नेपाली समुदाय बेलायतमा हुने थुप्रै फुटबल प्रतियोगिताहरुमध्ये एक हो, ‘यलम्बर हाङ कप’ । प्रत्येक वर्ष किरात याक्थुङ चुम्लुङ यूकेले यो कप आयोजना गर्दै आएको छ । किरात याक्थुङ चुम्लुङ, बेलायतमा बसोबास गर्ने लिम्बुहरुको साझा संगठन हो । सोही संस्थाका उपाध्यक्ष एवं ‘यलम्बर हाङ कप’ फुटबल प्रतियोगिताका संयोजक नरवीर आङ्बोसँग एभरेस्ट टाइम्सले गरेको छोटो कुराकानी ।
यलम्बर हाङकपबारे छोटकरीमा भनी दिनुहोस् न ?
किरातीहरुको प्रथम राजा यलम्बर हाङको स्मृतिमा प्रत्येक वर्ष किरात याक्थुङ चुम्लुङ यूकेले खेलाउँदै आएको फुटबल प्रतियोगिता नै यलम्बर हाङ कप फुटबल प्रतियोगिता हो । जुन प्रतियोगिता यूकेको इस्टरको छुटीको समय पारेर खेलाइने गरिन्छ ।
यो कप आयोजनाको उद्देश्य ?
यो प्रतियोगिताको मूल उद्देश्य भनेकै अन्य संस्थाहरुसँग एक आपसमा सद्भाव, मित्रता र आपसी सम्बन्ध बढाउने हो । साथै खेलकुदप्रेमी दाजुभाइ, दिदीबहिनीहरुलाई एकत्रित बनाई उहाँहरुलाई संस्थाको तर्फबाट फुटबलमय वातावरण सिर्जना गर्ने हेतुले आयोजना गरिएको हो ।
एलम्बर हाङ सुरुआत भएको कति वर्ष भयो ?
१० अगस्ट २००८ बाट सुरु भएको हो यो प्रतियोगिता । त्यसपछि निरन्तर रुपमा खेलाउँदै आएका छौं ।
यस वर्ष कहिले र कहाँ खेलाउँदै हुनुहुन्छ ?
यो वर्ष २० अप्रिल २०१९ शनिबारको दिन लन्डनको फेल्थाम कम्युनिटीको खेल मैदानमा हुने पक्का छ । यसको लागि ठेगानास क्उचष्लनधभकत ब्अबमझथ, त्ध्ज्ञघ ठभ्ँ रहेको छ ।
कतिवटा टिमले भाग लिने छन् ?
यस पटक १२औं यलम्बर हाङ फुटबल प्रतियोगितामा चार वर्गमा (क्याटगोरी) खेलाइने भएको छ । Adult team, Veteran team, Super veteran team, Ladies team र आजसम्म ३६ वटा टिमहरुले दर्ता गर्नुभएको छ तर प्रतियोगिताको दिन सम्ममा टिमहरुको संख्यामा थोरै तलमाथि हुन सक्छ ।
दर्ता शुल्क र पुरस्कार राशिको बारेमा बताइदिनुहोस् न ?
महिला टिमहरुलाई दर्ता निःशुल्क र अन्य सबै वर्गका टिमहरुलाई २ सय पाउन्ड र यो वर्षको लागि ट्रफी र नगद पुरस्कार जम्मा ५ हजार १ सय ७५ राखिएको छ ।
नेपाली टिमले मात्र भाग लिन्छन् कि अरु टिमले पनि ?
नेपाली टिमले मात्र भाग लिन पाउँछन् । तर प्रत्येक टिममा दुई जना नेपाली मूल (अरजिन) भन्दा अन्यलाई खेल खेल्न पाउने प्रावधान रहेको छ ।
यस्तो कार्यक्रमहरु गर्दा खर्च उठाउन गाह्रो हुन्छ भन्छन् नि ? तपाईको संस्थाको अवस्था के छ ?
