रोशन मेवाहाङ
लन्डन । बेलायतको दक्षिण पश्चिमस्थित वार्मिनिस्टरमा नेपाली समाज, बेलायती गोर्खा सैनिक र तिनीहरुका परिवारका लागि विएफविएस गोर्खा रेडियोले (व्रिटिस फोर्सेस बोडकास्टिङ सर्विस) ट्रान्समिटर थपेको छ ।
गोर्खा कम्पनी टेभोलेटोका सेनानी चन्द्रबहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महासेनानी जेजी रविन्सन सिविईले गोर्खा रेडियोको ट्रान्समिटर उद्घाटन गरेका हुन् । कार्यक्रममा विशेष अतिथि पूर्वगोर्खा कम्पनी टेभोलेटोका सेनानी प्रकाश गुरुङ एमभिओ, एएएसभिसीका परियोजना अधिकृत निकवियर र वार्मिनिस्टर नेपाली समाजक ाअध्यक्ष एक पुन उपस्थित थिए । अतिथिका रुपमा बाहलवाला तथा अवकाश प्राप्त गोर्खा सैनिक र तिनका परिवारको बाक्लो उपस्थिति थियो ।
बेलायती गोर्खा सैनिक र तिनका परिवारका लागि गाउँघरको समाचार, अन्तर्वार्ता, नेपाल दर्पण र विशेष परदेशीको सन्देशजस्ता कार्यक्रम सुनाउने उद्देश्यले बेलायती सैनिक मुख्यालयले गोर्खा रेडियो स्थापना गराएको हो ।
विक्रम संवत् २०५३ भदौ ११ गते औपचारिक रुपमा स्थापना गरिको विएफविएस गोर्खा रेडियो संसारभर प्रसारण भइरहेको छ ।
चौबिसै घण्टा सुन्न सकिने रेडियो मुख्यतय काठमाडौं, ब्रुनाई र लन्डन स्टेसनबाट सञ्चालन हुने गर्दछ । रेडियो च्यानल १२७८ किलोहर्ज एम प्रसारित रेडियोलाई बेलायतको दक्षिण पश्चिम अवस्थित विश्व सम्पदाको सूचीमा रहेको स्टोन हेन्जमा समेत नेपाली रेडियो सुन्न सकिने प्राविधिक समूहले बताएका छन् ।






