एटा संवाददाता
लन्डन । तमुधिं युकेले महिला अधिकारकर्मी, सामाजिक अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलसँग भलाकुसारी गरेको छ ।
गत शनिबार १६ मार्चका दिन तमुधिं भवन मिचेटमो भलाकुसारी गरिएको हो । कार्यक्रममा महिला अधिकारबारे जनचेतना फैलाउँदै आएकी सामाजिक अभियन्ता पौडेलले महिनावारीको अवस्थामा महिलाहरुलाई गरिँदै आएको व्यवहार र भोग्दै आएको समस्याबारे पावर पोइन्ट प्रोजेक्टरमार्फत जानकारी दिएकी थिइन् । उनले महिनावारी हुँदा घर परिवारबाट अलग बस्नु पर्ने, कुनै कुरा छुन नहुने र नेपालका केही स्थानमा गोठमा बस्नु पर्नेजस्ता सदियौंदेखि चल्दै आएको रुढीवादी संस्कारलाई निरन्तरता दिनु कहाँको बुद्धिमानी हो भन्ने प्रश्न गर्दै समय सांपेक्षअनुसार परिवर्तन हुनु पर्नेमा जोड दिइन् । उनले यस्तो संस्कार नेपालमा मात्र होइन, विदेशमा बस्ने नेपालीहरुमा पनि भेटिएको साथै कुनै जाति विशेषमा मात्र होइन, हरेक जातजातिमा रहेको जिकीर गर्दै यसलाई तोड्नु पर्ने सुझाव दिइन् । सो अवसरमा डा. सारा पार्कर र अतिसा कोसुले समेत महिला अधिकारसम्बन्धी बोलेकी थिइन् ।
तमुधिं युके आमा समूहकी आजीवन सदस्य सुधा गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आमा समूहकी महासचिव यशोदा गुरुङले पौडेललगायत अतिथिहरुलाई खादा लगाई स्वागत गरेकी थिइन् । त्यस्तै, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले तमुधिं युकेको मायाको चिनो प्रदान गरेका थिए ।
‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ भन्ने नारालाई निरन्तरता दिदै महिला हकहितका लागि हरेक नारी स्वयं सचेत भई यस अभियानमा लाग्नु पर्ने बताईन् । उनले आप्mनो पछिल्लो प्रकाशन ‘अपवित्र रगत’ नामक पुस्तकको बारेमा समेत चर्चा गरेकी थिइन् । त्यस्तै, उनले ‘खलंगामा हमला’, ‘शान्तिका पाइलाहरु (कवितासंग्रह)’, ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ (ह्यान्ड बुक) र हालै ‘अपवित्र रगत’ नामक कृति पाठकमाझ पस्किसकेकी छन् ।
करिब १०० जनाको उपस्थिति रहेको कार्यक्रममा सहभागी महिलाहरुले महिनावारीबारे आआफ्नो अनुभव सुनाएका थिए । सो अवसरमा तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ र संस्थापक अध्यक्ष मिन गुरुङलगायत तमुधिं युकेका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, उनी १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ब्रिटिस एकेडेमी र लिभरपुल जोनमूर यूनिभर्सिटीको संयूक्त निमन्त्रणामा बेलायत आएकी हुन् । पेसाले नर्स पौडेल हाल महिनावारीबारे विद्यावारिधी गर्दैछिन् । उनको छोटो भ्रमणमा नेपाली दूतावास लन्डन, बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी, ग्रेटर रेडिङ्ग नेप्लीज कम्यूनिटी, बेजिङ्गस्टोक टेक्नोलोजी कलेज, क्रेनबोर्न कलेज बेजिङ्गस्टोक, मगर संघ युके, तमुधिं युके, सोयस यूनिभर्सिटी र एनआरएनएको आयोजना गरेको विभिन्न कार्यक्रम, भेटघाट र अन्तत्र्रिmयामा भाग लिइसकेकी छिन् । ब्रिटिस एकेडेमी र लिभरपुल यूनिभर्सिटीको कार्यक्रमपश्चात् उनको भ्रमणलाई बेजिङ्गस्टोक निवासी समाजसेवी सुधा गुरुङले संयोजन गरेकी थिइन् ।
अभियानकै क्रममा नेपालका ६२ वटा जिल्लामा पुगेकी पौडेल करिब १७ वटा देशमा विभिन्न सम्मेलन, अन्तरक्रिया र कार्यक्रममा सहभागी भएकी छन् । समाजसेवमा पुर्याएको योगदानलाई कदर गर्दै उनी एनपिस अवार्ड (२०१२), वुमन पिस मेकर अवार्ड (२०१२), प्रतिभाशाली युवा पुरस्कार (२०१४) र मदन पुरस्कार (२०१४) बाट सम्मानित भइसकेकी छन् ।






