एटा संवाददाता
लन्डन । चारभञ्ज्याङ्ग तमु समाज यूकेले पर्वत जिल्लाको चारभञ्ज्याङ्गको खाल्टेस्थित टेलिमेडिसिन सेन्टर सहयोगार्थ च्यारिटी डिनर आयोजना गरेको छ ।
विशेषगरी शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ गत ३० मार्च साँझ अल्डरसटस्थित एम्पायर हलमा विविध सांस्कृतिक कार्यक्रमका साथ च्यारिटी डिनर आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य पूर्णकुमारी सुवेदीले चारभञ्ज्याङ्ग तमु समाज यूकेले आफ्नो गाउँको लागि गरेको महत्वपूर्ण कामको प्रशंसा गरिन् ।

कार्यक्रममा अध्यक्ष मेजर (रि) कृष्णबहादुर गुरुङले सन् २०१३ मा स्थापना भएको टेलिमेडिसिनबाट त्यस क्षेत्रका स्थानीय जनता लाभान्वित भइरहेको बताउँदै सबैको उपस्थिति र सहयोगका लागि धन्यवाद दिए । त्यस्तै, चारभञ्ज्याङ्ग समाज नेपालका सल्लाहकारसमेत रहेका डा. योगेन्द्रराज रिजाल, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ र समाजका संरक्षक नारायण कोन्मे तमुले शुभकामना मन्तव्य राखेका थिए । नेपाली दूतावास लन्डनका द्वितीय सचिव लव सुवेदीको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा विभिन्न तह र विषयमा गे्रज्युसन गरेका ५ जना समाजका भाइबहिनीहरुलाई हौसलास्वरुप खादा लगाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यस्तै, जिसीएसई परीक्षामा उत्कृष्ट अंक ल्याएका समाजका दुईजना भाइबहिनीहरुलाई एकेडेमिक अवार्डबाट सम्मान गरिएको थियो । उनीहरु दुवै जनालाई जनही १५० पाउन्ड नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।
विविध सांस्कृतिक प्रस्तुतिसमेत गरिएको कार्यक्रममा अतिथि कलाकारको रुपमा क्युओजिएलआरले खुकुरी डान्स, स्थानीय ब्रिटिस नागरिक लुसी तथा डोन र लिना गुरुङको समूहले आकर्षक नृत्य प्रस्तुत् गरिन् । त्यस्तै, इभोलुजन ग्रुप बेजिङ्गस्टोक र समाजका भाइबहिनीहरुले समेत नृत्य प्रस्तुत् गरेका थिए । कार्यक्रममा राफल ड्र समेत खेलाइएको थियो । राफल ड्र का पहिलो विजेतालाई सुनको आंैठी, दोस्रोलाई सुनको चन्द्रमा र तेस्रोलाई नारी घडी उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजमा सल्लाहकार क्याप्टेन कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ह.ले.चन्द्रबहादुर गुरुङ र तमुधिं यूकेका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार ज्ञाम गुरुङलाई चार भञ्ज्याङ्ग सम्मान अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजङ्ग गुरुङ तथा आमा समूहकी अध्यक्ष जगतमाया गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
पर्वतको लामे, भंगरा, दाद्र र थानामौला गाउँ चारभञ्जाङ्गभित्र पर्दछ । सोही चार भञ्जाङ्ग क्षेत्रबाट बेलायत आइबसेका गुरुङहरुले चारभञ्ज्याङ्ग तमु समाज यूकेको गठन गरेका हुन् । बेलायतको च्यारिटी कमिशनमा दर्ता रहेको समाजले विभिन्न च्यारिटीमूलक कार्यहरु गर्दै आएका छन् । साथै, समाजले स्थापना गरेको टेलिमेडिसिन सेन्टरमा देशविदेशका विज्ञ चिकित्सकहरुले टेली सम्पर्कमार्फत स्वास्थ्य परीक्षण गर्दै आएका छन् । शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ आयोजित च्यारिटी डिनर कार्यक्रमका लागि अपेक्षा गरिएअनुसार आर्थिक सहयोग संकलन भइरहेको अध्यक्ष मेजर (रि) गुरुङले जानकारी दिए । उनका अनुसार सो परियोजनाका लागि उपस्थित नभए तापनि धेरैजना व्यक्ति र संघसंस्थाहरुले अनलाइनमार्फत आर्थिक सहयोग गरिरहेका छन् ।
चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मेजर (रि) कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष मदन गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव दुर्गा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






