आशिका गुरुङ, लोकदोहोरी गायिका
‘छोरी भन्छे मेरा बा खोइ आमा
क्यारी भनौं तेरो बाउ टेक लामा’
घतलाग्दो, चोटिलो र आक्रोश मिश्रित लोकदोहोरीको सवाल जवाफको पंक्ति हो यो । केही महिनाअघि एक दर्शकले छोराछोरी अलपत्र पारेर हिँडेको आरोप लगाएकोमा जब लोकदोहोरी गायिका आशिका गुरुङले यस्तो जवाफ फर्काइन्, तब कार्यक्रमको माहोल बेग्लै बन्यो । दर्शक, स्रोताले खुच्चिङ मारे पनि । बिहीबार काठमाडौं सामाखुसीको एक भोजनालयमा भेटेकी आशिकाले एभरेस्टकर्मीसँग भलाकुसारीका क्रममा दोहोरी खेल्दाको रमाइलो दिन सम्झिन् । यस्तै–यस्तै तुक्का र जवाफको झट्टारो हान्दै आशिकाले बैंशालु जोवनको जोस, जाँगर मौलिक गीत, संगीत र कलाको जगेर्नामा लगाउन थालेको ७ वर्ष पुगेको छ ।
***
हँसिलो मुहार, मध्यम कदको हुलियासहितका सुरिलो स्वर र कलाले भरिपूर्ण आशिका गुरुङ तनहुँकी चेली हुन् । सात वर्षअघि तनहुँको बाइसजंघारबाट लोकसंगीतको यात्रा सुरु गर्न राजधानी काठमाडौं पसेकी हुन् उनी । २०७० सालबाटै लोकदोहोरी गायनमा लागेकी आशिका कहिले पूर्व–पश्चिम, कहिले उत्तर–दक्षिण त, कहिले रेकर्डिङ र दोहोरीसाँझमा गाउन व्यस्त छिन् । मुस्कुराउँदै भनिन्, ‘प्रोग्राममा जाने गर्छु, रोजीरोटी जोहो गर्दै आफ्नो कला, गला देखाउन र मान्छेमाझ चिनिन गाउँदै हिँडेकी छु ।,’ नेपालका विभिन्न ठाउँका कार्यक्रममा जाने भए पनि उनी बढीजसो गण्डकी प्रदेशका लमजुङ, गोरखा, बागलुङ, गृहजिल्ला तनहुँ अनि कास्की पोखरातिरका मेला, महोत्सवहरुमा पुग्ने गर्छिन् ।
***
छोटो अवधिमै प्रगतिपथमा लम्केकी आशिका गुरुङले औपचारिक रुपमा वि.सं. २०७० मै धादिङका कल्याण रानाको गीत, ‘तिमै पूजा गर्न चाहन्छु…’ लोकदोहोरी गीत गाएकी थिइन् । २०७३ मा पस्केकी ‘दाङ देउखुरी’ सालैजो गीत वर्षकै उत्कृष्ट ठहरियो । त्यसपछि २०७५ मा ‘नाँचौं माया रमाइलो मेलैमा’ बजारमा ल्याइन् । जुन गीतले आशिकालाई लोकसंगीत पारखीमाझ अलि चिनारी दियो । उनले २०७५ सालमा तीज गीत ‘बुहारी’, ‘बागलुङ बजार’ सालैजोलगायत गीत गाइन् । गत वर्ष उनले स्वर भरेका थुप्रै गीत वर्षकै उत्कृष्टमा पर्न सफल भयो । चर्चित गायक रामजी खाँडसँगको ‘नजिकै आउँकी म’, सागर विरहीसँगको ‘लेकबेंसी सँगै गरौंला, लगायत लोकप्रिय सिर्जनामा आशिकाको स्वर सुन्न पाइन्छ ।
***
दोहोरी भन्नेबित्तिकै एकै खालका मात्रै हुँदैनन् । काँठ क्षेत्र, पश्चिमेली, अरुण उपत्यका, पूर्वी भेगमा फरक–फरक खालका हुन्छन् । गण्डकी क्षेत्रमा त सालैजो, झ्याउरे, कौडाको बजार छ । मौलिक सालैजो गीत बढी गाए पनि जुनसुकै गीत गाउन खप्पिस छिन् आशिका । अझै केही दर्शकहरुले त आशिका गुरुङको आवाजलाई अग्रज गायिका बिमाकुमारी दुरासँग तुलना गरेर हेर्ने गरिन्छ । आशिका दर्शकको बुझाईलाई सम्मान गर्दै भन्छिन्, ‘म उहाँ (बिमाकुमारी)को आवाज र गीत मन पराउँछु । तर, त्यत्तिको छैन ।’ बिमाकुमारी दुराहरुका गीत सुनेर र सिको गरी यस क्षेत्रमा लाग्न भने सजिलो भएको गायिका आशिका खुलस्त पार्छिन् ।
***
बिमासँगै आफ्नो कलाकारिताका प्रेरणादायी व्यक्तित्वको नाम लिन्छिन्, सागर विरही, देव आले मगर । आडैमा रहेकी अर्की चर्चित गायिका विनिता गुरुङलाई पुलुक्क हेर्दै आशिकाले भनिन्, ‘आदरणीय दाइ सागर विरही हुनुहुन्छ । उहाँले मलाई यस क्षेत्रमा लाग्न हौसला, प्रेरणा दिनुभयो, दिँदै हुनुहुन्छ ।’ उनी गीत, संगीत नसा बनेको महसुस गर्छिन् । थपिन्, ‘यस क्षेत्रमा लागिसकेपछि नसा भयो । मौलिकता जोगाउने कुरा सक्ने/नसक्ने आफ्नो ठाउँमा छ । तर सबैको सपोर्ट चाहिन्छ ।’ यही पेसामा लागिरहने अठोट पनि छ आशिकाको ।
