एटा संवाददाता
अल्डरसट । पर्वत वेलफेयर सोसाईटी यूकेले विविध सांस्कृतिक कार्यक्रममा साथ नयाँ वर्ष २०७६ साललाई स्वागत गर्दै मनाएको छ ।
गत शनिबार ४ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा मनाइएको हो । पछिल्लो समय अत्यन्तै चर्चित गीत ‘सालको पात टपरी…’ गाउन सफल गायक कुलेन्द्र बिक कार्यक्रमको मुख्य आकर्षण बनेका थिए ।
पर्वत खाल्टे गुरुङ गाउँ निवासी बिक पर्वत वेलफेयर सोसाईटीको निमन्त्रणामा बेलायत आएका हुन् । उनले ‘सालको पात टपरी…लगायत थुप्रै चर्चित गीतहरु गाएर भरपूर मनोरञ्जन प्रदान गरेका थिए । उनको गीतमा नझुमेका कमै थिए ।
त्यस्तै, बेलायत भ्रमणमा रहेका नेपाली गायक मदन परियार र सुनितानी परियारले समेत लोकदोहोरी गाएर दर्शकहरुलाई नचाउन सफल भए । कार्यक्रममा बालिका किर्तिका आचार्यले समेत आकर्षक नृत्य प्रस्तुत् गरिकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि डा.सुवेदीले नेपाली समुदाय बेलायतमा पर्वतेलीहरुको नेतृत्वदायी भूमिकाको चर्चा गर्दै नेपाली भाषा, कला र संस्कारको जगेर्ना गर्नुपर्नेमा जोड दिए । उनले आफूले कमाएको सीप, ज्ञान र अनुभव नेपालमा खर्चिन आग्रह गरे । साथै, उनले पर्वतको साथीभाइ र घरेडीको समेत प्रशंसा जोड्दै सालको टपरी…गीतमा नाचे । कार्यक्रममा पर्वतवासी एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवाली, सोसाईटीका निवर्तमान अध्यक्ष दधि आचार्य, सोसाईटीका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पूरन गिरी र सोसाईटीका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हित काजी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सोसाईटीका अध्यक्ष नेत्र आलेले प्रमुख अतिथि, अतिथि, कार्यसमिति, प्रायोजक र सहभागीहरुलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोषाध्यक्ष सुरज पौडेल, सचिव प्रकाश पौडेल, याम थापा लगायतले कार्यक्रम सफल बनाउन विशेष भूमिका निभाएका थिए । र, सदस्य अप्सरा गुरुङ पाहुना सत्कारमा खटेका थिए । उनलाई दिलमाया थापा, फस्ट लेडी ज्यामित्री आले लगायतले सघाएका थिए ।
सोसाईटीका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एक पुनले स्वागत मन्तव्य दिएका थिए भने महासचिव भरत पौडलेले कार्यक्रम संचालन गरेका थिए ।






