
मगर संघ यूके बेलायतमा रहेका संघसंस्थाहरु मध्येको एक सामाजिक संस्था हो । आफ्नो भाषा, कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नु पर्दछ भन्ने उद्देश्यका साथ सन् २००२ सालमा स्थापना भएको मगर सघं यूकेको आगामी ६ अप्रिलका दिन छैटौं अधिवेशन सम्पन्न हुदैछ । सो अधिवेशनले नयां नेतृत्वको चयन गर्दैछ । मगर संघ यूकेलाई अझ प्रभावकारी ढंगबाट अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ मगर संघ यूकेका रसमुर शाखाका पूर्व अध्यक्ष ले.रि.सुनिल रानामगरले अध्यक्ष पदमा दरखास्त दिएका छन् । पुख्र्यौली घर स्याङ्जाको शिरकोट भएका राना काठमाण्डौंमा जन्मे, हुर्के, पढे र ब्रिटिश गोर्खा आर्मीमा भर्ति भई २२ बर्ष सेवा पश्चात सन् २००३ मा अवकाश प्राप्त गरे । सन् २००३ देखिनै मगर संघ यूकेको हरेक गतिविधिमा सक्रिय सहभागीता जनाउदै आएका ले.रि.राना संग उनको उम्मेदवारीको बारेमा एभरेष्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको छोटो कुराकानी ।
मगर संघ यूकेमा कहिलेदेखि आवद्ध हुनुहुन्छ?
सन् २००४ साल देखि नै म मगर संघ यूकेमा आवद्ध हुदै आएको छु । सन् २००३ देखि सन् २००८ साल सम्म म सल्लाहकारमा रहेर मगर संग यूकेको विभिन्न कार्यमा संलग्न भएँ । त्यसैगरी सन् २००८ साल देखि सन् २०१३ साल सम्म मगर संघ यूकेको (युएचएसबी) शाखाको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी लिएँ । हाल सो शाखा हमसायर, सर्रे र बर्कसायर काउन्टीका मगरहरुलाई समेट्ने गरी युनाईटेड ह्यामसायर सर्रे बार्कसायर (युएचएसबी) शाखाको रुपमा पुर्नगठन गरिएको छ । सन् २०१३ पछि पनि म पुनः मगर संघ यूकेको सल्लाहकारको हैसियतले मगर संघ यूकेको विभिन्न कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु ।
मगर संघ बाहेक अरु संघसंस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ की?
धेरै संघसंस्थाहरुबाट प्रत्यक्ष रुपमा मगर संघ बाहेक अरु कुनै संघसंस्थामा आवद्धता छैन तर गाउँले, जिल्ला र नम्वरी लगायतको संघसंस्थाको हरेक अभियानमा अप्रत्यक्ष रुपमा आपूmले सकेको सहयोग गर्दै आएको छु । विभिन्न च्यारिटीलाई सहयोग गर्दै आएको छु ।
तपाईले नै अध्यक्ष पदमा उम्मेद्वारी दिनुको कारण ?
मगर संघ यूकेले छोटो समयमा पनि थुप्रै उपलब्धीहरु हासील गरेको अवस्था छ तर यती उपलब्धीले मात्र पुग्दैन । आन्तरिक कामहरु धेरै गर्नुपर्ने छ । साथीहरुले पुरा समय दिन अव संस्था बृहत भएको अवस्था छ । र, यसलाई राम्ररी म्यानेजमेन्ट नगर्ने हो भने आफ्नो लक्ष्यमा पुग्न सकिदैन । त्यसका लागि सवल लिडरसीपको खाँचो छ । र, त्यो राम्रो म्यानेजमेन्ट र सवल लिडरशीप म गर्नु सक्छु भन्ने मलाई लागेको हुनाले मैले उम्मेदवारी दिएको हुँ ।
तपाईले हालसम्म मगर संघ युकेमा रहेर के के उल्लेखनिय कामहरु गर्नुभयो?
