नारायणसिंह गुरुङ
अल्डरसट । गत ५ मे २०१९ आइतबारको दिन अल्डरसटस्थित एम्पाएर हलमा घान्द्रुक समाज यूकेले आफ्नो एघारौं साधारणसभा सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।
दिउँसो ११ बजेबाट सुरु भएको कार्यक्रम बेलुका ७ बजेसम्म चलेरको थियो । महासचिव रोशन गुरुङद्वारा संचालित कार्यक्रमलाई दुई चरणमा बाडिएको थियो । पहिलो चरणको कार्यक्रममा उपस्थित सदस्यहरुलाई वरीयता क्रमानुसार आशनग्रहण गराएका थिए । समाजको संस्थापक अध्यक्ष रि. मे. उदयबहादुर गुरुङ र बहालवाला अध्यक्ष अर्जुन गुरुङले संयुक्त रुपमा पानसमा दीयो बालेर शुभारम्भ गरेका थिए । त्यसपश्चात् उपाध्यक्ष सत्रमान गुरुङले सेफ्टीको बारेमा र अध्यक्ष अर्जुन गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि कार्यक्रम सिधै विषयवस्तुमा प्रवेश हुँदै महासचिव रोशन गुरुङले वर्षभरि भए, गरेका कार्यक्रमहरु र कोषाध्यक्ष याम गुरुङले वर्षभरिको आम्दानी खर्चको प्रतिवेदन पेस गरेका थिए ।
त्यसपछि नारायणसिंह गुरुङको संयोजकत्वमा गठित लेखा परीक्षण समितिको सदस्यहरुमा नारायणसिंह गुरुङ आफैं, सदस्य देवसिंह गुरुङ र अर्का सदस्य हेमन्त गुरुङले क्रमशः लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
र, यसै चरणको अन्तमा नेपालबाट व्यक्तिगत काममा हाल बेलायतमा रहेका समाजसेवी रि. मे. ज्ञानबहादुर गुरुङलाई स्थानीय रुपमा मान्ने आस्था र विश्वासको केन्द्र जीर्ण अवस्थामा रहेको नाब्रीथीबको मन्दिर जीर्णोद्वार गर्ने काममा उल्लेखनीय योगदान दिएबापत र पूर्वअध्यक्ष रि. इन्स्पेक्टर खेमबहादुर गुरुङलाई गुरुङ भाषा संरक्षणमा शब्दकोष पुस्तकहरु लेखी प्रकाशित गरेर भाषा संरक्षणमा उल्लेखनीय योगदान दिएबापत् तमुधिं कास्की पोखराले हरेक वर्ष प्रदान गर्ने गरेको घनबहादुर गुरुङ स्मृति पुरस्कारबाट पुरस्कृत भएकोमा सम्मान गरियो । सो अवसरमा उनीहरु दुवैजनाले धन्यवाद मन्तव्य दिएका थिए ।
दोस्रो चरणको कार्यक्रममा गहन छलफल तथा बहस गरेर निर्णय गर्नुपर्ने समसामयिक बिषयहरु जस्तै न्एत् (GPT -Ghandruk Preservation Trust,, घान्द्रुक समाज यूकेको नाम पुनरावलोकन घान्द्रुक समाज यूके दस वर्ष पुगेको उपलक्ष्यमा गरिने उत्सव सम्बन्धमा, नेपालस्थित अन्नपूर्ण सेञ्चुरी महोत्सवलाई आर्थिक सहयोग सम्बन्धमा, घान्द्रुकस्थित स्थानीय कलाकारहरूद्वारा निर्मित र अभिनित गुरुङ चलचित्र साली भेना (सली नेइ आउमो) प्रदर्शन सम्बन्धमा, गोर्खा कप फुटबल र नेपाली मेला कार्यक्रममा सहभागिता सम्बन्धमा र कुनै पनि कार्यक्रम संचालन गर्नुअघि स्थानीय आस्था र विश्वासको शक्तिपीठ भ्रेज मेश्रोको पूजा गर्ने सम्बन्धमा बृहत्तर छलफल र बहस गरेर आवश्यक निर्णयहरु गर्दै अन्तमा बेलुका सात बजेतिर कार्यक्रम अन्त भएको थियो ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष अर्जुन गुरुङले धन्यवाद मन्तव्य राख्दै साधारणसभा समापनको घोषणा गरेका थिए ।






