एटा संवाददाता
लन्डन । मगर संघ यूकेको अध्यक्षमा स्याङ्जा घर भई फार्नबरोमा बस्दै आएका ब्रिटिस लेप्टेन रिटायर्ड सुनिल राना निर्वाचित भएका छन् ।
अल्डरसटको कनट स्कुलको सभाहलमा शनिबार सम्पन्न छैटौं अधिवेशनमा प्रतिस्पर्धी अनिता रानालाई पराजित गर्दै राना अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित रानाले २ सय ४० मत र निवर्तमान उपाध्यक्षसमेत रहेकी अनिताले १ सय ८६ मत ल्याएकी थिइन् । अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । संस्थाको वरिष्ठ उपाध्यक्षमा सीता पुन, उपाध्यक्षमा लाल पुन र रामबहादुर गलामी, महिला उपाध्यक्षमा छविमाया पुन, महासचिवमा रुद्र थापा, सचिवमा सरला राना र कोषाध्यक्षमा होम रोका निर्वाचित भए ।
त्यस्तै, सदस्यहरुमा किशोर राना, रमेश दुरा मगर, गजबिर थापा, डण्ड थापा, मोहनबहादुर थापा, शिवबहादुर राना, सरु राना र टेक राना निर्विरोध निर्वाचित भएका छन् । बिहान ११ बजेबाट साँझ ८ बजेसम्म मतदान हुँदा निर्वाचन समितिलाई परिणाम सुनाउन हम्मेहम्मे परेको थियो । साँझ ९ बजेर ३० मिनेट जाँदा निर्वाचन समितिका बिजय थापा, लेप्टन कर्णेल यम राना, नरेश खपाङ्गी, रमेश सराङ्गकोटी, देवी आले, ओम थापा र लिलामान शेरपुञ्जा मञ्चमा आउँदा अधिवेशन हल खचाखच थियो ।
सदाझैं यसपटक पनि मगर संघ यूकेको आजीवन सदस्यहरु र शाखाका ७ प्रतिनिधिले मात्र मतदान गरेका थिए । यसपटकको अधिवेशनमा साधारण सदस्यले पनि भोट हाल्ने व्यवस्था हुनु पर्छ भन्ने आवाज उठेको थियो । तर, मगर संघमा मतदाताका लागि आजीवन सदस्यता बन्नु पर्ने बाध्यता पुनः दोहोरिएको छ । अध्यक्षमा विजयी ले.रि. सुनिल राना रसमुर शाखाका पूर्वअध्यक्ष एवं निवर्तमान कार्यसमिति केन्द्रको सल्लाहकार थिए । केन्द्रीय समितिमा एकपटक पनि काम नगरी एकैचोटी अध्यक्ष पदमा दाबी गर्नु उचित नभएको भन्नेहरुको संख्या धेरै भए पनि मतदानमा उनको विजय भएको छ ।
सांस्कृतिक सचिव हँुदै उपाध्यक्ष बनेकी अनिता रानालाई उच्चस्तरीय कार्यदलले निर्वाचन नगराई सहमतिमा नयाँ कार्यसमिति बनाउने भन्ने प्रस्ताव लैजाँदा उनले विधानसम्मत् आपूm अध्यक्ष हुनुपर्ने जिद्दी गरेपछि मतदान भएको सहभागीले बताएका छन् ।
स्मरणीय कुरा के छ भने महासचिव हँुदै वरिष्ठ उपाध्यक्षमा पुगिसकेका र अध्यक्षको कडा दावेदार वरिष्ठ उपाध्यक्ष योगकुमार फगामी वर्तमान समयमा एनआरएनए यूकेको अध्यक्ष भएका कारण विधानतः मगर संघ यूकेको यो छैटौं अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार स्वतः बदर हुने हुँदा यो नयाँ परिस्थिति रहन आएको बुझाई छ ।
