चिम्खोले काइँला
लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा प्रेमध्वज प्रधान पुरस्कृत भएका छन् ।
गत शुक्रबार लन्डनमा आयोजित विशेष समारोहमा वरिष्ठ गायक प्रधानलाई बसुन्धरा श्री पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशि ५० हजार रुपैयाँ र प्रमाण पत्र रहेका छन् । सो पुरस्कार बेलायतका लागि नेपाली राजदूत एवं साहित्यकार डा. दुर्गाबहादुर सुवेदीले स्थापना गरेका हुन् ।
वरिष्ठ गायक प्रधान मगर संघ यूकेको निमन्त्रणामा बेलायत आएका हुन् । उनी जून १ तारिख शनिबार मगर संघ यूकेले आयोजना गर्ने नेपाली ओपन कन्सर्टमा सहभागी हुनेछन् । समारोहमा प्रेमध्वजद्वारा स्वरबद्ध गीतहरु बेलायतवासी १० जना स्रष्टा सपनकुमार राई, शर्मिला बर्देवा, गंगा राई, थिर थापामगर, दिपक थापा, बिसी राई, आशिष राज, प्रमोद शर्मा, सितु खरेल, चोक गुरुङले प्रस्तुत गरेका थिए । गायक प्रधानले पनि ४ वटा गीत प्रस्तुत गरी दर्शकलाई मन्त्रमुग्ध पारे ।
कार्यक्रममा सयपत्री सांस्कृतिक ग्रुपले सांगीतिक धुन प्रस्तुत गरेको थियो । सम्पूर्ण कलाकारलाई राजदूत सुवेदीले सम्मानसमेत गरेका थिए । समारोहमा राजदूत सुवेदीले मगर संघ यूकेका नवनिर्वाचित अध्यक्ष सुनिल रानासहित कार्यसमिति, सल्लाहकार तथा पूर्वअध्यक्षहरुलाई सम्मान तथा बधाई दिएका थिए । कार्यक्रमको अन्त्यमा राजदूत सुवेदीले मगर संघ यूकेले वर्षौंदेखि आयोजना गर्दै आएको नेपाली ओपन कन्सर्टलाई राजदूतावासको पनि सहकार्य र सहयोग रहने आश्वासन दिए । उनले कन्सर्टमा सहभागी हुन सबैमा अनुरोध गरेका थिए । राजदूत सुवेदीको अध्यक्षतामा भएको व्शिेष समारोह सचिव शरदराज आरनले सञ्चालन गरेका थिए ।






