राम ईजम
लन्डन । संघीय लिम्बुवान सामाजिक (संलिसा) मञ्च यूकेको विस्तारित बैठक सम्पन्न भएको छ ।
आइतबार फेल्थहाम कम्युनिटी सभाकक्षमा संलिसा मञ्च यूकेका केन्द्रीय अध्यक्ष टंकबहादुर खापुङको अध्यक्षता विस्तारित बैठक बसेको हो । बैठकमा वरिष्ठ सल्लाहकार एवं सचिवालय सदस्य देवीबहादुर तुम्बाहाङफे प्रमुख अथिति र प्रमुख सल्लाहकार तथा सचिवालय सदस्य चन्द्रकुमार लिङदेन र अर्का सचिवालय सदस्य चुडामणि तुम्बाहाङफे विशेष अतिथि थिए । बैठकमा सञ्चालन मञ्चका महासचिव राम ईजमले गरेका थिए ।
विस्तारित बैठकमा क्रियाशील कार्ड र परिचयपत्र वितरण, स्तरोत्तरसहितको विनियम वितरण, महिला समिति गठन, केन्द्रीय सदस्यहरूको थप र प्रवक्तामा नवराज काम्बाङलाई मनोनयन र थप सल्लाहकारमा मेहेरमान लाबुङ र रामकुमार थेबेलाई मनोनयन गर्ने निर्णय भएको संलिसा मञ्च यूकेले जनाएको छ ।
आय–व्यय विवरण संस्थाका अर्थसचिव तिल तावाले संक्षेपमा प्रस्तुत गरेका थिए भने आन्दोलन सहयोगार्थ रकमको आय–व्यय विवरण मञ्चका उपाध्यक्ष यदुचन्द्र लावतीले प्रस्तुत गरे । मञ्चका अर्का उपाध्यक्ष रुपमान कुरुम्बाङले सम्पूर्ण क्रियाशील कार्ड तथा परिचयपत्रहरू बहुत लगनशीलताका साथ तयारी गरेका थिए भने विनियमको पूर्ण तयारी सचिव शेरबहादुर इङ्नामले गरे ।
त्यसैगरी महिला समिति गठनको संयोजन उपाध्यक्ष शर्मिला यक्सो चोङ्बाङको संयोजकत्वमा सम्पन्न भएको थियो । नवगठित महिला समितिको अध्यक्ष सुमन सुब्बाको अध्यक्षतामा १५ सदस्यीय महिला कार्यसमिति चयन गरिएको थियो । साथै मञ्च उपाध्यक्ष कृष्णप्रसाद लिङदेनको संयोजकत्वमा पाँच सदस्यीय यूके सह अस्तित्व आवाज मासिक पत्रिकाको व्यवस्थापन समिति पनि गठन गरिएको थियो ।
बैठकमा विभिन्न महानुभावहरूले आ–आफ्नो धारणा, जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए । त्यसपश्चात् प्रमुख अतिथि देवीबहादुर तुम्बाहाङ्फे र अतिथिद्वय क्रमशः चन्द्रकुमार लिङ्देन र चुडामणि तुम्बाहाङ्फेले आ–आफ्नो छोटो मन्तव्य राखेका थिए ।
अन्त्यमा सभाध्यक्ष एवं संस्थाका अध्यक्ष टंक खापुङबाट छोटो मन्तव्यसहित बैठकसफल पार्न रातोदिन खटिने, सहयोगी र सहभागी प्रमुख अतिथि र अतिथिद्वयलाई धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि सबैको साथ र सहयोग रहने आशा व्यक्त गरे ।






