नेपालको पूर्वीभाग भोजपुर जिल्लाको दिङ्ला तुङ्गेछामा जन्मिएका नरेश गुरुङ ब्रिटिस आर्मीको जिटिआरका होनाहार योद्धा हुन् । उनले जागिरको सिलसिलामा हङकङमा १५ वर्ष बिताए । त्यसपछि बेलायत आउने मौका मिल्यो । लाहुरे नरेश गुरुङको पहिचान सन् २००९ यता सामाजिक अगुवाको रुपमा बद्लियो । बुद्ध फिलोसोफीप्रति आकर्षित भएका नरेश सन् २००७ मा स्थापना भएको बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेमा आबद्ध भए २००९ मा । बीसीसी यूकेमा सदस्यबाट प्रवेश गरेका उनले कोषाध्यक्ष, तीनपटक उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गत अक्टोबर २०१८ बाट अध्यक्षको कार्यभार लिए । उनको कार्यकाल दुई वर्षको हो । अध्यक्ष बनेर करिब ७ महिना बिताइसकेका नरेश गुरुङको संस्थागत काम, आगामी योजना र बीसीसी यूकेले जेठ ४ गते (मे १८, २०१९) मा मनाउन लागिएको २५६३ औं बुद्धजयन्तीबारे एभरेष्ट टाइम्सका लागि पूर्ण गुरुङले जिज्ञासा राखेका थिए । प्रस्तुत छ, बीसीसी यूकेका अध्यक्ष नरेश गुरुङसँगको कुराकानी ।

यसपटक २५६३ औं बुद्धजयन्ती कसरी मनाउँदै हुनुहुन्छ ?
२५६३ औं बुद्धजयन्ती भव्य र सभ्य रुपले मनाउने योजना छ । किनभने यसै समयमा बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले १२ औं वसन्त पार गरेको उपलक्ष्य छ । त्यस्तै बुद्ध जयन्तीमा पोखरानजिक रहेको ह्याङ्जाकोटस्थित परम पुज्यनीय रिन्पोछेज्यूको यहाँ (बेलायत)मा आगमन हुने छ । उहाँको धेरै फलोअर्स हुनुहुन्छ । त्यसैले पनि यसपटकको बुद्धजयन्ती भव्य हुने हामीले सोचेका छौं ।
बुद्धजयन्तीको दिन (१८ मे २०१९) मा बिहानको पूजा गुम्बामै हुन्छ । पूजा सकेर साकाहारी भोजन अल्डरसटको एम्पायर हलमा हुनेछ । भोजनपश्चत् हाम्रो रिन्पोछेबाट प्रवचन र वाङ (लामो आयु) को प्रदान गर्नुहुनेछ । यो कार्यक्रम हुँदैछ भन्ने मेरा धर्म मित्रहरुसहित सबैलाई अवगत गराउन चाहन्छु ।
बुद्धजयन्ती बीसीसी यूकेको १२ वार्षिकोत्सवको रुपमा पनि मनाउँदै हुनुहुन्छ, हो ?
बीसीसी यूकेले १२ औं वर्ष पुगेको अवसरमा हामीले एउटा स्मारिका प्रकाशन गर्दैछौं । बीसीसी यूकेले निकाल्ने मुखपत्र (स्मारिका) मा इच्छुकले शुभकामना सन्देश व्यक्त गर्न सक्नुहुनेछ । शुभकामना छपाईबापत पूरा पेजको दुई सय पाउन्ड, आधा पेजको एक सय पाउन्ड र एक चौथाई पेजको ५० पाउन्ड उपलब्ध गराउनुपर्नेछ । त्यसबाट बीसीसी यूकेलाई सहयोग पुग्ने मेरो विश्वास हो ।
१२ वर्षअघि बीसीसी यूके स्थापना गर्दा कुन उद्देश्य लिनुभएको थियो ?
