नगेन्द्रराज नेम्वाङ्ग
लन्डन । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) यूकेको विविध कार्यक्रमका साथ दसौं साधारणसभा सम्पन्न भएको छ ।
गत आइतबार १२ मे आइतबारका दिन ग्रेजस्थित टिएए हलमा कियाचु यूकेको दसौं साधारणसभाको कार्यक्रम आयोजना गरिएको हो । कियाचु यूकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ्गको प्रमुख आतिथ्य र महासचिव गणेश ईजमको विशेष आतिथ्यममा सुरु भएको साधारणसभामा सचिव शेरबहादुर इङ्गनामले उपस्थित महानुभावहरुलाई आशनग्रहण गर्दै हेल्थ एण्ड सेफ्टीबारे सजक गराएका थिए ।
कार्यक्रमलाई शाखा अध्यक्ष दलकुमार आङ्देम्बे र प्रमुख अतिथि नगेन्द्र नेम्वाङ्गले दिप प्रज्ज्वलन गरी सभाको उद्घाटन गरेका थिए ।
सभामा संस्थाप्रति आवश्यक सामाग्रीहरु जस्तै च्याबु्रङ्ग, सांस्कृतिक सामाग्री, गरगहना र यलम्बरहाङ्ग कपको महिला फुटबल टिम तयारका लागि खाजापानी यातायात सहयोग गर्ने सहयोगदाताहरुलाई सचिव शेरु इङनामले धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा शाखाका अध्यक्ष आङदेम्बेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी लिवाङले आर्थिक प्रतिवेदन पेस गरेका थिए । उनीहरुको प्रतिवेदनउपर व्यापक रुपमा छलफल भएको थियो । त्यस्तै, केन्द्रबाट आएका महासचिव गणेश इजमले सदस्यता नवीकरणबारे जानकारी गराउँदै चुम्लुङदेन सहयोगदाताहरुलाई सदस्यता कार्ड वितरणबारे बोलेका थिए । साथै, उनले सिसेक्पा तङनाममा सदस्यता कार्ड लिई आउनेलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिने जानकारी गराउँदै चुम्लुङ्ग केन्द्रका गतिविधि प्रस्ट्याएका थिए ।
प्रमुख अतिथि नगेन्द्र नेम्वाङ्गले चुम्लुङ्ग केन्द्र र थरक शाखाको सम्बन्ध गहिरो रहेको बताउँदै सिसेक्पा तङनाम र यलम्बरहाङ्ग कपमा शाखा अध्यक्षलगायत सम्पूर्ण कार्यसमितिको विशेष सहयोग पाइरहेको बताए । उनले सो सहयोगका लागि जति धन्यवाद दिए पनि कम हुने बताउँदै आगामी दिनहरु शाखा सफलताको शुभकामना दिए । शाखाले लिम्बुहरुको संस्कृतिमा आधारित लोकप्रिय च्याब्रुङ्ग (बाजा) आवश्यकता भएकोले उपस्थित महानुभावहरुमा सहयोगको अपेक्षा राखेका थिए । सो अवसरमा शाखा अध्यक्ष आङदेम्बे, सचिव इङ्गनाम, सदस्य शरण पङधाक, केन्द्रीय राष्ट्रिय परिषद् सदस्य युवराज इष्वो लगायतले १÷१ वट गरी ४ वटा च्याबु्रङ्ग दिने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, प्रमुख अतिथि नेम्वाङ्गले नगद पचास पाउन्ड र लोकबहादुर थोप्राले नगद पच्चीस पाउन्ड च्याब्रुङ खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।
शाखा अध्यक्ष दलकुमार आङदेम्बेको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष ईन्द्र पन्धाकले स्वागत मन्तव्य राखेका थिए भने सचिव शेरबहादुर इङ्गनामले सभा संचालन गरेका थिए ।






