अल्डरसट । तमु प्ये ल्हु संघ यूकेको चौधौं साधारणसभा तथा पाँचौं बृहत भेला सम्पन्न भएको छ । गत शनिबार मार्च ३० का दिन अल्डरसटस्थित अम्पायर हलमा भएको कार्यक्रम अध्यक्ष मे.(रि) खुसीमान ल्हेगे तमु (एमभीओ)ले सभापतित्व गरेका थिए ।

महासचिव खेम सर्बुजा तमुले सञ्चालन गरेको सभामा कार्यसमितिका सदस्यहरु, आमा समूहका सदस्यहरु, युवा सहसमितिका सदस्यहरु, विशिष्ट सल्लाहकारलगायत साधारण सदस्यहरुको उपस्थिति थियो ।
संघका अध्यक्ष मे.(रि) खुसीमान तमुले कोइबो धींमा दीप प्रज्वलन, तमु आरती र गत वर्ष स्वर्गारोहण भएका मृतकप्रति एक मिनेट मौनधारणसहित कार्यक्रमको सुरुआत गरेका थिए ।

खेगी उपसमितिका संयोगक डम्बर टु क्ल्हेप्रीले तमु खेगीहरुको प्रगतिबारे जानकारी दिएका थिए । सो अवसरमा संघलाई पाँच हजार दुई पाउन्ड ७० पेन्स सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । साथै महिला उपसमिति (आमा समूह) संयोजक श्रीमती विष्णु टु क्ल्हेप्रीले आमा समूहले गर्दै आएको कार्यक्रममा संघका पुरुषहरुले पु¥याएको योगदानको प्रशंसा गरेका थिए । खेगी गुरु पच्यु यारजङ क्रोम्छे तमुले चौभाषीय शब्दकोष लेखनकार्यमा केही ढिलाईले अप्ठेरो भएतापनि लेखन लेखनकार्य जारी रहेको जानकारी दिए ।
सो अवसरमा संघका वार्षिक गतिविधिहरुबारे संघका पदाधिकारीले जानकारी गराएका थिए । सो अवसरमा बेलायतमा धार्मिक कोइबो धीं तथा सामाजिक भवन निर्माणबारे क्या.(रि) नरबहादुर पर्जु तमु एमभीओ, बीइएमले सभालाई जानकारी दिए ।
त्यसैगरी, तमु प्हेता ल्हुता तथा खेगी संरक्षक क्या.(रि) देवराज गोप्छे तमुले भावी सन्ततीले वर्तमान पच्यु क्ल्हेप्री गुरुहरुका बहुमूल्य बेदप्रति चासो राख्नुपर्ने बताए । उनले तमु जातिलाई विविध परम्परा, संस्कार कार्यक्रममा चाहिने साझा प्हे छ्या बारेमा तयार पारिएको ६७ पेजको दस्तावेज संघका अध्यक्ष मे.(रि) खुसीमान तमुलाई हस्तान्तरण गरे ।
त्यसैगरी, युवा परिचालन संयोजक क्या.(रि) फत्त प्ल्हेँ तमुले कार्यक्रमहरुमा अभिभावकहरुले आफ्ना नानीहरुलाई प्रोत्साहन गराइदिन आग्रह गरे । संघका अध्यक्ष मे.(रि) खुसीमान ल्हेगे तमु एमभीओको विशेष पहलमा हालै माछापुच्छ«े गाउँपालिका–७ धम्पुस नेपाल र बेलायतको वेल्सस्थित ब्रेकोन सहरबीच मैत्रीपूर्ण सम्वन्ध कायम गरेको थियो । त्यसका लागि गाउँपालिकाले अध्यक्ष तमुलाई सद्भावना दूत मनोनित गरेको थियो । कार्यकाल सफलताको कामना गर्दै अध्यक्ष तमू र उनकी श्रीमती मञ्जु टु क्ल्हेप्रीलाई प्रशंसापत्र, क्रेगी र कर्मुले सम्मान गरिएको थियो । साथै, नेपालबाट आएका क्या.(रि) पदमबहादुर पच्यु तमुु र श्रीमती हरिमाया पर्जु तमुले कोइबो निर्माणका लागि आर्थिक सहयोग गरेकोमा उच्च कदर गर्दै प्रशंसापत्र, क्रेगी र कर्मुले सम्मान गरिएको थियो ।
त्यसैगरी, तमु प्ये ल्हु संघका आजीवन सदस्य तथा एभरेस्ट टाइम्सका वरिष्ठ फोटो पत्रकार मिलन ल्हेगे तमुलाई तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले आदिकवि हर्कबहादुर तमु स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकोमा प्रशंसापत्र र क्रेगीले सम्मान गरिएको थियो ।
सभामा कोषाध्यक्ष दिलिप तेलेजे तमुले वार्षिक आर्थिक विवरण र कारोबारबारे विस्तुत प्रतिवेदन प्रस्तुत गरेका थिए ।






