बेलायतको वेल्समा एक युवतीलाई १९ वर्षको उमेरमा उनले गरेको कामको सम्मानस्वरुप राष्ट्रिय पुरस्कारको लागि मनोनीत गरिएको छ । तर, उनको यहाँसम्मको यात्रा सहज थिएन । १२ वर्षको उमेरमै उनी दिनहुँ रक्सी पिउने, कोकिन र गाँजाको नशा लिने कुलतमा फसिसकेकी थिइन् । यतिमात्र होइन १३ वर्षको उमेरमै उनी गर्भवती भइन् र गर्भपतन गराउनु प¥यो । अहिले १९ वर्षको उमेरमा भने उनै युवतीलाई उनको कामको लागि राष्ट्रिय पुरस्कार दिइँदैछ ।
वेल्सको कार्डिफकी लरी हकिन्स २ वर्षको उमेरमै रक्सी र लागूपदार्थको कुलतमा फसेकी थिइन् । त्यतिबेला उनलाई बिहान उठ्नेबित्तिकै कोकिनको एक डोज चाहिन्थ्यो । त्यसपछि दिउँसो नुहाएपछि उनी थप २ डोज लिन्थिन् । यसका अलावा उनलाई भोड्का र गाँजा पनि दिनहुँ चाहिन्थ्यो । यी ड्रग्सको पैसा उनका साथीका अभिभावकले तिर्थे जसलाई यसबारे थाहा थिएन । हालत यस्तोसम्म भयो कि उनी दुब्लाएर ३१ किलोमा झरिन् । उनको शारीरिक विकाससमेत रोकियो । पसलबाट रक्सी किन्ने चक्करमा उनको भेट दोब्बर उमेरका रोबर्ट डेविससँग भयो । रोबर्टले लरीलाई रक्सी किन्न सहयोग गर्थे किनकि त्यहाँ १८ वर्षभन्दा कम उमेरका व्यक्तिले रक्सी किन्न पाउँदैनन् । रक्सी किनिदिएको बदलामा रोबर्टले उनको फोन नम्बर मागे । लरीलाई यसमा कुनै समस्या भएजस्तो लागेन र उनले नम्बर दिइन् । उनी पत्तै नपाइ अर्को दलदलमा फस्दै थिइन् । त्यसपछि रोबर्टले उनलाई जालमा फसाउन सुरु गरे । उनले नशाको फाइदा उठाउँदै लरीलाई शारीरिक सम्बन्धको लागि दबाब दिन थाले । जसको नतिजा उनी १३ वर्षको उमेरमै गर्भवती भइन् ।
परिवार र साथीहरुले उनलाई सम्झाउन धेरै प्रयास गरे तर उनी रोबर्टलाई गलत मान्न तयार थिइनन् । उनलाई रोबर्टले आफ्नो शोषण गरिरहेको महसुस नै भएको थिएन । यो कुराको पत्तो उनले त्यतिबेला पाइन्, जब पुलिस टिमका कारण उनी घरबाट भाग्नु प¥यो र रोबर्टले उनलाई पक्राउ परेमा आफ्नो नाम नभन्नू भने । परिवार र आफन्तले उनको पेटको बच्चाको पिता को हो भन्ने जान्न निकै प्रयास गरे तर उनी रोबर्टको नाम बताउन तयार थिइनन् ।
अन्ततः गर्भपतनको एक महिनापछि मात्र उनले रोबर्टको नाम बताइन् । लागूपदार्थ नियन्त्रणका लागि लरीको विषयमा अनुसन्धान गर्न खटाइएका पुलिस अफिसरलाई यो शंका पहिलेदेखि नै थियो । उनले रोबर्टलाई पक्राउ गरे । जून २०१५ मा रोबर्टलाई १० वर्षको जेल सजाय सुनाइयो । अर्कोतर्फ लरीले ड्रग्सको दलदलबाट बाहिर निस्किँदा जीवनको सबैभन्दा कठिन युद्ध जितिन् । लरी अहिले १९ वर्षकी छिन् । विगत ६ वर्षदेखि उनले ड्रग्सलाई हात पनि लगाएकी छैनन् ।
अहिले लरी किशोरीहरुलाई ड्रग्सको दलदलबाट निकाल्न पुलिसको मद्दत गर्छिन् । उनी पुलिस अफिसरहरुलाई कुलतमा फसेका किशोरीहरुसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा मार्गदर्शन गर्छिन् । लरीको यो कामको देशभर प्रशंसा भइरहेको छ । अहिले यही कामको लागि उनलाई ‘सेण्ड डेविस अवार्ड’को लागि मनोनीत गरिएको छ ।






