मिलन तमु
अल्डरसट । गुरुङहरुको कला र संस्कृतिमा आधारित गुरुङ चलचित्र ‘खै ओ म्हिथेबा’ प्रदर्शन भएको छ । तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा घोइबो धिं सहयोगार्थ गत २३ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन भएको हो ।
सो चलचित्रमा सुवास गुरुङ, गोपाल गुरुङ, रेशम गुरुङ, अमन गुरुङ, विश्वास गुरुङ, मञ्जु, उर्मिला गुरुङ, प्रताप दास, दिनेश, मेख गुरुङ लगायतको जोडदार अभिनय रहेको छ । सो चलचित्रलाई सूर्य गुरुङ (हङ्गकङ्ग), गोपाल गुरुङ (युके) बसन्त गुरुङ
(सोमालिया), लिला गुरुङ र खुशी गुरुङले निर्माण गरेका हुन् । गणेश गुरुङ ‘सुवास’ को निर्देशनमा बनेको चलचित्र विभिन्न पुरस्कारबाट पुरस्कृत भैसकेको छ ।
कार्यक्रममा चलचित्र निर्माता तथा नायक गोपाल गुरुङलाई तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर (रि) खुशिमान गुरुङ एमभिओ र आमा समूहकी अध्यक्ष बिष्णु गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो । सो अवसरमा अध्यक्ष खुशिमानले सबै दर्शक तथा सहयोग धन्यवाद दिए । सो चलचित्र प्रदर्शनबाट एकहजार ४०० पाउण्ड बचत भएको आयोजकले जानकारी दिए ।
सो अवसरमा चलचित्र निर्देशक गणेश गुरुङ ‘सुवास’ ले हङ्गकङ्गबाट ‘तमु प्ये ल्हु संघ यूके’ ले युकेमा तमुहरुको मौलिकता बोकेको कोइबो धिं र सम्पूर्ण नेपालीहरुको सुबिधा प्रदान गर्नको निम्ति निर्माण गरिने सामुदायिक भवन निर्माण सहयोगार्थ स्वरुप ‘खै ओ म्हिथेबा’ प्रदर्शन भएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले ‘उक्त पवित्र कार्यमा हामीले पनि चलचित्र प्रदर्शन शत प्रतिशत दिएर सहयोग गर्न पाउँदा अत्यन्त खुशी छौ’ भन्दै सो चलचित्र हेर्न उपस्थित सम्पूर्ण युकेवासी दर्शक महानुभाबहरुप्रति ‘खै ओ म्हिथेबा’ युनिटको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् । स्मरण रहोस्, यसभन्दा अघि सो चलचित्र तमु प्ये ल्हु संघ कतार शाखाले पनि यस्तै भवन निर्माण सहयोगार्थ प्रदर्शन गरेका थिए । तमु प्ये ल्हु संघ युकेका सचिव खेम गुरुङले संचालन गरेको चलचित्र प्रदर्शनमा सहारा युकेका अध्यक्ष कुमार गुरुङ, मर्दिखोला समाज युकेका अध्यक्ष धर्मराज गुरुङ, घम्पुस परिवार युकेका पूर्व अध्यक्ष लगायत कार्यसमिति, एभरेष्ट क्यास एण्ड क्यारीका डाईरेक्टर एबी गुरुङलगायत चलचित्रप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।