मेरो कार्यकालमा रसमोर क्षेत्रमा पहिलोपटक मगर भाषाको कक्षा शुरुवात गरें भने मगर महिलाहरुका लागि भलिबल प्रतियोगिता सञ्चालन गरियो । यस्तै, लखन थापा फुटबल प्रतियोगितामा सहयोग गरें भने रसमोरमा अहिलेसम्म संचालन हुँदै आएको लेडिज रमझम नाइट शुरुवात गर्न सल्लाह दिएँ । सन् २०१० मा युके मगर संघको पहिलो विधान मैले नै लेखेको थिएँ भने सन् २०१६ मा पुनः विधान समितिको संयोजक भई विधानको मस्यौदामाथि व्यापक छलफल चलाइ साधारणसभाबाट पारित गरियो । यसबाहेक मास्टर तथा पीएचडी ट्रष्ट, नेपाली ओपन कन्सर्टको संचालनमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छु ।
तपाईको प्रतिवद्धता बताईदिनुहोस् न?
मेरा प्रतिवद्धताहरु
मगर संघ युकेको अध्यक्ष ठूलो अवसर र जिम्मेवारी हो जहाँ समुदायप्रति बृहत उत्तरदायित्व हुन्छ । हामीले एकतावद्ध हुँदा स्थापनाकालदेखि अहिलेसम्म धेरै कुराहरु हासिल गरेका छौं । आफ्नै घर बनाएका छौं । धेरै वटा परोपकारी कोषहरु बनाएका छौं । धेरै ठूला कार्यक्रमहरु आयोजना गरेका छौं । यी कार्यहरुले मगरहरुलाई नजिक र एकतावद्ध बनाएको छ । तथापि हामीले अझै धेरै गर्न सक्छौं र गरिरहेका कार्यहरुलाई अझ व्यवस्थित र समयसापेक्ष बनाउन सक्छौं । यही भावना र आत्मविश्वासले मगर संघ युकेको अप्रिल ६, २०१९ मा हुन गइरहेको छैटौं महाधिवेसनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । संघको नेतृत्व लिनु विशुद्ध सामाजिक सेवा र निस्वार्थ कार्य हो । त्यसैले आगामी कार्यकाल म मेरा सबै समय मगर संघका लागि समर्पण गर्ने प्रतिवद्धता गर्दछु । म कुनै संघसंस्थामा आवद्ध नभएकाले म संघलाई शतप्रतिशत मेरो तन, मन, धन, वचन दिनेछु । त्यसैले म संघका सम्पूर्ण संरक्षकहरु, आजिवन सदस्यहरु, शाखाहरु, सदस्यहरु, शुभचिन्तकहरु सबैलाई मलाई मगर संघ युकेको अध्यक्ष पदमा निर्वा्चित गराउन सहयोगका लागि हार्दिक विनम्र अपील गर्दछु । मैले यदि म मगर संघको अध्यक्षमा निर्वाचित भएमा संघको उद्देश्य प्राप्त गर्नका लागि निम्न कार्य गर्ने योजना बनाएको छुः
१) मगर संघ युकेको आन्तरिक हरहिसाब लगायत सम्पूर्ण व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन हरेक चौमासिक बैठकमा संघको हरहिसाब सार्वजनिक गर्नेछु र संघको अर्को नेतृत्वलाई कम्तिमा २० हजार पाउण्डको मौज्दातसहित हस्तान्तरण गर्नेछु ।
२) मगर भवनको रेखदेख, व्यवस्थापन र संचालनका लागि एक अधिकार सम्पन्न समिति बनाउनेछु र भवनमा तल्ला थप्नका लागि पहल गर्नेछु ।
३) युकेमा मगरहरुका बारेमा कसैले जान्न प¥र्यो भने कहाँ जाने ? सबैले देखाउने र आउने मगर संघमा नै हो । त्यसैले मगर भवनमा मेरो कार्यकालमा मगर पुस्तकालय स्थापना गर्नेछु ।
४) युकेका मगर युवा, वुद्धिजीवी, प्राज्ञहरुलाई मगर संघमा समेट्न ‘मगर ग्राजुयट्’ फोरमको स्थापना गर्नेछु र यसमार्फत मगरहरुका विविध विषयमा छलफल, कार्यशाला, सेमिनार र गोष्ठी आयोजना गर्नेछु ।
५) मगरका इतिहास, भाषा, संस्कृति, भेषभूषा आदिका बारेमा अध्ययन अनुसन्धानलाई जोड दिनेछु र अध्ययन अनुसन्धानकर्तालाई प्रर्वद्धन र प्रोत्साहन गर्नेछु ।