बीसीसी यूके सन् २००७ देखि सुरु भएको हो । त्यो बेला मैले बेलायतमा भर्खरै मात्र पाइला टेकेको थिएँ । सुरुमा बीसीसी यूकेमा म संलग्न थिइनँ । सन् २००९ बाट यस संस्थासँग आबद्ध भएको हुँ ।
मलाई गौरव लाग्छ, हामी बुद्ध जन्मेको देशमा जन्मिएका एउटा मानव जाति हौं । बुद्ध वचनलाई संसारभरि फैलाउने कार्यमा संलग्न रहेर बुद्ध धर्मावलम्बीहरुलाई जन्मदा, मर्दा, बिहेबारी हुँदा चाहिने के हो ? ती कुराहरु परिपूर्ति गर्नका लागि यो संस्था खोलेका हौं । गौतम बुद्धको वचनलाई फैलाउन पाउँदा र त्यसकै नीति स्थापना भएको बुद्धिष्ट कम्युनिटी सेन्टरको अध्यक्ष पदमा आउन पाउँदा म धेरै गौरवान्वित छु ।
तपाईंले दुई वर्षे कार्यकालमा के के काम गर्ने योजना बनाउनुभएको छ ?
हाम्रो गुम्बा अल्डरसट सहरको सानो घरमा बनेको छ । हाम्रा धर्म मित्रहरुलाई सजिलो र सुविधा होस् भन्नुको खातिर गुम्बा एक्स्टेन्सनको काम सुरु गरिसकेका छौं । यसैलाई पूरा गर्ने मेरो पहिलो प्राथमिकता छ । किनभने यो गुम्बा बनिसकेपछि हाम्रा धेरै धर्म साथीहरुलाई सुविधा पुग्ने ठानेको छु । भविष्यमा त्यसैलाई राम्रो बनाउने, अर्को पाटोलाई पनि एक्स्टेन्सन गर्ने सोच छ । मानव जातिको सपना कहिले पनि सकिँदैन । बढ्दै जान्छ ।
बीच बीचमा ठूल्ठूला रिन्पोछेहरुको आगमन हुन्छ, उहाँहरुको कार्यक्रम, पूजापाठ भइनै रहनेछ । यसमा धर्म मित्रहरुको सहयोग, साथ रहिरह्यो भने हामी सफल हुन्छौं । अहिले हामीले ५ लाख पाउन्डको प्रोजेक्ट गरिरहेका छौं । लगभग अगस्ट महिनाभरि सम्पन्न हुन्छ भन्ने अनुमान छ । सम्पन्न भइसकेपछि सूचारु रुपमा गुम्बालाई अगाडि बढाउँदै लैजाने र धर्म मित्रहरुलाई सुविधा पुर्याउने विचार छ ।
बेलायतमा सयौं संघ संस्थाहरु छन्, तिनीहरुसँग बीसीसी यूकेको सम्बन्ध कस्तो छ ?
अहिलेसम्मको अवस्थामा अन्य संघ संस्थासँगको सम्बन्ध सबैभन्दा राम्रो रहेको बुझेको छु । म सन् २००९ देखि यस संस्थामा लागेर पाँच वर्ष कोषाध्यक्षको जिम्मेवारी सम्हालेँ । तीन वर्ष उपाध्यक्षको रुपमा काम गरेँ । र, अहिले अध्यक्ष छु ।
बेलायतवासी मात्रै नभएर संसारमा रहेका बुद्धमार्गीहरु, विशेषगरी नेपालीहरुलाई म भन्न चाहन्छु, ‘बुद्ध जन्मेको देशमा जन्मिएको व्यक्तिले धर्मै अँगाल्नुपर्छ भन्ने छैन, बुद्धले सुनाएर जानुभएको कुरालाई फलोअप गरौं ।’
बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले पनि केही साताअघि चिठी लेख्नुभएको थियो । हामी बुद्ध जन्मेको देशका मान्छे हौं, गर्व गर्ने ठाउँ छ । सकिन्छ भने उहाँको वचनलाई फलोअप गरेर हिँडिदिनुस् । अनि हामी नेपाली हौं भनेर शिर उचाली हिँड्न सक्ने क्षमता बढ्ने छ ।
नेपाली दूतावासबाट पनि सहयोग पाइरहनुभएको छ ?
