पृष्ठभूमि
म अनिता रानामगर, नेपालको पश्चिमाञ्चल क्षेत्र गोरखाको पालुङटार, लिलिग भोर्लेमा जन्मी तनहूँको भानु नगरपालिका निवासी तत्कालीन गोरखा सैनिक कुमार रानामगरसँग दाम्पत्य जीवनमा बाँधिई हाल दुई छोरीसहित बेलायतको स्वीन्डनमा बस्दै आइरहेकी छु । मेरा श्रीमान् कुमार रानामगर गोरखा सैनिकमा कार्यरत हुनुहुँदा उहाँसँगै सन् १९९२ देखि ब्रुनाई र १९९६ देखि हङकङमा बस्न थालेँ । सानैदेखि जाति, संस्कृति र समाजसेवाप्रति मेरो गहिरो रुचि थियो । सोही रुचिका कारण म सन् २००२ मा मगर संघ हङकङको कार्यसमितिमा प्रवेश गरेँ ।
सन् २००४ मा सोही संघको सांस्कृतिक सचिवसहित मगर संघ हङकङ, महिला समितिको संस्थापक उपाध्यक्ष पदमा रहेर काम गरेँ । मेरो रुचिको क्षेत्र भएकाले सकेसम्म आफ्नो व्यक्तिगत काम र व्यस्तताबाट समय निकालेर निरन्तर रुपले सामाजिक काम गर्न थालेँ । सन् २००७ सालमा बेलायत आएपछि पारिवारसहित छोरीहरुको हेरविचारसँगै मगर संघ युकेसँग निकट रहेर सामाजिक कार्यलाई अगाडि बढाउन थालेँ । सोही समयदेखि मैले मगर संघ युकेका विभिन्न पदमा रहेर निरन्तर रुपले काम गर्ने र अनुभव बटुल्ने अवसर पाएँ । तिनै अवसरहरुले मेरो आत्मबललाई भरपूर तरिकाले प्रश्रय दिँदै आयो । काम गर्दै आउँदा यस्तो भइसकेकी छु, समाज र समुदायका कामहरु नगरेसम्म व्यक्तिगत कामहरु पनि गरेजस्ता लाग्दैनन् अर्थात् सन्तुष्टि मिल्दैन । लाग्छ, समाज र मगर समुदायभित्रका सामाजिक काम अनि क्रियाशीलताहरु मेरो जीवनका अभिन्न अङ्गजस्तै बनिसकेका छन् । यस कुरामा मेरा आदरणीय बाबाआमा, दाजुदिदी र प्यारा भाइबहिनीहरु थोरबहुत जानकार नै हुनुहुन्छ । म सोच्छु, एउटा बहादुर मगरकी छोरी बहादुर गोरखाकै श्रीमती म, मैले साहसीपूर्ण जिम्मेवारी वहन गरी मगरकै नाम उच्च राख्ने कार्यमा सदा प्रयत्नशील रहनुपर्छ । यही कारण यसपालि मैले मगर संघ युकेको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु ।
मेरो संलग्नता र अनुभव
१. सन् २००२ देखि २००४ सम्म मगर संघ हङकङको कार्यसमिति सदस्य र सन् २००४ देखि २००६ सम्म सांस्कृतिक सचिवको जिम्मेवारी वहन गरेको अनुभव ।
२. सोही समयमा मगर महिला संघ हङकङको संस्थापक उपाध्यक्ष भई कार्य गरेको अनुभव ।
३. सन् २००७ सालदेखि मगर संघ युकेमा आवद्ध भई गत ६ वर्षदेखि मगर संघ युकेको सांस्कृतिक सचिव र उपाध्यक्ष पदको अभिभारा वहन गरेर कुशलतापूर्वक जिम्मेवार निभाएको अनुभव ।
४. तनहुँ समाज युकेको सांस्कृतिक सचिव र उपाध्यक्षको अनुभव ।
५. मगर संघ युके, स्विन्डन शाखाको अध्यक्ष र सल्लाहकारको अनुभव ।
६. स्विन्डन नेपाली समाज युकेको सहसचिवको अनुभव ।
उम्मेदवारी दिनुका कारण
