शनिबार साँझ चलेको हावाहुरीबाट तराईको बारा र पर्सामा ठूलो जनधनको क्षति भएको छ । तीन दर्जनभन्दा बढीको हताहती भएको छ । पाँच सयभन्दा बढी घाइते भएका छन् । घाइतेको उपचार गर्नका लागि अहिले समस्या परिरहेको छ । यो समस्याका बीचमा स्वास्थ्यकर्मीहरु अहोरात्र उपचारमा तल्लीन छन् । सुरक्षाकर्मी तथा स्थानीय सर्वसाधारणसम्म उद्दारमा खटिएका छन् ।
जोडतोडले आएको हुरीबतासले बारामा बढी क्षति पुगेको छ । बाराका ग्रामीण क्षेत्रमा बढी क्षति पुगेको छ । बस्ती नै सखाप हुने गरी घरहरु उडाएको छ । रुखहरु ढलेर किचेको छ । कतिपय मृतकको सनाखत समेत हुन सकेको छैन । मधेसमा ससाना घरहरु बनाएर बसेका स्थानीय बासिन्दालाई चैतको खडेरी पनि अफापसिद्ध बनेको छ ।
कमजोर घर निर्माण भएका कारण पनि बढी क्षति पुगेको अनुमान गरिएको छ । हाइवेमा गुडेका बस तथा यातायातका साधनसमेत हावाहुरीका कारण पल्टिएका छन् । उद्दारमा कठिनाइसमेत भएको थियो । हाइवेहरु नै अवरुद्ध हुँदा घटनास्थलसम्म सुरक्षाकर्मी सहज रुपमा पुग्न सकेका थिएनन् ।
अहिले बारा र पर्सामा रगतको अभाव देखिएको छ । घाइतेहरुलाई अधिकतम रकम चाहिएको र रक्तसञ्चार केन्द्रहरुमा रगत नभएपछि तत्काल सुरक्षाकर्मीहरुबाट रगत दिन सुरु भएको छ । त्यसैगरी विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले पनि रक्तसंकलनका लागि सार्वजनिक आव्हान नै गरेका छन् । मधेसमा अहिले संकट आएको छ । समस्या परेको छ । मृतक परिवारलाई प्रदेश सरकारले ३ लाख दिने निर्णय गरिसकेको छ । घाइतेहरुको उपचार पनि सरकारले गर्ने बताइसकेको छ । तर, कतिपयको घर उडेको छ । सपना चुरचुर बनेको छ । छाना, नाना र माना छैन उनीहरुसँग । उनीहरुलाई यतिबेला साथ सहयोग गर्न जरुरी छ ।
तराईमा हुरी चल्दा पहाडले छेक्नुपर्छ… भन्ने गीत जस्तै तराईको भूभागमा हुरीबतास आउँदा पहाडले छेक्न त सकेनन् नै । अब आइपरेको समस्यामा भने साथ दिएर मानवीयताको नमुना देखाउन सक्नुपर्छ । गरिब परिवार नै हो यो प्राकृतिक प्रकोपमा पर्ने पनि । त्यसैले सबै नेपालीले यस्तो बेलामा सहयोग गरेर साथ दिन जरुरी छ ।






