एटा संवाददाता
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी युके (जीआरएनसी) का अध्यक्ष जीब बेल्बासे ह्याम्पसायर हाई सेरीफ अवार्डबाट सम्मानित भएका छन् । उनले जीआरएनसी युकेमा रहेर सफलतापूर्वक गरेको महत्वपूर्ण योगदानको कदर गर्दै गत २० मार्च बुधबार साँझ दि ग्रेट हल विन्चेस्टरमा एक कार्यक्रमबीच उनलाई सो अवार्डबाट सम्मान गरिएको हो ।
उनी गत जुलाई २०१७ मा दुई वर्षका लागि जीआरएनसीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । विगत केही बर्षदेखि अल्डरसटमा बसोबास गर्दै आएका बेल्बासेले ग्रेटर रसमुर क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहयोग गर्दै आएका छन् । उनको सरल स्वभाव र समाजप्रतिको समर्पणकै कारण सो अवार्ड पाउन सफल भएका हुन् ।
स्मरण रहोस्, रसमुर बरो काउन्सिलको अल्डरसट र फार्नबोरो सहरमा वृद्धवृद्धा भूतपूर्व गोर्खाज्हरुको बाक्लो बसोबास रहेको छ । त्यस्तै, सो क्षेत्रमा नेपालीहरुको करिब ६० वटाभन्दा बढी व्यवसायहरु संचालनमा छन् । भूतपूर्व गोर्खाज् र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीहरुलाई अध्यक्ष बेल्बासे लगायत जीआरएनसीले आवश्यक सहयोग गर्दै आएका छन् ।






