एटा संवाददाता
लण्डन । गत शनिबार २३ मार्च साँझ फार्नबोरोस्थित सामुयल कोडी स्पोटर्स कलेजमा च्यारिटेवल लेडिज रमझम नाईट सम्पन्न भएको छ । युएचएसबी लेडिज कमिटीले आयोजना गरेको कार्यक्रमलाई मगर महिला संघ युकेकी अध्यक्ष छविमाया पुन र मगर संघ युकेकी ट्रष्टी गोमा रानाले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसट, फार्नबोरो, क्याम्वर्लीसहर लगायतसो आसपास क्षेत्रका महिलाहरुको बाक्लो सहभागिता रहेको थियो । सो लेडिज कमिटीले कार्यक्रमबाट बचत भएको रकम परोपकारी कार्यमा सहयोग गर्ने उद्देश्यका साथ प्रत्येक बर्ष रमझम नाईटको आयोजना गर्दै आएको छ । कमिटीले यसपटक पानीको अभाव रहेको नेपालको दुर्गम क्षेत्र जाजÞरकोट जिल्लामा केही पानीटंकी बनाउन सहयोग गरिने जनाएको छ ।
कार्यक्रममा कमिटीकी अध्यक्ष पदम थापाले कार्यक्रमलाई सफल बनाउन कार्यक्रमलाई स्पोन्सर गर्ने सहयोगदाता तथा सहभागी दिदीबहिनीहरुलाई धन्यवाद दिइन् । सो लेडिज कमिटीले विगत केहीबर्षदेखि लेडिज नाईटको आयोजना गरी नेपालको सामाजिक क्षेत्रमा क्रियाशील रहेका परोपकारी संघसंस्थालाई समेत सहयोग गरिसकेको छ । लेडिज कमिटिका अध्यक्ष पदम थापाको अध्यक्षता सम्पन्न कार्यक्रमलाई कमिटीकी सचिव धना रोकाले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिदै संचालन गरेकी थिइन् ।