मगर संघ यूकेको ११ शाखाका प्रतिनिधिहरु, आजीवन सदस्यहरु र मतदानका लागि आतुर मतदाताहरुले खचाखच भरिएको सो अधिवेशनलाई अध्यक्ष नेम थापा, समाजसेवी एवं संरक्षक घन थापा, संस्थापक अध्यक्ष थर्क राना, पूर्वअध्यक्ष मेजर कुल थापा, दुत पुन र मगर संघ नेपालका अमेरिका तथा युरोप संयोजक शान्ति थापालगायतले दीप प्रज्ज्वलन गरी विधिवत् उद्घाटन गरेका थिए । कार्यक्रमका लागि अतिथिहरु नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी, फोनिज यूकेकी अध्यक्ष प्रमिला राई, गेसोका प्रतिनिधि देवीमाया पुनलगायत मगर संघ यूकेका अगुवाहरु मञ्चमा आसिन थिए ।
अधिवेशनलाई संघका वरिष्ठ उपाध्यक्ष एवं एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले स्वागत मन्तव्य राखेका थिए । महासचिव लाल पुनले सञ्चालन गरेको अधिवेशनलाई अतिथिहरुबाट शुभकामना मन्तव्य दिइएको थियो ।
अधिवेशनको नियमानुसार कार्यक्रमको दोस्रो भागमा बन्द सत्रको कार्यक्रम सुरु भएको थियो । बन्द सत्रमा केन्द्रीय समितिको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, संस्थाको आगामी लक्ष्यबारे विस्तृत छलफल भएको थियो । त्यस्तै, शाखाका सबै प्रतिनिधिले आ–आफ्ना शाखाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेस मात्र गरेनन् सिङ्गो मगर संघ यूकेको लक्ष्य प्राप्तिबारे आ–आफ्नो चासो व्यक्त गरेका थिए । विभिन्न शाखाका तर्फबाट विन्चेस्टरका लिहेन्द्र राना, केन्टका क्या.रि. राम पुन, रिडिङ्गका टिकाजी राना, वेम्लीका पूर्ण राना, स्वीन्डनका अध्यक्ष कुमार राना, वेल्सका सचिव कृष्ण जुग्जाली, प्लमस्टिडका मोतीलाला रानालगायतले बोलेका थिए ।
त्यस्तै भातृ संस्थाबाट मगर महिला अध्यक्ष छविमाया पुन, खामभाषा समाजबाट हिक्मतसिंह रोका र पुन मगर समाजका तेज राम्जालीले पनि शुभकामना मन्तव्य दिएका थिए । सोही अधिवेशनको दिन मगर युथ समिति किशोर थापाको संयोजकत्वमा नयाँ युवा कार्यसमिति पनि चयन गरिएको थियो ।
केन्द्रको प्रतिवेदन महासचिव लाल पुनले पढेर सुनाउँदै इभेन्टको भिडियो देखाउँदै पाँचौ कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए । साथै सबै सहयोगी मगरलाई धन्यवाद दिइएको थियो ।
केन्द्रका कोषाध्यक्ष नेत्र आले तथा सहकोषाध्यक्ष होम रोकाले भिडियो क्लिक गर्दै संस्थाको आम्दानी खर्च देखाउँदा हलमा रहेका सबै प्रतिनिधि तथा पर्यवेक्षकहरुले चासोका साथ हेरेका थिए । किनकि सिङ्गो संस्थामा ठूलो धनराशी पनि रहने भयो भने संस्थाको निजी भवनबाट मासिक भाडा पनि आउने हुँदा सबै मगरको चासोको विषय रहनु स्वाभाविकै हो ।
मगर संघ यूकेका अध्यक्ष नेम थापाले पाँचौं कार्यसमितिमा रही काम गर्न पाउँदा खुसी व्यक्त गर्दै देशविदेशमा रहेका मगर संघ तथा अन्य सम्मानित संस्थाबाट अधिवेशन सफलताको शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै छैटौं कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।