किरात याक्थुङ चुम्लुङ यूकेले यलम्बर हाङ कप फुटबल प्रतियोगिता संचालन गर्नुको लागि केन्द्रीय कार्यसमिति, विभागीय प्रमुख, केन्द्रीय सदस्य, सल्लाहकार, शाखाहरु, संस्थापक सदस्य, आजीवन सदस्य, संस्थाभित्रका अन्य समिति साथै साधारण सदस्य सबैलाई १२ वर्षसम्मको अनुभव छ । त्यसैले यो प्रतियोगिताको लागि कसरी खर्च जुटाउने, कताबाट मेनपावरको आयोजना गर्ने सबैलाई हेक्का भएकोले केही कठिनाई भए पनि खासै अरुले सोचे जस्तो गाह्रो त छैन । मैले माथि भनिसकें, यो अन्य संस्था र खेलाडीहरुलाई विशेष ध्यानमा राखेर आयोजना गरिएको खेल भएकोले नाफालाई भन्दा गुणस्तर खेल अनि खेलाडीलाई कसरी धेरै मनोरञ्जन गर्ने गराउनेमा संस्थाको विशेष ध्यान जाने अवगत गराउन चाहन्छु ।
फुटबल खेलमात्र हुन्छ कि अरु विविध कार्यक्रमहरु पनि आयोजना गरिन्छ ?
मुख्यतया, फुटबल नै उक्त दिनको प्रमुख विषयवस्तु हो । तर, बीच बीचमा आमन्त्रित पाहुनाहरुको लागि लिम्बुहरुको आफ्नो मौकिक पहिचानलाई झल्काउनको निमित्त केलाङको पनि प्रस्तुति हुने गर्छ ।
यस्तो खेल आयोजना गर्दा हेल्थ एण्ड सेफ्टीलाई विशेष महत्व दिनु पर्छ भन्छन् नि तपाईहरुले सुरक्षालाई कसरी व्यवस्थापन गर्ने योजना बनाउनु भएको छ ?
यो त खेल सञ्चालन गर्दाको पहिलो नम्बरमै पर्छ, यसको लागि हामीले पक्का अनुभवी पारा मेडिक एम्बुलेन्सको साथमा सुरुबाट अन्त्यसम्म हायर गरेका छौं, हामीसँग टिम मेडिक गर्नुभएको भएको ५ देखि ६ जनासम्म भोलुन्टर्स छन् साथै सेक्युरिटी अफिसर र स्थानीय प्रहरीहरुको पेट्रोलको व्यवस्था गरिएको छ ।
कार्यक्रमबाट बचत भएको रकम के गर्नु हुन्छ ?
किरात याक्थुङ चुम्लुङ यूकेले बचत र नाफाको लागि यो प्रतियोगिता आयोजना नगरेकोले नगद पुरस्कारदेखि ट्रफी, इन्सुरेन्स, फुटबल पिच बुक, एम्बुलेन्सदेखि आधिकारिक व्यक्ति रेफ्रीहरुलाई दिँदा नै ठीक भइराखेको छ ।
यस्तो प्रतियोगिता आयोजना गर्नु रहर हो कि बाध्यता ?
यो प्रतियोगिता आयोजना गर्नु रहर पनि होइन, बाध्यता पनि होइन यो प्रतियोगिता त खाली किरात याक्थुङ चुम्लुङ यूकेले अन्य संघ संस्था, फुटबल टिम, खेलाडीहरुसँग एक अर्कामा हितैसी मित्रता कायम गर्ने र खेलकुदमा बौद्धिक विकास गर्ने उद्देश्य भएकोले यो त हाम्रो वार्षिक रुटिन हो ।
दर्शक कति संख्यामा सहभागी हुने अपेक्षा राख्नु भएको छ ?
६ वटा फुटबल ग्राउण्ड प्रयोग गरिनेछ । खेलाडी, दर्शक, आधिकारिक व्यक्ति सबैको लागि कार पार्किङको व्यवस्था गरेका छौं ।
दर्शकका लागि प्रवेश शुल्क कति तोक्नु भएको छ ?
प्रवेश शुल्क निःशुल्क गरिएको छ भने १ हजारभन्दा बढीको लागि खानपिन, बीबीक्युको व्यवस्थासमेत गरिएको छ ।
तपाईको संस्थाको आफ्नै टिम छ कि छैन ?
हाम्रो आफ्नो टिम छ तर जित्नको लागि नभएर संस्थालाई प्रतिनिधित्व गर्नको लागि मात्र खेलाइने गरिन्छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?
सबभन्दा पहिला, एभरेस्ट टाइम्सलाई हार्दिक धन्यवाद यो अन्तर्वार्ताको लागि । अनि सम्पूर्ण खेलाडी मित्रहरुलाई अग्रिम शुभकामना भन्न चाहन्छु । साथै जति पनि यो प्रतियोगिताको लागि आर्थिक, बौद्धिक र अन्य विषयमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद । तपाईहरुको सहयोग खेलको अन्त्यसम्म नै रहने अपेक्षा गर्दै आउने २० अप्रिल २०१९ को दिन खेल मैदानमा भेट्ने वाचा गर्दछु ।






