नेपालमा बेला–बेला प्राकृतिक विपत्ति आइलागिरहन्छ । कहिले भूकम्प त, कहिले बाढी पहिरो । हुँदाहुँदा यस वर्ष त आँधीहुरीले पनि नेपालमा निकै ठूलो ताण्डव देखायो । ३० जनाभन्दा बढीको मृत्यु नै भयो । ५०० भन्दा बढी घाइते भए । यो स्थितिमा आइपुग्दा आँधीहुरीले ज्यान लिनेको संख्या बढिरहेको छ दिनानुदिन ।
चर्को गर्मी हुने चैतको दिनमा पनि ज्याकेट लगाउनुपर्ने स्थिति छ । छिनमै पानी पर्ने त छिनमै चरक्क घामले पोल्ने स्थिति छ । यो स्थितिले गर्दा अहिले कुन समयमा के हुन्छ र कुन आपत्ति आइलग्छ भन्नेबारे पूर्वानुमानसमेत गर्न सकिरहेका छैनन् । यो स्थितिले जनजीवन भयभीत त बनेकै छन् । दिनानुदिन स्वास्थ्य स्थिति पनि यसै हो भनेर भन्न नसकिने अवस्थामा पुगेको छ ।
मौसम बदली भइरहँदा स्वास्थ्य जोखिम उत्तिकै बढिरहेको छ । उत्तिकै असहज परिस्थिति बनिरहेको छ । बेजोडको हावाहुरीका कारण विभिन्न किसिमका विषाक्त धूलोमैलो वायुमण्डलमा छ । यसले स्वासप्रस्वाससम्बन्धी रोगव्याधीहरु बढाएको छ । जसका कारण रोगीको संख्या पनि बढेको छ । हावाहुरी चलिरहँदा चट्याङको भय पनि उत्तिकै छ । दिनहुँजसो चट्याङ लागेर मृत्यु भएका खबर पनि नआएका होइनन् । त्यसैले यस किसिमका समस्याबाट जोगिनका लागि केही सावधानी भने पक्कै अपनाउनै पर्छ ।
हुन त, बारा र पर्सामा आएको आँधीहुरीबाट पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । यो स्थितिमा सरकारलाई पनि आँधीहुरीबाट बच्नका लागि सचेतना जगाउने कुनै फुर्सद छैन । जनजीवनमा आइपरेका समस्याबारे जनतालाई सचेत गराउने, सुरक्षित रहने स्थिति बनाउनका लागि सरकारले यथोचित कदम चाल्नुपर्ने थियो । सार्वजनिक सञ्चारमाध्यमको प्रयोग गरेर सचेतना अभियान सञ्चालन गर्न सकिने थियो । त्यसतर्फ खासै ध्यान दिएको दिएको छैन ।
आँधीहुरी, चट्याङजस्ता प्राकृतिक विपत्तिबाट बच्नका लागि धेरै सचेत रहन जरुरी छ । बारा र पर्साका स्थलगत उदाहरण हेर्ने हो भने पनि आँधीहुरीबाट बच्नका लागि पहिलो प्राथमिकता त बलियो घर नै हो । घरका कमजोर संरचनाका कारण पनि यस्तो स्थिति आएको देखिएको छ । त्यसैले पनि बलियो घर निर्माण गर्नाले मात्र भूकम्पबाट बच्न सकिने स्थिति छ । आँधीहुरीबाट जोगिन सकिने अवस्था देखिन्छ । त्यसैले कमजोर संरचना निर्माण नगर्नका लागि पनि सरकारले सचेतना फैलाउनुपर्ने देखिन्छ । त्यसका साथै आमनागरिक पनि मौसमबारे चासो राख्ने र सोहीअनुसार योजना बनाउनेतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ । होइन भने अकालमा ज्यान जाने जोखिम उत्तिकै छ । त्यसैले सचेत बनौं, सचेत बनाऔं ।