६) मास्टर्स तथा पीएचडी ट्रष्ट बितेका दुई कार्यकालमा पनि पूरा हुन नसकेकाले त्यसलाई मेरो कार्यकालमा पूर्णता दिनेछु र यसै वर्षदेखि पूर्ण संचालनमा ल्याउनेछु ।
७) मगर संघ र मगर भवनलाई सबै मगरहरुका लागि खुला गर्नेछु । मगर संघ र मगर भवनलाई राजनीतिक, धार्मिक आस्थाबाट मुक्त राख्नेछु ।
८) विगतका कार्यसमितिले गरिरहेका असल कार्यहरुलाई निरन्तरता दिनेछु । कतिपय कार्यक्रमहरु शुरु गरेयता समाजमा धेरै परिवर्तन पनि भइसकेका छन् तिनीहरुका बारेमा पुनर्मूल्याङकन गरी समयसापेक्ष बनाउनेछु ।
९) मगर युवाहरु नै मगर संघ युकेको भावी नेतृत्वकर्ताहरु भएको हुँदा उनीहरुलाई मगर संघमा ल्याउने, प्रोत्साहित गर्ने, मगरहरुको भाषा, इतिहास, संस्कृति बारेमा प्रशिक्षित गराउनेछु ।
१०) मगरभित्रको विविधता हाम्रो अमूल्य सम्पत्ति हो । त्यसैले मगर जातिभित्रको विविधतालाई संघ र संघका कार्यक्रममा समेटी संघलाई समावेशी र एकतावद्ध बनाउनेछु ।
११) नाम जोडी युकेमा स्थापना भएका विभिन्न मगर संस्थासित छलफल गर्ने र उनीहरुलाई युके मगर संघको छातामुनी एकतावद्ध गर्ने प्रयास गर्नेछु ।
१२) मगर संघलाई बलियो र सशक्त बनाउन मगर महिलाहरुको महत्वपूर्ण भूमिका छ । त्यसैले मेरो कार्यकालमा मगर महिलाहरुका लागि बढीभन्दा बढी नेतृत्व विकास लगायतका कार्यक्रम संचालन गर्नेछु ।
१३) मगर संघका शाखा समितिहरु र केन्द्रीय समितिबीचको दुरी कम गरी शाखाहरुसित निकटमा रही उनीहरुलाई सबल बनाउन काम गर्नेछु । मगरहरुको बाक्लो बसोबास रहेका नयाँ क्षेत्रमा थप शाखा खोल्नेछु ।
१४) नेपाल मगर संघलगायत विभिन्न देशमा रहेका मगर संघहरुसित अझ नजिकको सम्बन्ध स्थापित गर्नेछु र उनीहरुसितको सहकार्यलाई जोड दिनेछु ।
१५) युकेस्थित नेपाली दुताबास, स्थानीय अन्य नेपाली संघ संस्थाहरु,स्थानीय काउन्सिल तथा अन्य संघ संस्थासित र समुदायसित सहकार्य गर्नेछु ।
१६) मगर संघको बैठकहरुमा अहिले धेरै समय र स्रोतको खर्च भइरहेको छ । त्यसैले बैठक संचालनका लागि प्रविधिमैत्री उपाय खोजी, बैठकलाई सकारात्मक भाव उत्पन्न गर्ने, सबै सरोकारवालालाई आफ्नो भनाइ राख्न सकिने र बैठकमा जाउँ जाउँ भन्ने वातावरण बनाउन पहल गर्नेछु ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ की?
मगर संघ युकेको स्थापनाकालदेखि संघमा आवद्ध भएको, हाल मगर भवन रहेको शाखारक्षेत्रको दुई कार्यकाल अध्यक्ष रहेको, दुई÷दुई पटक विधान समितिमा बसेर संस्थाको नीति नियमका बारेमा बुझेको तथा २२ वर्षसम्म सैन्य सेवामा बिताएको अनुभवले मलाई यो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नसक्छु भन्ने विश्वास लागेकाले मगर संघ युकेको छैटौं कार्यसमितिको अध्यक्ष पदमा मैले उम्मेदवारी दिइसकेको छु । तसर्थ, संघका संरक्षकहरु, आजिवन सदस्यहरु, शाखाहरु, शुभेच्छुक तथा शुभचिन्तकहरु लगायत युकेबासी सम्पूर्ण मगरहरुलाई मलाई अमूल्य मत दिई विजयी गराउनहुन हार्दिक विनम्र अनुरोध गर्दछु । म बोलेर मात्र होइन गरेर मगर संघ युकेलाई आन्तरिक र बाह्यरुपमा व्यवस्थित, पारदर्शी, समावेशी र सशक्त बनाउने छु । धन्यवाद ।






