न सफल भएका छन् । मुख्य भूमिका रहेका निर्देशक लामाको अभिनयले पनि उनको पात्रलाई न्याय गरेका छन् भने नयाँ अनुहारहरुले पनि सन्तोषजनक अभिनय गरेका छन् ।
सो चलचित्रले केही नयाँपन दिने प्रयास गरेको छ । जुन बेलायतवासी नेपालीहरुको कथा हो । कमजोर प्रस्तुतिबाट सुरु भएको चलचित्रको मध्यान्तरपश्चात् भने दर्शकको मन जित्न सफल भएको थियो । व्यागराउण्ड साउण्ड, सम्पादन र डविङ्ग पक्ष भने उत्कृष्ट रहेको सो चलचित्रका केही कथावस्तु, दृश्य र अभिनयलाई सुधार गर्ने हो भने मूलधारको चलचित्रको दाँजोमा पुग्न सक्ने एकजना चलचित्र समिक्षकको भनाइ थियो ।
बेलायतकै नेपाली निर्माता, निर्देशक र कलाकारहरुले अभिनय गरेको चलचित्र छिट्टै अमेरिकाका विभिन्न सहरहरुमा प्रदर्शन हुनेछ भने युरोपका पर्चुगल, बर्सा, पेरिस र बेलायतका अरु विभिन्न सहरहरुमा प्रदर्शन गर्ने योजनामा रहेको निर्देशक लामा बताउँछन् ।
तारादेवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा चन्द्रकुमार दोङ र ताराप्रकाश लिम्बुको संगीत, निर्मला घिसिङ र तारा प्रकाश लिम्बुको स्वर, चन्द्रकुमार दोङ र अन्जु श्रेष्ठको शब्द, एल .एक्स. पौडेलको ब्याकग्राउण्ड साउण्ड डिजे, किरण राज थापाको सम्पादन, कुशल श्रेष्ठ अरोण अशोक कुमारको छायांकन रहेको छ ।
निर्देशक लामाले बेलायतमै सन् २००३ मा मेनिका, २०११ म कसुर र सन् २०१५ मा युटर्न नामक चलचित्र दर्शकमाँझ पस्किसकेका छन् । एटीन उनको चौथो चलचित्र हो । जुन चलचित्रमा उनको प्रमुख भूमिका रहेको छ ।
बेलायतको व्यस्तता, सिमित श्रोत र साधनको बावजुद बनेको चलचित्रलाई सबैको माया र प्रोत्साहन पाउने हो भने सो समूहले उत्कृष्ट चलचित्र दिन सक्ने संभावना रहेको देखिन्छ ।






