एटा संवाददाता
अल्डरसट । अल्डरसट भलिबल क्लब (एभिसी) यूकेले अल्डरसटमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी ९ जुन २०१९ का दिन अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा एभिसीले तेस्रोपटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पुरुष तथा महिला दुवै खेलाडी समूहबीच सम्पन्न हुने प्रतियोगिताको पुरुष विजेता टिमलाई एक हजार २०० पाउन्ड र उपविजेता टिमलाई ८०० पाउन्ड पुरस्कार राखिएको छ । त्यस्तै, महिलातर्फको विजयी टिमलाई ६०० पाउन्ड र उपविजेता टिमलाई ४०० पाउन्ड पुरस्कारको राशी राखिएको छ ।
त्यस्तै, दुवै समूहका उत्कृष्ट खेलाडी र मेन अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको अल्डरसट भलिबल क्लबका संस्थापक अध्यक्ष चन्दन गुरुङले जानकारी दिएका छन् । साथै, टिम दर्ताका लागि पुरुष टिमतर्फ १५० पाउन्ड र महिला टिमतर्फ १२० पाउन्ड शुल्क तोकिएको छ ।
अल्डरसटमा नेपालीहरुको बसोबास बाक्लिँदै गएपछि नेपाली युवाहरुले सन् २०१६ सालमा एभिसी नामक क्लब गठन गरी प्रत्येक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छन् । साथै, सो समूहले अन्य क्लबले आयोजना गरेको प्रतियोगितामा समेत भाग लिँदै आएको छ । नेपाली युवाहरुलाई स्वस्थ र अनुशासित राख्न विशेष भूमिका खेल्ने विश्वासका साथ खेलाउन लागिएको प्रतियोगितालाई आवश्यक सहयोग गर्न बेलायतवासी नेपाली उद्यमी तथा व्यवसायी, व्यक्ति र संघ संस्थाहरुमा क्लबले अनुरोध गरेको छ । साथै, इच्छुक भलिबल टिमलाई समयमा नै आफ्नो टिम दर्ता गराई स्थान सुरक्षित राख्नसमेत क्लबले अनुरोध गरेको छ ।