सहयोग राम्रो भइरहेको छ । हामीले के गर्दैछौं भनेर उहाँहरु (नेपाली दूतावासका अधिकारी) लाई बेलामौकामा अवगत गराउनै पर्छ । उहाँहरु नेपालको प्रतिनिधित्व गरेर बेलायत बस्नु भएको हो । त्यसैले हामीले यसपाला प्रकाशन गर्ने स्मारिकाका लागि शुभकामना दिनोस् भनेर आग्रह गरेका थियौं । उहाँले केही दिनअघि एउटा चिठी लेखेर पठाइदिइसक्नुभएको छ । बुद्ध जयन्तीमा पनि राजदूत सुवेदीलाई आइदिन आग्रह गरेका छौं । उहाँको उपस्थिति अवश्य नै हुनेछ ।
५ लाख पाउन्डको योजना बनाउनुभएको छ । सँगसँगै कार्यालय सञ्चालन खर्च पनि छ । यी सबैको स्रोत कसरी जुटाउनुभएको छ ?
पैसाको स्रोत भन्दा अचम्म लाग्ने खालको छ । जुन बेला मैले टेजरीको अभिभारा लिएको थिएँ, त्यतिबेला बीसीसी यूकेको बैंक खातामा ७ हजार पाउन्ड मात्रै थियो । त्यो एकदमै न्यूनतम रकम हो । हाम्रो सपना ठूलो थियो । त्यो सपनालाई पूरा गर्न अगाडि बढ्दै जाँदा जुन स्रोतहरु जुट्यो, त्यो भनेका हाम्रा धर्म मित्रहरु हुन् । धर्मप्रति समर्पित हामी नेपालीहरु नै हौं ।
बुद्ध धर्मका अग्रज, गुरुहरुलाई मान्नुपर्दा हामीले चार जनालाई मान्दछौं । उहाँहरु सबैको बेलायत आगमन भइसक्यो । दलाई लामा, कर्मपा, साक्यापा, न्यूक्यापा लगायतको आगमन भइसक्यो । त्यसैले यहाँ ठूलो धर्मस्थल भइसकेको छ ।
अहिले पाँच लाख पाउन्डको प्रोजेक्ट सुरु गरिरहँदा हामीसँग मात्र २ लाख पाउन्ड थियो । तर करिब २ लाख ५० हजार पाउन्ड हाम्रा दयालु मन भएकाहरुले दुई वर्षका लागि नि निर्ब्याजी रुपमा ऋण दिइसक्नुभएको छ । अझै पनि कसैको पैसा बैंकमा रहिरहन्छ भने हामीलाई हजार, दुई हजार गरी फ्रि लोनमा दिएर मद्दत गरिदिनु हुन म अनुरोध गर्दछु । ज–जसले धर्मस्थल बीसीसी यूकेलाई सहयोग गर्नुभएको छ । उहाँहरुलाई म हृदयदेखि र बीसीसी यूकेको तर्फबाट हार्दिक हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
बीसीसी यूकेलाई स्थानीय काउन्सिलबाट के कस्तो सहयोग पाइरहेको छ ?
बीसीसी यूकेले गुम्बा किन्दाखेरी पनि हामी काउन्सिलमा गएका थियौं । काउन्सिलले धर्मसम्बन्धी संघ संस्थालाई नगद सहयोग गर्दैन । उसले सुझाव, सल्लाह र आइडिया दिन्छ । त्यसो हुनाले उहाँहरुसँग हामीले आर्थिक सहयोग मागेनौं । अहिले पनि उहाँहरुको सोचाइ एकदम राम्रो छ । किनभने मेयर, यहाँका मन्त्रीहरु बेला मौकामा आएर भिजिट गरिराखेका छन् । यहाँका मात्रै नभएर नजिकका नानीहरु करिब १६/१७ सयको भिजिट भइसक्यो । विद्यार्थीहरुले काउन्सिल मातहतबाटै भिजिट गरेको बुझिन्छ । त्यसैले काउन्सिलले धेरै राम्रो सहयोग गरिरहेको छ । बेलायतमा धेरै बुद्ध धर्मावलम्बीहरु बसेको काउन्सिल पनि बरो काउन्सिल हो ।






