एटा संवाददाता
लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसट सहर नजिकै रहेको ह्यामसायर काउन्टी अन्तर्गत पर्ने बेजिङ्गस्टोक सहरमा नेपालीहरुले ‘कर्म गोर्खा किचन’ नामक नेपाली रेष्टुरेण्ट शुरुवात गरेका छन् । सो क्षेत्रमा नेपालीहरुको बसोबास बढ्दै आउने क्रममा उद्योग तथा व्यवसायमा नेपालीहरुको पनि चाहना बढ्दै आएको हो ।
बेजिङ्गस्टोकवासी मेजर (रि) खुशिमान गुरुङ तथा इन्द्र गुरुङ र कुमार गुरुङ तथा मुना गुरुङले विभिन्न स्वादका नेपाली खानाका परिकारहरु मुख्य भोजनको रुपमा राखेर सो रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । मिटिङ्ग गर्नका लागि छुट्टै कोठा समेत रहेको रेष्टुरेण्टमा ४०÷५० जनाको सीट क्षमता रहेको संचालन कुमार गुरुङ बताउँछन् ।
सो क्षेत्रमा बेजिङ्गस्टोक नेपाली कम्युनिटी, बेजिङ्गस्टोक गुरुङ समाज र इभरग्रिन गु्रुप नामक संस्थाले विभिन्न च्यारिटीमूलक कार्यक्रमहरु आयोजना गर्दैआएका छन् । त्यस्तै, एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी र उपाध्यक्ष पुनम गुरुङ समेत बेजिङ्गस्टोकवासी हुन् । करिब ५०० भन्दा बढी परिवार बसोबास रहेको बेजिङ्गस्टोक सहरमा नेपालीहरुले संचालन गरेको बिएनसी गोर्खा ग्रोशरी र ड्रागन रेष्टुरेण्ट (पहिलाको एएम) समेत रहेको छ ।






