एटा संवाददाता
लन्डन । ग्रीनवीच भलिबल परिवारले आयोजना गरेको पहिलो ‘ग्रीनवीच परिवार भलिबल प्रतियोगिता’ कप आयोजक ‘ए’ टिमले जितेको छ ।
ग्रीनवीचको रोयल आर्टिलेरी व्यारेकमा आइतबार आयोजना गरिएको खेलको उपाधि आयोजक ‘ए’ ले हात पारेको हो । आयोजकको ३ टिमसहित १४ टिम सहभागी भएको खेलमा रेडिङ भलिबल ‘ए’ र ‘बि’, स्विन्डेन भलिबल टिम, अल्डरसट भलिबल टिम ‘ए’ र ‘बि’, मोना ‘ए’ र ‘बि’, अयोजक ग्रीनवीच भलिबल टिम ‘ए’, ‘बि’ र ‘सी’, अस्फोर्ड भलिबल टिम, जमघाट भलिबल टिम, स्याङ्जा भलिबल टिम र १० क्यूओजीएलआरको सहभागिता रहेको थियो ।
लिग कम नकआउटको आधारमा खेलाइएको खेलमा रेडिङ ‘ए’, ग्रीन्विच ‘ए’ मोना ‘ए’ र क्यूओजीएलआर सेमी फाइनलमा प्रवेश गरेको थिए । दुबै सेमीफाइनल धेरै प्रतिस्पर्धात्मक र रोमान्चक भएको थियो, जसमा रेडिङ ‘ए’ क्यूओजीएलआर माथि जित हासिल गरी फाइनलमा प्रवेश गरेका थिए भने अयोजक ‘ए’ ले मोना ‘ए’सङ निकै मिहेनत गरी फाइनलमा प्रवेश गरेका थिए ।
फाइनल खेलमा अयोजक ‘ए’ ले सजिलो सेटमा रेडिङमाथि विजयी बनी आफ्नो पहिलो कप आफैसँग राख्न सफल भयो । परिवारका विनोद ज्ञवालीले संचालन गरेको कार्यक्रममा पहिलो र दोस्रो भएका टिमहरुलाई कार्यक्रम संयोजक रवीन्द्र रोका, परिवरका सदस्य कमल राणा, रेस्मी खड्का, राज कटवाल, परिवारका दिदीबहिनीहरुले मेडल, ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा विजयी टिमले १२५० र उपविजेता टिमले ८०० पाउन्ड नगद पुरस्कार प्राप्त गरे ।
सेमी फाइनल खेलतर्फबाट मोना ‘ए’ का रवीन्द्र पुन ‘मेअन ओफ द म्याच’ भए भने फाइनल खेलबाट रेडिङ ‘ए’ का कुशल पुन ‘म्यान ओफ द म्याच’ बने । खेलमा बेस्ट लिफ्ट, बेस्ट स्पाइकर र बेस्ट प्लएर सबै आयोजक टिमका क्रमशः रोशन गुरुङ, रविन गुरुङ र चन्द्र पुनले हात पारेका थिए । उनीहरुलाई जमघटका अध्यक्ष ब्रुस कुमारले ट्रफी हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक रविन्द्र रोकाले सबै उपस्थित टिम, क्लब र समाजका साथीहरु, सबै खेलप्रेमी दर्शकहरुलाई धन्यवाद दिए । साथै, उनले नेपालको राष्ट्रिय रेफ्री जीवन गुरुङ तथा विनोद चन्द र खेल मैदान बुक गरिदिएका दलबहादुर थापालाई पनि विशेष धन्यवाद दिए । त्यस्तै, उनले सबै आर्थिक, नैतिक र भौतिक सहयोग गरेका परिवारका साथीहरु र प्रायोजकहरुलाई मुरी मुरी धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।






