एटा संवाददाता
लण्डन । निर्माणकै क्रममा अत्यन्त चर्चामा रहेको नेपाली चलचित्र ‘साइँली’ को स्वीन्डन सहरबाट प्रदर्शन सुरु भएको छ । गत १३ अप्रिल शनिबारका दिन बुकहर्सट् कम्युनिटी हल स्वीन्डनमा किरात राई यायोक्खा स्वीन्डन शाखाको आयोजनामा हाउसफुलका साथ सो चलचित्र प्रदर्शन भएको हो । सो चलचित्रलाई स्वीन्डनका दर्शकहरुले असाध्यै मनपराइदिएको कोपिला सुब्बाले जानकारी गराएकी छन् । चलचित्र १९ अप्रिलका दिन एम्पायर हल अल्डरसट, २७ अप्रिलका दिन मेडिस्टोन र ४ मे का दिन सफारी सिनेमा ह्यारोमा प्रर्दशन गरिने चलचित्र एफ.सी. तुङ्बाका संघर्ष राईले जनाएका छन् ।
एफ.सी. तुङ्बाको प्रस्तुति र पीपल मोर्गेजेज्को सहयोगमा बेलायतमा प्रर्दशनको थालनी गरिएको चलचित्र ‘साइँली’ मा यसअघि दर्शक तथा श्रोताको मनजित्न सफल ‘सुन साइँली..’ बोलको गीतमा अभिनय गरेका गौरव पहारी र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । त्यस्तै, पछिल्लो समय थुप्रै चलचित्रमा सफल अभिनय गरिसकेका दयाहाङ राई, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरे र केनिपा सिहं लगायतले जिवन्त अभिनय गरेका छन् ।
विशाल गुरुङ र मोहन राना मगरको निर्माणमा बनेको चलचित्रलाई कबडी, कबडी कबडी लगायत थुप्रै सफल चलचित्र निर्देशन गरिसकेका रामबाबु गुरुङले निर्देशन गरेका छन् । नेपालको वर्तमान राजनैतिक, आर्थिक र सामाजिक अवस्थालाई जोडदार रुपमा प्रस्तुत् गर्न खोजिएको चलचित्रमा विशेषगरी वैदेशिक रोजगार जानु पर्ने बाध्यतालाई चित्रण गर्न खोजिएको छ । कुशल छायांकन, रमणीय दृश्य र लोकसंगीत प्रमुख रहेको चलचित्र नेपालका दर्शकहरुले असाध्यै रुचाइदिएका छन् ।
बेलायतका विभिन्न सहरहरुमा प्रदर्शन गर्न लागिएको सो चलचित्रलाई आ–आप्mनो पायक पर्ने स्थानमा गई हेरिदिनहुन आयोजकले चलचित्रप्रेमी नेपाली दर्शकहरुलाई अनुरोध गरेका छन् ।