१. मगर संघ मूलतः मगरहरुको जातीय हकहितका लागि स्थापित विशुद्ध जातीय संस्था हो । यस संस्थाका मुख्य उद्देश्य मगरहरुको धर्म, संस्कार, भाषा, साहित्य, कला, संस्कृति र पहिचानलाई संरक्षण एवम् सम्बर्धन गर्दै मगरहरुका भावी सन्तानहरुलाई अन्य जातिसरह अगाडि बढाउने र सुशिक्षित एवम् सम्बृद्धशाली बनाउने भन्ने हो । यी विविध कारणहरुमध्ये विशेष गरेर नेपाल मंगर संघको मर्म र भावनासित समन्वय गर्दै समग्र मगरहरुको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने मगर संघ युकेको जुन विधान रहेको छ सोही विधानलाई मनन गरी शिरोधार्य गर्दै विगत ६ वर्षदेखि मगर संघ युकेको सांस्कृतिक सचिव तथा उपाध्यक्ष पदमा रही मेरो जिम्मेवार तथा अभिभारा कुशलतापूर्वक निर्वाह गरिसकेकी छु ।
२. मगर संघ युकेको वर्तमान कार्यसमितिमा महिला उपाध्यक्ष भएर मगर संघ युके, मगर महिला समितिसँगको सहकार्यमा मगर महिलाहरुको एकता, हक र अधिकारका लागि निरन्तर रुपले कार्य गर्दै आएकी छु ।
३. यस कार्य समितिमा मैले तीन वर्ष लगातार मगर समुदायको ऐतिहासिक र महत्वपूर्ण कार्यक्रम मगर दिवसलाई प्रमुख संयोजकको भूमिका निर्वाह गरी सफलताका साथ सम्पन्न गरेकी छु । यी कार्यक्रममा मगर युवाहरुलाई प्रोत्साहन गर्न ‘मगर गट ट्यालेन्ट’ र शाखाहरुलाई क्रियाशील बनाउन झाँकी प्रदर्शन गराउने कार्यमा मैले आफ्नो तर्फबाट खेलेको भूमिका हजुरहरु सबैलाई विदितै छ ।
४. यसभन्दा अघिको कार्यसमितिमा सांस्कृतिक सचिव हुँदा मैले मगरका पहिचान जोडिएका मगर नृत्य, गीत र कला प्रस्तुतिका लागि कलाकारहरुसँग संयोजनकारी भूमिका निर्वाह गरेकी थिएँ । मगर संघ युकेको एक महत्वपूर्ण कार्यक्रम नेपाली ओपन कन्सर्टलाई समस्त बेलायती नेपालीमाझ चिनाउने कार्यमा पनि मैले भरमग्दुर प्रयास गरेकी थिएँ ।
५. मगर समुदायका लागि मेरो मात्रै नभई मेरो परिवारका सम्पूर्ण सदस्यहरुको देन छ । मेरा श्रीमान् मगर संघ युके, स्विण्डन शाखाको अध्यक्ष हुनुहुन्छ । मेरी छोरीले मगर संघ युकेका कार्यक्रमहरुमा निस्वार्थ रुपले विभिन्न खालका नृत्य प्रदर्शन गर्दै र डकुमेन्ट्रीमा समेत अभिनय गर्दै मगर युवायुवतीहरुको ध्यान मगर संस्कृतिप्रति आकर्षित गराउने र लगाव बढाउने कार्यमा सक्दो भूमिका खेलिरहेकी छन् ।
६. मैले झण्डै दुई दशक समय मगर समुदायमा निस्वार्थ सेवा गरेँ र सोही सेवाको अनुभवले मलाई आज मगर संघ युकेको अध्यक्ष पदमा बसेर काम गर्न योग्य र सक्षम बनाएको छ भन्ने कुरा बाँड्न पाउँदा खुसीको अनुभूति हुन्छ । मेरो यही समर्पण र अनुभवी योग्यताकै कारण अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी दिएकी छु । अर्को कुरा, मगर समुदायभित्र आधा आकाश ढाकेका मगर महिलालाई पनि आफ्नो समुदायप्रति कर्तव्यबोध होओस्, सङ्गठनमा बसेर पुरुषसरह मात्र होइन, अझै ठूलो सङ्ख्यामा योगदान दिन प्रोत्साहन मिल्छ भन्ने दृढ विचारले पनि मैले यस पदका लागि उम्मेदवारी दिएकी हुँ ।
७. नेपालमा होस् या विदेशमा, मगर महिलाहरु नेतृत्वमा विरलै पुगेका छन् । यसर्थ सबै महिला दिदीबहिनीका साथमा प्रत्येक पुरुष दाजुभाइहरुले मलाई अत्यधिक बहुमत दिई अध्यक्ष पदमा बिजयी गराई मलाई नेतृत्वदायी भूमिका निर्भाह गर्ने अवसर प्रदान गर्नुहुनेछ । यसले युकेजस्तो संसारभरि महत्व राख्ने मगर संघको अध्यक्षमा म जस्तो महिलाको जितले इतिहास रचेको सावित हुने छ । यस्तो सुनौलो इतिहास रच्ने कार्यमा युकेबासी सबै मगरहरुले खुला र फराकिलो मन बनाउनु भएर हार्दिकताका साथ सहयोग गर्नुहुने छ भन्नेमा म अन्तर्हृदयदेखि विश्वस्त छु ।
