नेपाली दूतावास लन्डनमा नारी दिवस

SHARE:

रोशन मेवाहाङ्ग
लन्डन । लन्डनस्थित नेपाली राजदूतावासमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।

राजदूत डा. दुर्गाबहादुर सुवेदीकी धर्मपत्नी पुनम सुवेदीको सभापतित्वमा विशेष समारोह आयोजना गरी नारी दिवस मनाइएको हो । कार्यक्रममा संयुक्त अधिराज्य बेलायतमा विभिन्न पेसा र समुदायमा रहेका नेपाली महिलाहरुको सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली साङ्गीतिक आकाशकी धरोहर मीरा राणा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता राधा पौडेल र संयुक्त अधिराज्यको जोन मोरिस विश्व विद्यालय, लिभरपुलकी प्रा. डा. सारा पार्कर विशिष्ट अतिथिका रुपमा उपस्थित थिइन् । समारोहमा स्वागत मन्तव्यका क्रममा सुवेदीले संविधानले महिलाहरुलाई समान अधिकार र अवसर प्रत्याभूत गरेको उल्लेख गर्दै नेपालको राष्ट्रपतिको सर्वोच्च पद तथा प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष पदमा महिला पुग्नु समस्त नारीहरुका लागि गौरवको विषय भएको बताए । उनले सम्पूर्ण बेलातयवासी नेपाली दिदीबहिनीहरुलाई एकताबद्ध भएर नेपाली महिलाहरुको चेतना र विकासका लागि योगदान गर्न आह्वान गरिन् ।

समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्कप्रसाद ओलीले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए । सो अवसरमा डा. सुवेदीले भने, ‘आमा शिक्षित भए परिवार शिक्षित हुन्छ र परिवार शिक्षित भए समाज शिक्षित हुने छ, राष्ट्रको समग्र विकास र महिला उत्थानमा नारी शिक्षा र सामाजिक चेतना सवैभन्दा महत्वपूर्ण रहने गर्छ ।’ उनले विदेशमा पनि नेपाली नारीहरुले आफ्नोे धर्म, संस्कृति, पर्व, परम्परा, रीतिरिवाज, भाषा, साहित्य, कला र संगीतलाई जोगाउँदै सधैं नेपालीमन र नेपालीपन बोकेर बाँच्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायिका मीरा राणाले नारी र पुरुष एक अर्काका अभिन्न अङ्ग हुन् भन्दै समाज र राष्ट्र निर्माणमा महिला र पुरुष सँगसँगै हातेमालो गरेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याइन् । नेपाली दूतावास लन्डनले बेलायतका विभिन्न स्थानबाट महिलाहरुलाई आमन्त्रण गरी आयोजना गरिएको समारोहले साँच्चिकै नेपाली नारीहरुको सम्मान भएको उनको भनाइ थियो ।

विशिष्ट अतिथि राधा पौडेलले नेपालका गरिब र विपन्न वर्गका महिलाहरुमाथि महिनावारीका समयमा हुने सामाजिक दुव्र्यवहार र अन्धविश्वासवाट मुक्त हुन सबैले खुलेर बहस गर्नुपर्ने समय आएको बताइन् । उनले महिनावारी समस्या र त्यसको समाधानका सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी विगत तीस वर्षदेखि नेपालको अध्ययन र अनुसन्धान गरिरहेकी प्रा.डा. सारा पार्करले नेपालको सिक्लेसमा आफू र आफ्नो सामाजिक संस्थाद्वारा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रमहरुका माध्यमबाट नेपाली महिला तथा बालबालिकाहरुप्रति पुर्‍याएको योगदानबारे एक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

गैरआवासीय अन्तर्राष्ट्रिय नेपाली संघकी केन्द्रीय सदस्य शान्ति थापा कुँवरलाई विशेष सम्मान गरिएको थियो । समारोहमा लन्डनलगायत बेलायतका विभिन्न सहरहरुबाट नेपाली महिलाहरु सहभागी थिए । अन्तमा बेलायतको सयपत्री नेपाली सांस्कृतिक समूहद्वारा एक मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!