आसफोर्ड (बेलायत) । नेपालमा शान्ति स्थापनाका नाममा अझै पनि परिवर्तनका महत्वपूर्ण मुद्दाहरू थाती रहेको विश्लेषकहरूले बताएका छन् । संविधान निर्माणपछि ‘मुर्दा शान्ति’ कायम रहेको भन्दै जनस्तरमा व्याप्त असन्तुष्टि सम्बोधन नगरे मुलुकमा अझै अस्थिरता देखिनेतर्फ उनीहरूले चिन्तासमेत व्यक्त गरेका छन् ।
आसफोर्डमा शान्ति निर्माण तथा सामुदायिक विकास विषयक अन्तरक्रियामा बोल्दै द्वन्द्व व्यवस्थापनविद् डा. धीरेन्द्र नाल्वोले नेपालको वर्तमान संविधानमा धैरे तप्काबाट अपनत्वबोध नभएकोले मुलुकमा जुनै बेला पनि द्वन्द्वको अर्को रूप देखा पर्न सक्नेतर्फ सचेत गराए । उनले विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका धेरै बुँदाहरू सम्बोधन नभएकोले असन्तुष्टि व्यापक रहेको बताए । ‘विस्तृत शान्ति सम्झौतामा उल्लेख धेरै मुद्दाहरूबारे काम भएको छैन । सरोकारवालाहरू आन्दोलनमै हुनु त्यसको प्रमाण हो,’ जर्ज मेसन विश्वविद्यालय अमेरिकाबाट हालसालै विद्यावारिधी हासिल गरेका उनले भने, ‘त्यसैले पनि अहिले देखिएको स्थिरता मुर्दा शान्तिमात्रै हो ।’ अन्तरक्रियालाई लिम्बुवान नागरिक समाज यूके, याक्थुङ चुम्लुङ आसफोर्ड र सगरमाथा नेपाली कम्युनिटी आसफोर्डले आयोजना गरेका थिए ।
बर्माको कचिन राज्य र आन्दोलनबारे उच्च अध्ययन गरेका डा. नाल्वोले अन्तरक्रियामा छलफलका लागि नेपालको धरानमा आईयूडीपीको खानेपानी परियोजना र सरोकारवालाहरूबीच भएको द्वन्द्वको घटनालाई प्रस्तुत गरेका थिए । छलफलमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घ यूकेका संस्थापक सिरी साम्यूले राज्यले विकासका महत्वपूर्ण परियोजना लैजाँदा वातावरणीय तथा साँस्कृतिक प्रभावबारे गम्भीर हुनुपर्ने धारणा राखे । उनले स्वतन्त्र पूर्वसूचना मञ्जुरीनामाको सूत्रलाई अवलम्बन गर्नुपर्ने बताए । त्यस्तै, लिम्बुवान नागरिक समाज पूर्वअध्यक्ष नरेन्द्र माबोहाङले जनताको मुद्दा राज्यको कार्यक्रमभन्दा महत्वपूर्ण हुन नसक्ने तर्क गरे । यसैगरी, समाजका महासचिव लाहाङ चेम्जोङले विजयपुरको सवालमा पनि पहिचानको मुद्दा केन्द्रविन्दूमा रहेको कारणले परियोजनामा प्रतिरोधको घटना देखा परेको कारण सुनाए ।
अर्का वक्ता विजयपुर बचाउ आन्दोलन तथा लिम्बुवान स्प्रिङ आन्दोलनसम्बद्ध अभियन्ता अमित थेवेले अन्तर्राष्ट्रिय परियोजनाहरूले सभ्यता सँस्कृतिलाई नै दाउमा राख्ने गरी राज्यसँग सम्झौता गर्न नहुने सुझाव दिए । उनले समुदायलाई सम्बोधन नगरी हुने विकासे कार्यक्रमले अस्थायी शान्तिको आभाष मात्रै दिलाउने बताए । त्यस्तै, लेखक एवम् विश्लेषक विजय लुम्फुङ्वाले क्षति एवम् द्वन्द्व न्यूनीकरण गर्न विषय विज्ञहरूसँग आयोजना र परियोजनाले सहभागितामूलक परामर्श कार्यक्रम गर्नुपर्नेमा जोड दिए । त्यस्तै, याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष डम्मर सिङ्गकले समेत समावेशीता र पहिचानसहितको समृद्धिले मात्रै दीर्घकालीन स्थायित्व आउने धारणा राखे ।
आयोजक सगरमाथा नेपाली कम्युनिटीका अध्यक्ष चक्र राईले छलफल उपलब्धिमूलक भएको जनाउँदै स्वदेश फिर्ती अभियान सञ्चालन गरेर देशको विकास र समृद्धिमा प्रत्यक्ष योगदान दिन आफूहरू आतुर रहेको बताए । त्यस्तै, चुम्लुङ आसफोर्ड अध्यक्ष टङ्क येङ्देनले पुस्तान्तरण गर्न पनि अन्तरक्रिया आयोजना गरिएको कारण खुलाए । कार्यक्रम लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेमले सहजीकरण गरेका थिए ।






