बेलायतवासी घान्द्रुकेहरुले स्थानीय विद्यालयलाई सहयोग गर्ने

SHARE:

एटा संवाददाता
लन्डन । ग्रामीण पर्यटकीयस्थलको रुपमा परिचित घान्द्रुकवासीले स्थानीय घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयलाई आवश्यक सहयोग गर्ने भएको छ ।

गत आइतबार १७ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा बसेको घान्द्रुक समाज युकेको बैठकले सो निर्णय गरेको हो । सरकारले कक्षा ९ देखि १२ सम्मको कक्षा सञ्चालनका लागि ३ वर्षसम्म निजी स्रोतले खर्च व्यवस्थापन गर्नु पर्ने नीति अवलम्बन गरेपछि वि.सं. २००६ मा स्थापना भई २०३६ साल देखि माध्यमिक तह र केही वर्षअघि मात्र १० जोड २ को कक्षा सञ्चालन हुँदै आएको विद्यालयलाई आर्थिक सहयोग जुटाउनु परेको हो ।

सो विद्यालयलाई आवश्यक सहयोग गर्न विद्यालय व्यवस्थापन समितिले अनुरोध गरेपछि विद्यालयको वास्तविक अवस्थाबारेमा नेपालबाट आएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेजर (रि) ललित गुरुङको विशेष उपस्थितिमा व्यापक रुपमा छलफल गरिएको थियो ।

बैठकमा व्यवस्थापन समितिका अध्यक्ष मेजर (रि) ललित गुरुङले पावर पोइन्ट प्रोजेक्टरमार्फत विद्यालयको विगत, वर्तमान र भविष्यको गतिविधि सम्बन्धमा बिस्तृत रुपमा प्रकाश पारेका थिए । उनले विद्यालय सञ्चालनका लागि आवश्यक आर्थिक सहयोगको अनुरोध गर्दै आर्थिक सहयोग दुरुपयोग नहुने विश्वास व्यक्त गरे । सो अवसरमा उनले विभिन्न व्यक्तिहरुले राखेका जिज्ञासालाई मेटाउने प्रयत्न गरेका थिए ।

त्यस्तै, उनले माध्यमिक तह सञ्चालन गर्नका लागि करिब एक करोड रुपैयाँ बजेटको आवश्यक पर्ने बताउँदै हाल ११ कक्षामा २३ जना र १२ कक्षामा ८ जना विद्यार्थी अध्ययनरत रहेको जनाए ।

बैठकले नेपाल सरकारको हालको नयाँ शिक्षा नियमावली जनतालाई शिक्षाको पहुँच शुलभ हुनु पर्नेमा झन् निरुत्साहित हुने खालको महसुस भएकोले ३ वर्षसम्म निजी स्रोतबाट विद्यालय धान्ने नीतिलाई पुनर्विचार गर्न दवाव समूह गठन गरी आवश्यक दवाब सिर्जना गर्ने, सरकारी निकायहरुसँग समन्वय गर्न सहज होस् भन्ने उद्देश्यअनुरुप दुवैजना स्थानीय वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिमा समावेश गर्न पहल गर्ने, विद्यालयको स्तरोन्नतिका लागि आवश्यक आर्थिक सहयोगको लागि एउटा पम्प्लेटसहितको निवेदन पत्र तयार पारी वेभसाईट बनाएर दातृसंस्था (डोनर) खोज्ने र आर्थिक वा भौतिक सहयोग गर्न चहाने इच्छुक दातृ संस्था वा व्यक्तिहरु आएमा गाउँले वा शिक्षकले व्यक्तिगत रुपमा पहल नगरी व्यवस्थापन समितिमार्फत पहल गर्ने लगायतको सुझाव दिने निर्णय गरेको छ ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर (रि) गुरुङ तथा उनकी धर्मपत्नी ज्योति गुरुङलाई खादा फूल र भाङ्ग्रा लगाई स्वागत गरिएको थियो । त्यस्तै, हालै त्रिभाषिक शब्दकोष लेखन तथा प्रकाशन गरेका समाजका भूपू अध्यक्ष तथा भाषा संरक्षण समितिका अध्यक्ष रि. र्ई. खेमबहादुर गुरुङ र अर्का गुरुङ भाषासम्बन्धी पुस्तक लेखेर समाजलाई अतुलनीय योगदान दिएका अमरप्रसाद गुरुङलाई पनि फूल, खादा र भाङ्रा लगाई सम्मान गरिएको थियो ।

सम्मानका सामाग्रीहरु फूल, खादा र भाङ्रा आदि आमा समूहले व्यवस्था मिलाएका थिए । त्यस्तै, समाजका अध्यक्ष गुरुङले विद्यालयलाई आवश्यक पर्ने २ थान सामसुङ्ग ट्यापलेट समितिका अध्यक्ष मेजर (रि) गुरुङमार्फत हस्तान्तरण गरिएको थियो ।

बैठकमा तमुधिं युकेले आयोजना गर्न लागेको गोर्खा कप र नेपाली मेलामा समाजको तर्फबाट सहभागिता जनाउने निर्णय गर्दै आवश्यक तयारी गर्ने भएको छ । सो अवसरमा साँस्कृतिक संयोजक सनम गुरुङले नेपाली मेलाको आवश्यक तयारीबारे आफ्नो योजना सुनाएकी थिइन् । घान्द्रुक समाज युकेका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न बैठकलाई महासचिव रोशन गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!