***
लोकदोहोरी कर्णप्रिय, सरल र मनछुने भए पनि यसका लागि विशेष खालको प्रतिभा र अभ्यास चाहिन्छ । दोहोरी गाउन कलाकारलाई कतिपयले त ‘भगवानको वरदान’ पनि भन्ने गर्छन् । यस्तै वरदान भएकी आशिका गुरुङले गीतकै लागि भने कुनै औपचारिक कक्षा लिएकी छैनन् । ‘सिक्दै गाउँदै, गाउँदै सिक्दै ।’ आफ्नो स्वरमा निखारता ल्याउन र हातमुख जोर्न भने लोकदोहोरी साँझको कामले नै टेवा पु-याएको ठान्छिन् उनी । ‘हुन त, लोकदोहोरी साँझमा काम गर्ने भनेपछि अलि फरक दृष्टिले हेर्ने गरिन्छ’ बचाउको पारामा उनले भनिन्, ‘त्यस्तो होइन, सबैले बुझाईलाई परिवर्तन गर्नुपर्छ । सबै नराम्रा मान्छेमात्रै आउँदैनन्, राम्रा पनि भेटिन्छन् ।’ पूर्णकालीन गायिका आशिका लोकदोहोरी साँझ व्यवसायमात्रै नभई नेपाली कला, संस्कृति बचाउन र स्वदेशमै रोगजारीको सिर्जनाको लागि राम्रो पाटो भएको ठम्याउँछिन् ।
***
हरेक ठाउँमा राम्रो/नराम्रो पक्ष हुन्छन् नै । त्यस्ता विकृति, विसंगति सम्बन्धित क्षेत्रका र बाहिरका व्यक्तिहरुले समेत औंल्याइरहेका हुन्छन् । देश–विदेशमा हुने कार्यक्रममा राम्रा कलाकारलाई भन्दा आफ्नालाई मौका दिने परिपाटीप्रति आशिका निकै रुष्ट छिन् । भन्छिन्, ‘आफ्ना मान्छेलाई सम्झने, अरुलाई नहेर्ने अवस्था देखिरहेकी छु । मान्छेको भन्दा पनि कला र गलाको सम्मान होस्, यो भन्ने पर्ने कुरा हो ।’ हुन पनि, नेपालका विभिन्न कार्यक्रम, विदेशमा जान कलाकारहरुलाई आफ्नाले ‘पुस’ गरेको देखिन्छ । आयोजकले राम्रा र प्रतिभावान कलाकार छान्न नसक्ने र नचाहेको गुनासो धेरै कलाकारहरुबाट सुनिन्छ । आफू विदेश जान मरिहत्ते नगरेको भन्दै आशिका आफ्नो कला, गला र प्रस्तुति विभिन्न देशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीमा राखौं भन्ने चाह मात्र रहेको सुनाउँछिन् । उनको त्यही चाहना मेटाउन हङकङ, दुबई, कतारमा रहेका नेपाली डायस्पोराबाट प्रस्तावसमेत आइसकेको हर्षित हुँदै कुराकानीको क्रममा सुनाइन् । विशेषगरी उल्लेख्य नेपाली रहेको यूके, हङकङ जाने इच्छा उनमा छ । योजना बताइन्, ‘विदेश गएँ भने त्यहाँका दर्शकको मन जित्ने, माया बटुल्ने र खुसी बोकेर फर्कनेछु ।’ विदेशमा जातीय र अन्य थुप्रै संघसंस्था क्रियाशील छन् । सपोर्ट हुने/नहुने, माया दिने/नदिने उहाँहरुको कुरा ।
***
भनिन्छ, जीवन सुख, दुःखको मिश्रण । परिवारकी जेठी छोरी आशिका गीत, संगीतमा लागेपछि कुनै बेला सपोर्ट नपाउँदा दुःखी र गाह्रो महसुस गर्थिन् । अहिले त्यो अवस्था छैन । थुप्रै दर्शकको माया, धेरैसँगको चिनजान, ठूल्ठूला कार्यक्रममा सहभागी हुन पाउँदा र प्रमाण पत्र थाप्दा आनन्द अनुभूति गर्छिन् उनी । संविधान दिवस २०७३ मा रेडियो नेपालले गरेको ‘फूलबारी गीत सम्मेलन’मा सहभागी भएर प्रमाण पत्र लिँदा औधी खुसी लागेको उनले बताइन् ।
***
संगीत यात्रामा आफ्नै तमु भाषाको गीत गाउने रहर छ उनमा । नाच्ने, उफ्रने र बिक्ने गीत गाउन पनि आशिका तयार छिन् । तर, पैसाको अनुहारमात्रै नहेरी गाउँघरको संस्कार, संस्कृति अनि मौलिकता जोगाउन मद्दत पु-याउने उद्देश्य उनमा छ । ‘गायनमा मेरो जोड हो, मौलिकता र निरन्तरता’ लोकदोहोरी गायिका आशिका गुरुङ दृढता व्यक्त गर्छिन् ।






