मिलन तमु
अल्डरसट । मर्दीखोला समाज यूकेले विविध सांस्कृतिक कार्यक्रमका साथ ११ औं वार्षिक भेटघाट सम्पन्न गरेको छ । गत शनिबार ११ मे का दिन फ्रेम्लीस्थित तोम्लीनस्कोटमा मर्दीखोलाको वार्षिक भेटघाट आयोजना गरिएको हो । समाजका जेष्ठ नागरिक पूर्णप्रसाद गुरुङ, अध्यक्ष धर्मराज गुरुङ र आमा समूहकी अध्यक्ष जगनकुमारी गुरुङले संयुक्त रूपमा पानसको दियो बालेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत् गरिएको थियो । समाजका कलाकार भाइबहिनीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा उनीहरुको कलाको सम्मान गर्दै समाजका अध्यक्ष धर्मराज गुरुङले प्रशंसा पत्रसहित खादा लगाई सम्मान गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई सांस्कृतिक सचिव रोशन गुरुङ, नृत्य संयोजक लिना गुरुङ, सचिव भगवान गुरुङ, आमा समूहकी सचिव लिना गुरुङले पालैपालो संचालन गरेका थिए ।
कार्यक्रममा आमा समूहकी अध्यक्ष जगनकुमारी गुरुङ, समाजका पूर्वअध्यक्ष हिरामान गुरुङ, आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङ, जेष्ठ नागरिक पूर्णप्रसाद गुरुङ लगायतले समाजको बारेमा बोलेका थिए । त्यस्तै, समाजका अध्यक्ष धर्मराज गुरूङले उपस्थित सबैलाई धन्यवाद औपचारिक कार्यक्रम समापन गरेका थिए । समाजलाई योगदान दिएका विभिन्न महानुभावहरुलाई सम्मान गरिएको कार्यक्रममा ल्वाङ सिउँ ग्रामीण सड़क निर्माण आर्थिक सहयोग संकलन संयोजक दक्ष गुरुङ, खोरामुखस्थित सहिद हरिप्रसाद आधारभूत विद्यालय महायज्ञ आर्थिक सहयोग संकलन संयोजक हितमान गुरुङ, सिदीङस्थित सरस्वती विद्यालय भवन मर्मत आर्थिक सहयोग संकलन संयोजक हिमबहादुर गुरुङ, पाती खोला गुफा संरक्षण आर्थिक सहयोग संकलन संयोजक मिलन तमुलाई समाजको तर्फबाट धन्यवादसहित सम्मान गरिएको थियो ।
त्यस्तै, आजीवन सदस्य बनेका, नयाँ सदस्यता लिएका, हालै गे्रज्युएसन गरेका, नयाँ वैवाहिक बन्धनमा बाँधिएका र सन्तान लाभ भएका समाजका सदस्यहरुलाई समेत बधाईसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा आफ्नो परिवारमा छोरी शनिला गुरुङले ग्रेज्युएसन गरेको र छोरा निशान तथा बुहारी सोनी गुरुङको पुत्री लाभ भएको खÞुशीयालीमा कार्यसमितिका सह–कोषाध्यक्ष निर्मल गुरूङ तथा शान्ति गुरुङले सम्मानस्वरूप मर्दीखोला समाज यूकेलाई ५०७ पाउन्ड प्रदान गरे । घलेली भान्जी पर्वती गुरुङ तथा बिरेन गुरूङले आफ्नो पुत्र लाभ भएको उपलक्ष्यमा समाजलाई सम्मानस्वरूप ५०५ पाउन्ड प्रदान गरेका थिए । त्यसैगरी, गगन गुरुङ तथा रेबिका गुरुङले पुत्रलाभको खुशीयालीमा समाजलाई २०१ पाउन्ड दिएका थिए ।
आमा समूहले पुरुषहरुलाई समेटेर मनोरञ्जनात्मक खेल खेलाएका थिए । खेलमा वरिष्ठ सल्लाहकार आईबहादुर गुरुङ विजेता बनेका थिए । त्यस्तै, बच्चाहरूका लागि खेलाइएको बल पास खेलमा रोशनी गुरूङ विजयी भइन् । राफल ड्र समेत खेलाइएको कार्यक्रममा खेलका पहिलो विजेतालाई आधा तोलाको सुनको औंठीसहित थुप्रै उपहार राखिएको थियो । प्रथम पुस्कार समाजका वरिष्ठ सल्लाहकार कमल गुरुङले हात पारेका थिए । सो राफल ड्र कार्यक्रमलाई समाजका सचिव भगवान गुरुङले संचालन गरेका थिए । कार्यक्रमको सुरूदेखि अन्तसम्म समाजका प्रवक्ता तथा वेभसाईट एडमिन सविन्द्रकुमार गुरुङको सहयोगबाट फेसबुक लाईभसमेत गरिएको थियो । त्यस्तै, आमा समूहकी सल्लाहकार कमला गुरुङ र मिडिया सेक्रेटरी मिलन तमुले फोटो खिचेर सहयोग गरेका थिए ।
समाजका अध्यक्ष धर्मराज गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्रसिंह गुरूङले स्वागत मन्तव्य र डा. दिनेश गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए भने महासचिव सन गुरुङले कार्यक्रम संचालन गरेका थिए । करिब २५० जनाको उपस्थिति रहेको भेटघाट कार्यक्रम डिजे डान्सका साथ बेलुकी साढे नौ बजे समापन भएको महासचिव सन गुरुङले जानकारी दिए ।






