एटा संवाददाता ।

लण्डन । लण्डन मेट्रोपोलिटन अन्र्तगत सटन बरोमा नेपाली नयाँ बर्षलाई विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको Early Years Education Society ( EYES-UK) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्ति अनुसार, बहुसांस्कृतिक र भाषिक विविधताको धनि शहर सटन दक्षिण र पूर्वीय एशियाका हिन्दु तथा वौद्ध धर्मावलम्बीहरूको नयाँ बर्षलाई औपचारिकरुपमा साँस्कृतिक पर्वको मान्यता दिने लण्डन महानगरपालिकाको पहिलो बरो (वडा) भएको छ । सटनमा बसोबास गर्ने नेपाली, तमिल तथा भारतीय मुलका समुदायले बरोको सो निर्णय स्वागत गर्दै गत आइतबार १४ अप्रिलका दिन स्थानीय स्टान्ली पार्क हाईस्कूलको अडिटोरियमहलमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि नयाँ बर्ष मनाइएको हो ।
स्थानीय काउन्सिलर परम नन्दाको बिशेष प्रस्तावलाई सटन बरोको पूर्ण बैठकले बिभिन्न साँस्कृतिक तथा धर्मावलम्बीहरूको मूख्य चाड पर्वहरूलाई प्रवद्र्धन गर्ने निर्णय गत जानवरीमा पारित गरेको थियो । काउन्सिलको सो निर्णयसंगै हरेक बर्ष सटनको विद्यालयहरुले हिन्दू र वौद्ध धर्मावलम्बीहरूको नयाँ बर्षबारे पाठ्यक्रम समाबेश गर्नुपर्नेछ । उक्त कार्यक्रममा नेपाली, भारतिय तथा श्रीलङ्काली समुदायहरुले आ–आफ्नो भाषा र सँस्कृती झल्किने नृत्यहरु, गीत तथा संगीतहरू प्रस्तुत गरेका थिए ।
नेपाली समुदायको प्रतिनिधित्व गर्दै बिगत २ बर्ष देखि नेपाली भाषा र संस्कृतिको संरक्षण र बेलायतमा जन्मी हुर्किरहेका पहिलो पुस्ताका नेपाली बालबालिकाहरुको लागि EYES-UK द्वारा संचालित प्रारम्भ पाठशालामा अध्ययनरत विद्यार्थीहरुले नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए । लण्डनमा बसोबास र कार्यथलो बनाएका नेपाली समुदाय तथा आफ्ना नातिनातिनीहरु भेट्न आएका हजुरबा र हजुरआमाहरुको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा जब “डाँफे झै नाँच्ने, हिमाल झै हाँस्ने नेपालकी छोरी हुँ म” भन्ने बोलमा हातमा नेपालको झण्डा लिदै गुन्यु चोलो र पाउजु लगाएर प्रिसा, शयलि, निसिथा र इभा मन्चमा नाचेँ, दर्शकदिर्घामा रहेका नेपालीमात्र हैन, कार्यक्रमको अतिथिको रुपमा उपस्थित सटनका मेयर स्टिब कुक, बेलायती सांसदहरु टोम ब्रेईक र पौम स्कलिले बढो अभिरुचि साथ नृत्यबाट मनोरञ्जन लिईरहेका थिए । अमिस, प्रत्युष, सिड र श्रिसले ‘गाउँको टिठो म, कान्छा मेरो नाम, आउदै जादै गर्नु हैं सबलाई रामराम’ बोलको गीतमा आफ्नो नृत्यकला पस्केका थिए । गुरुङको पोशाकमा सजिएकी सिल्भिया र दौंरा सुरुवाल लगाएर उद्घोषकको भूमिका निर्वाह गरेका प्रतिकले प्रारम्भ पाठशालामा नेपाली भाषा सिक्दाको आफ्नो अनुभव र नेपाली सँस्कृतिको बारे सगौरव जानकारी दिएका थिए ।

पानसमा बत्ति बालेर शुरु भएको कार्यक्रममा भारतिय समुदायका बालबालिकाहरुले संस्कृतिमा मन्त्रवाचन, तमिल बालबालिकाहरुको समूहले शास्त्रिय संगित र नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको केन्द्र बिन्दु भने बिनोद चिपालुको ‘लाखे नाँच’ बन्न पुग्यो । जब लाखें नाँचको बाजा बज्यो र लाखे वल ‘लाखे आयो’ भन्दै गर्दा राक्षसको मुकुण्डो लगाएर बिनोद स्टेजमा नाच्दै पुगें, दर्शकहरु आफ्नो मोबाईलमा लाखे नृत्यलाई कैद गर्न ब्यस्त देखिन्थे ।
सो कार्यक्रममा पाएको सकारात्मक प्रतिक्रियाले हामीलाई नेपाल भ्रमण बर्ष २०२० सफल पार्न र नेपालीको साँस्कृतिक विविधताको पहिचान दिन आगामी दिनहरुमा नेपालका पर्यटकीय स्थानहरु, साहसिक खेलहरुबारे जानकारीमूलक तथा नेपालको साँस्कृतिक विविधता झल्काउने साँस्कृतिक कार्यक्रम गरेर स्थानिय समुदायलाई नेपालको भ्रमणको निम्तो दिन प्रारम्भ पाठशालाले विविध कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी प्रारम्भ पाठशालाका प्रमूख शिक्षक तथा आइज यूकेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले दिए । साथै, विज्ञप्तिको अन्त्यमा विस्तृत जानकारीको लागि EYES- UK का संचार संयोजक सुलभ पन्तलाई eyesuk2017@gmail.com मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।






