भावना परिष्कृत सुनुवार
लण्डन । नेपाल आदिबासी जनजाति महासंघ बेलायतको वार्षिक साधारण सभा (संघीय परिषद्) बैठक शनिबार १६ मार्च लन्डन स्थित गोल्डेन शिप रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
अध्यक्ष जंग सुनुवारको अध्यक्षता तथा महासचिव खुशी लिम्बुले संचालन गरेको उक्त साधारण सभामा नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिबासी पत्रकार महासंघ बेलायत, किरात राई यायोख्खा बेलायत ,किरात सुनुवार सेवा समाज बेलायत, किरात याक्थुम चुम्लुङ्ग बेलायत, मगर संघ युके, किरात याख्खाछुम्मा युके, तमुधि युके, पुन समाज युके ,तामाङ्ग सोसायटी युके, शेर्पा शंघ युके, दुरा समाज युके लगायत महासंघमा आबद्ध अन्य जातीय संघ संस्थाका पदाधिकारीहरु, सल्लाहकारहरु, संघीय परिषद्का सदस्यहरु र पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।
महासचिव लिम्बुबाट संगठनिक प्रतिबेदन, कोषाध्यक्ष विसन गुरुङबाट आर्थिक प्रतिबेदन र महिला महासंघकी अध्यक्ष बिमला राईबाट प्रगति प्रतिबेदन पेश गरिएको थियो । जसलाई सभाले अनुमोदन गरेको थियो ।
बैठकमा संस्थाको भावी योजना बिषयमा चर्चा गरिनुको साथै २५औ बिश्व आदिबासी दिवस (रजत दिवस) २०१९ लाई १० अगष्ट शनिबारको दिन मनाउने बिषयमा बृहत छलफल गरेको थियो । बिभिन्न जातीय संघ संस्थाबाट संघीय परिषद बारे साथै महासंघको बर्तमान अवस्था बारे उपस्थित सम्पूर्णले पालै पालो आआफ्नो सुझाव र बिचार प्रस्तुत गरेका थिए । बैठकमा मनोनित सल्लाहकारहरुलाई स्वागत गर्दै महासंघबाट नियुक्ति पत्र प्रदान गरिएको थियो । यसैगरी जातीय संस्थाका नवनिर्वाचित अध्यक्षहरुलाई पनि महासंघले स्वागत गर्दै सम्मान गरेको थियो । टिकापुर काण्डमा दोषी ठहराई रेशम चौधरीलगायत अन्य ११ जनालाई जन्मकैद गरिएको बारेमा भत्र्सना गर्दै राजनीतिक मुद्दा भएकोले राजनीतिक तहबाट हेरिनु पर्ने बिज्ञप्ति जारी गर्यो ।