मगर संघ युकेको अध्यक्षमा चयन भएँ भने मैले गर्ने कार्यहरु
१. मगर संघ युकेले सञ्चालन गर्ने नियमित बैठक र वार्षिक साधारण सभा नियमित रुपले सञ्चालन गर्ने छु ।
२. वार्षिक कार्यक्रम (Nepali Open Concert /Magar Diwash/Charity Dinner) हरु नियमित र भैपरी आउने कार्यक्रमहरु कुशलतापूर्वक सञ्चालन गर्नेछु ।
३. मगर संघ युकेका पूर्व अध्यक्षहरु तथा कार्यसमितिहरुका असल कार्यशैलीहरुलाई अनुसरण गर्दै र उहाँहरुले सम्पन्न गर्नुभएका कार्यक्रमहरुलाई शिरोपर र शिरोधार्य गर्दै बाँकी रहेका कामकाजहरुलाई सुचारु रुपले सञ्चालन गरी यथासक्य चाँडो सम्पन्न गर्ने बाचाकबोल गर्न चाहन्छु ।
४. देशविदेशमा छरिएका आम मगरहरुको भाषा, धर्म, परम्परा, संस्कार, संस्कृति, भेषभूषा आदि सम्पत्तिको संरक्षण र प्रबर्धन गर्ने छु । लोप हुन लागेका कतिपय महत्वपूर्ण सम्पत्तिहरुको जगेर्ना गर्दै भावी पुस्ताहरुलाई हस्तान्तरण गर्ने कार्यमा सक्दो क्रियाशील हुर्ने बचनबद्धता जाहेर गर्दछु ।
५. नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका या पु-याउने क्षमता बोकेका मगर व्यक्तित्व एवम् प्रतिभाहरुलाई दिनुपर्ने र गर्नुपर्ने सहयोगमा म दत्तचित्त भएर लाग्ने छु । मगरहरुको शैक्षिक विकासका लागि आवश्यक कार्यमा मनग्य रुपले लाग्ने छु र आर्थिक कोषका लागि विशेष खालका योजनाहरु बनाई प्रभावकारी तरिकाले कार्यान्वयनतिर लाग्नेछु ।
६. मगर संघ युकेले नेपालमा रहेका गरिब मगरहरुका जेहेन्दार छोराछोरीहरुलाई सहयोग गरी नीतिनियम बनाउने तहसम्म पु-याउनका लागि मास्टर/PHD अक्षयकोष खडा गर्ने जुन लक्ष्य लिएको छ यो एउटा सह्रानीय कार्यको थालनी हो । यस अक्षय कोषलाई के कसरी पूरा गर्न सकिन्छ भन्ने कुरामा मेरो ध्यान जाने छ र यस लक्ष्यलाई फलदायी बनाउन मेरो बल विवेकले भ्याएसम्मका काम गर्ने छु ।
७. नेपाल मगर संघका उद्देश्य र आदेशहरुलाई पालना गर्दै संघको विधानमा रहेका नीतिनियमहरुलाई पूर्णतः आत्मसाथ गर्ने छु । नेपालबाट प्रेषित खबर र सन्देशहरुलाई आवश्यकताअनुसार सबै भातृ शाखा र संगठनहरुसम्म यथाशक्य चाँडो पुराउने छु ।
८. साहित्य, कला, संस्कृति, शिक्षा, विज्ञानप्रविधि, समाजसेवा, खेलकुद, पत्रकारितालगायतका विभिन्न क्षेत्रमा योगदान पु-याइसकेका मगर गहना या व्यक्तित्वहरुलाई सम्मान र प्रतिभाशाली एवम् उदीयमान मगर प्रतिभाहरुका हौसला, प्रबर्धन र पुरस्कारका लागि विशेष रुपले जोड दिनेछु । यसका लागि सांस्कृतिक विभागको साथै बौद्धिक विभाग पनि गठन गर्ने छु । जसले मगर व्यक्तित्व र प्रतिभाहरुका लागि सशक्त रुपले कार्य गर्नेछ ।
