तमु फोरमले सन् २०२० भित्र त्रि–भाषीय पुस्तक प्रकाशन गर्ने

SHARE:

एटा संवाददाता
अल्डरसट । तमु (गुरुङ) कल्चरल फोरमले सन् २०२० भित्र गुरुङ सम्पदा त्रि–भाषीय पुस्तक प्रकाशन गर्ने जनाएको छ । गत आइतबार १२ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न फोरमको दोस्रो साधारणसभामा फोरमका निर्देशक क्या. राजु लेम गुरुङले सो जानकारी दिएका हुन् । उनले गत एक वर्ष गरेका विभिन्न कार्यहरुको बारेमा उल्लेख गर्ने क्रममा आगामी सन् २०२० भित्रमा पुस्तक प्रकाशन गरिसक्ने विश्वास व्यक्त गरे ।

तमुधिं यूके र तमु प्ये ल्हु संघको अग्रतामा सन् २०१२ सालमा तमुहरुको सम्पदा संरक्षण गर्ने उद्देश्यका स्थापना भएको फोरमले गुरुङहरुको इतिहास, संस्कार, भाषा र सभ्यता समेटिएको ‘गुरुङ सम्पदा त्रि–भाषीय पुस्तक’ प्रकाशन गर्ने सन् २०१७ को मार्चमा निर्णय गरेको थियो । सोही निर्णयबमोजिम फोरमले विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर पुस्तक लेखनको थालनी गरिसकेको छ ।

सो साधारणसभामा फोरमका निर्देशक क्या. राजु गुरुङले फोरमले गरेका विभिन्न कार्यहरु विशेषगरी पुस्तक प्रकाशनको बारेमा विस्तृत रुपमा जानकारी दिएका थिए । त्यस्तै कोषाध्यक्ष जुमकाजी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
कार्यक्रममा पुस्तकका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले तयार पारेको गुरुङहरुको इतिहासलाई फोरमका सहनिर्देशक हरि गुरुङले प्रस्तुत् गरेका थिए ।

त्यस्तै, प्राध्यापक नारायण गुरुङ र क्या. देवराज गुरुङ, सुमलकुमार गुरुङ तथा अमर गुरुङ, एकेन्द्र गुरुङ तथा हरि गुरुङको समूहले आफूहरुले तयार पारेको सामाग्री प्रस्तुत गरेका थिए । त्यस्तै, धर्मगुरु यारजङ्ग गुरुङले प्हच्यु, धरम गुरुङले लामा र हिरा गुरुङले घ्याप्ह्री विधि पुस्तकभित्र समावेश गर्ने बारेमा बोलेका थिए ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ र तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओले पुस्तक प्रकाशनको विषयलाई केन्द्रमा राखेर बोलेका थिए । कार्यक्रममा फोरम बोर्ड अफ काउन्सिलका चेयरमेन मेजर लालबहादुर गुरुङ, एनआरएनए यूकेकी उपाध्यक्ष पुनम गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ लगायत संघसंस्थाका प्रतिनिधिहरुले समेत आ–आफ्ना भनाइ राखेका थिए ।

बेलायतस्थित ७४ वटा तमु संघसंस्थाहरुको साथ, सहयोग र सक्रियतामा प्रकाशन हुन लागेको सो पुस्तकका लागि बेलायतस्थित हरेक तमुको घरधुरीले १०० पाउन्ड सहयोग गर्न अनुरोध गरिएको छ । सो १०० पाउन्ड मध्येबाट २० पाउन्ड आजीवन सदस्यता र ८० पाउन्ड पुस्तक प्रकाशनमा लगानी हुने फोरमका निर्देशक क्या. राजु गुरुङले जानकारी दिए । उनले सहयोग रकम आगामी २०१९ भित्र बुझाई पुस्तक प्रकाशनमा सहयोग गरिदिनहुन हार्दिक अनुरोध गरेका छन् । सहयोगबापत प्रत्येक घरधुरीलाई एक थान हेरिटेज बुक उपलब्ध गराउने समेत बताए ।

बेलायतस्थित करिब ७४ वटा गुरुङ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको सो साधारणसभाको अन्त्यमा फोरम बोर्ड अफ काउन्सिलका असिस्टेन्ट चेयरमेन क्या. डेमबहादुर गुरुङले सबैलाई धन्यवाद दिएका थिए । फोरमका निर्देशक राजु गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई फोरमका सहनिर्देशक हरि गुरुङ र योगेश गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!