पोखरेली मञ्च यूकेद्वारा मेयर जिसीको स्वागत

SHARE:

एटा संवाददाता
लन्डन । पोखरा मञ्च यूकेले बेलायत भ्रमणमा रहेका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लगायतको टोलीलाई एक कार्यक्रमबीच स्वागत गरेको छ । उनीहरुलाई गत आइतबार ३१ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा खादा लगाई स्वागत गरिएको हो । भ्रमण टोलीमा मेयर जिसीसहित पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, इन्जिनियर सोभियत खड्का र पोखरा पब्लिक स्कुलका कृष्ण केसी छन् ।

कार्यक्रममा मेयर जिसीले फेवाताल संरक्षण, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सडक सञ्जालको बारेमा जानकारी गराउँदै शुद्ध खानेपानीका लागि जाईकासँग सहकार्य गरेर अगाडि बढ्न लागिएको, ३३ वटै वडामा खेल मैदान पु¥याउन लागिएको, जनतालाई स्वस्थ र तन्दुरुन्त राख्न खुल्ला व्यायामशालाको अवधारणा ल्याइएको र नगर विकासका लागि निजी साझेदारी कार्यक्रमअन्तर्गत ५ वटा परियोजना सुरु गर्न लागिएको बताए ।

बेलायतवासी पोखरेलीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मेयर जिसीसँग उपस्थित पोखरेलीहरुले रंगशाला निर्माण, सभागृह मर्मत, रिङ्गरोड, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सुरक्षा, घरबाहल कर, सक्षम कर्मचारी, प्रविधि, पर्यटन विकास र प्रकृति तथा वातावरण संरक्षणलगायतका विषयमा चासो राख्दै विभिन्न सुझावहरु दिएका थिए । सो अवसरमा मेयर जिसीले पोखराको विकासमा चिन्तन गरेकोमा सबैलाई धन्यवाद दिँदै पोखरा देशका ६ वटा महानगरपालिकाभित्र क्षेत्रफलको हिसाबले पहिलो र जनसंख्या हिसाबले दोस्रो ठूलो सहर रहेको बताए ।

पोखरालाई १५ अर्ब रुपैयाँ वार्षिक बजेट आवश्यक रहेको तर अहिले जम्मा ३ अर्बमात्र बजेट रहेको उनको भनाइ थियो । त्यस्तै, उनले आफूहरुले छिट्टै महानगरपालिकालाई डिजिटिलाईज गर्न लागिएको, सार्वजानिक यातायातमा ई टिकटको अवधारणा ल्याइएको र ३३ वटै वडामा सडक सञ्जाल पुर्‍याउन थालिएको समेत जानकारी गराउँदै केही वर्षमा पोखरा स्मार्ट सिटी बन्न सक्ने विश्वास व्यक्त गरे ।

पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरेली मञ्च यूकेले हालै पोखरामा सम्पन्न पोखरा म्याराथनमा सहभागी भएको स्मरण गर्दै विदेशमा रहेका पोखरेलीहरुले आफूसँग भएको ज्ञान, सीप र अनुभव पोखरालाई दिनुपर्नेमा जोड दिए । उनले प्रत्येक वर्ष पोखरामा आयोजना हुने पोखरा म्याराथनमा पनि भेला हुने र त्यही बेला नगर विकासको बारेमा चिन्तन गरियो भने पोखराको बिकासमा एउटा इँट्टा थप्न सक्ने विश्वास व्यक्त गरे ।

मञ्चका सल्लाहकार रमेश बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा पोखरेली मञ्च यूकेका संस्थापक अध्यक्ष क्याप्टेन चन्द्रबहादुर पुनलगायत पदाधिकारी तथा सदस्यहरु, पोखरेली मञ्च युकेका सल्लाहकार तथा ब्रेकन वेल्स र माछापूच्छ्रे गाउँपालिकाका गुडविल एम्बासेडर एवं तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर (रि.) खुशीमान गुरुङ एमभिओ एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्षहरु सुवासिं गुरुङ, कमल गुरुङ, सुर्जे (रामचन्द्र) गुरुङ, ज्ञाम गुरुङ, तमु फोरम यूकेका डाईरेक्टर क्याप्टेन राजु गुरुङ, मेजर रोज गुरुङ, समाजसेवी राजनकुमार क्षेत्री, गीत तथा चलचित्रकर्मी पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङ, रामबजार सोसाईटी यूकेका अध्यक्ष जुमकाजी गुरुङ र शिव कल्चर एण्ड कम्युनिटी सेन्टरका महासचिव बिक्रम भट्टराई लगायतको समेत विशेष उपस्थिति रहेको थियो ।

पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले समेत आफ्ना भनाइ राखेका थिए । मेयर जिसी नेतृत्वको टोली गतहप्ता पोखरावासी ब्रिटिस गोर्खाका मेजर रोज गुरुङको निम्तोमा बेलायतका आएको हो । उनीहरुले बेलायतका विभिन्न महत्वपूर्ण सहरहरुको भ्रमण र विभिन्न संघसंस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत भाग लिइरहेका छन् । उनीहरु ३ अप्रिल बुधबार स्वदेश फर्कंदै छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!