९. ‘मगरहरुको गौरव, मगरहरुको मन, मगर भवन !’ यही नारा दिएर हामी आफ्नो मगर भवन किन्न सफल भयौँ । यति मात्र हाम्रो प्राप्ति होइन रहेछ । यस भवनबाट के कसरी निरन्तर रुपमा फाइदा लिन सकिन्छ भन्नेतर्फ पनि हामी सबैको सोच पलाएको छ । विगतका अनुभवहरुलाई मध्येनजर गर्दै भविष्यमा यस भवनबाट केकसरी नियमित र बढी आम्दानी लिन सकिन्छ भन्ने विषयमा मेरो ध्यान जाने छ । म भवनको भौतिक संरचना र संरक्षणसहित आर्थिक निगरानीमा विशेष रुपले लाग्ने छु ।
१०. युकेमा बसोबास गर्दै आएका हामी मगर जातिका सन्ततिहरुलाई संस्कार, संस्कृति र भाषाका लागि विशेष रुपले छुट्टै कार्ययोजना बनाई ती क्षेत्रमा विशेष रुपले दक्षता हासिल गरेका व्यक्तित्वहरुको साथ र मार्गदर्शनबाट परिणाममुखी कार्य गर्ने योजना बनाई कार्यान्वयन गर्ने छु ।
११. मगर महिला र युवायुवतीहरुको आत्मविश्वास बढाई नेतृत्वदायी सीपको विकास गराउने खालका प्रभावकारी कार्यशाला र गोष्ठीहरुको आयोजना गर्ने छु ।
१२. मगरहरुको हकहित र अधिकार सुनिश्चित गर्नका लागि निकायको माध्यमबाट संयमित तरिकाले दबावमुलक कार्यक्रमहरु सिर्जना गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।
१३. मगर संघ युकेका हरेक आर्थिक कारोबार चुस्तदुरुस्त राख्ने छु । हरेक वर्षको समयभित्रै लेखा परीक्षण गराई वार्षिक कार्यक्रममा पेश गर्ने छु । यसका लागि संघमा आर्थिक विभाग नै गठन गर्ने छु । जुन विभागले संघको आर्थिक सबलतामा महत्वपूर्ण भूमिका खेल्नेछ ।
१४. मगर संघ युकेको विधानलाई आत्मसाथ गर्दै जस्तो परिस्थितिमा पनि स्वत्रन्त्र व्यक्तिको रुपमा रही सिङ्गो मगर जातिको हकहित र लाभका लागि तनमन र बचनले दिलोज्यान दिएर काम गर्ने छु । यस संघलाई विशुद्ध सामाजिक संस्थाको रुपमा चिनाउँदै अग्र गतिमा अगाडि बढाउने छु । संस्थालाई कसैको व्यक्तिगत या कुनै राजनीतिक प्रभाव र दबावबाट सधैँ टाढा राख्ने छु । मबाट कुनै आशयले आफ्नो व्यक्तिगत फाइदाका लागि गलत कामहरु हुने छैनन् । जानअञ्जानमा म बाट कुनै हानिनोक्सानी हुने खालको अप्रिय क्रियाकलाप हुन गएछ भने नैतिकताका आधारमा पदबाट तुरुन्तै राजिनामा दिने छु र सहजीकरणका लागि मार्ग प्रशस्त गर्ने बाचा पनि गर्दछु ।
तसर्थ वर्तमान उपाध्यक्षको हैसियतबाट यही आउँदो ६ अप्रिल २०१९ मा हुन गइरहेको मगर संघ युकेको छैठौँ कार्यसमितिअन्तर्गत आगामी कार्यकालको अध्यक्ष पदको दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी दिएकी छु ।
मेरो प्रतिबद्धता
यी माथि उल्लेखित बुँदाहरु पूरा गर्ने लक्ष्यमा मेरो हरतरहले प्रयास रहने छ ।
हार्दिक अपिल
मगर संघ युकेको जिम्मेवारी दिऊँ, अनुभव लिऊँ ! भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सम्पूर्ण मतदाता दाजुभाइ दिदीबहिनीहरुले मलाई साथ दिई मन, बचन र कर्मले काम गर्ने अवसर प्रदान गर्नुहुने छ भन्ने आशा र भरोसा लिएकी छु । म एक मगर महिलालाई मगर संघ युकेजस्तो संस्थाको मूलधारमा ल्याएर काम गर्ने र आम मगर पुरुषहरुका साथसाथै मगर महिलाहरुलाई पनि अगाडि बढ्न प्रेरणा दिने अवसर दिलाउनुहुने छ भन्ने उच्च अभिलाषा लिएकी छु ।
जय मगर ! जय मगर संघ युके !!






