विजय गुरुङ, प्रायः सुन्धारा बागदरबार क्षेत्रमा भेटिन्छन् । ऐतिहासिक र सांस्कृतिक धरहराको ‘ठुटो’बाट दक्षिणपट्टी करिब १५ मिटरको दूरीमा विजयका चार होटलहरु छन्, सिंगापुर गेस्ट हाउस प्रा.लि.का दुई शाखा, होटल गोर्खा हेरिटेज र होटल बागदरबार । ती होटलहरुका व्यवस्थापनमा उनी दैनिक फन्को मार्छन् । भइपरिआउने कामबाहेक करिब २१ वर्षदेखिको उनको दैनिकी यसरी नै चलिरहेको छ ।

***
आइतबार अपराह्न एभरेस्ट टाइम्सकर्मी सिंगापुर गेस्ट हाउस पुग्दा पनि होटलहरुकै चाँजोपाँजो मिलाउन कुदिरहेका थिए, उनी । त्यही व्यस्तताबीच युवा व्यवसायी गुरुङसँग लन्चको टाइममा भलाकुसारी गर्ने मेसो मिल्यो । मिजासिलो र टाठो स्वभावका व्यवसायी गुरुङ महाशिला गाउँपालिका–५, (चारभञ्ज्याङ) पर्वतमा बाबा धनबहादुर गुरुङ र आमा देवी गुरुङको कोखबाट कान्छा सन्तानका रुपमा जन्मिएका हुन् ।
लाहुरे परिवारमा जन्मिएका उनी सानैदेखि व्यवसायी बन्ने सपना बुन्थे । ब्रिटिस आर्मीका बुबाले पनि छोराहरु आफूजस्तै आर्मी नबनुन् भन्ने चाहना राख्थे । बुवाकै सुझाव शिरोपर गर्दै र आफ्नो बालापनको इच्छालाई साकार पार्न उनी २०५५ सालदेखि होटल लाइनमा छिरे । ‘हामी आर्मी परिवारका मान्छे । सातजना बाजेहरु आर्मी, सातैजना अफिसर हुनुहुन्थ्यो । बुवाले सक्छस् भने धेरै पढ्, लाहुरेचाहिँ नबन भन्ने सबै छोराहरुलाई सजेस्ट गर्नुहुन्थ्यो’, गुरुङले विगत सम्झे, ‘सानैदेखि म व्यवसाय गर्न इच्छुक थिएँ । होटल लाइनमा लागेपछि बढी इन्टेस्ट जाग्यो, त्यसैले निरन्तरता दिएँ ।’
सिंगापुर पुलिसका इन्स्पेक्टर जेठा मामा जी एस घले र ब्रिटिस आर्मीका डब्लूओटु माइला मामा एच बी घलेले २०४४ सालमा काठमाडौं सुन्धारामा स्थापना गरेको सिंगापुर गेस्ट हाउस प्रालिमा उनी ०५५ सालमा रिसेप्सनिस्ट भए । जुनबेला व्यवसायी गुरुङ काठमाडौंमै उच्च शिक्षा पनि अध्ययन गर्थे । होटल क्षेत्रमा अवसर प्रदान गर्ने र व्यवसायमा अघि बढ्ने प्रेरणाका स्रोत मुख्य रुपमा मामाहरु नै भएको गुरुङ बताउँछन् । पढाइलाई विस्तारै पार लाउँदै २०५७ सालमा उनले बुवामार्पmत २० लाख रुपैयाँ लगानी गरी मामाहरुले खोलेको सिंगापुर गेस्ट हाउसको आफैं सञ्चालक बने । एक होटलबाट लगानी सुरु गरेका व्यवसायी गुरुङ अहिले करोडौंको मालिक बनिसकेका छन् । उनले आम्दानीमात्रै गरेका छैनन्, स्वदेशमै दर्जनौंलाई रोजगारीको अवसर दिलाएका छन् । त्यत्तिमात्रै होइन, गरे नेपालमा पनि सकिन्छ र सम्भावना छ भन्ने सन्देश दिन सफल छन्, गुरुङ । उनका चार होटलहरुमा अहिले ७० जना कर्मचारीहरु कार्यरत छन् ।
***
चारै होटल व्यवस्थापनमा आफूसँग दाहिने हातको रुपमा श्रीमती सम्झना गुरुङ सपोटर रहेको उनले बताए । गुरुङ दम्पती जति कुदे पनि चारै होटल व्यवस्थापन गर्न सकिने कुरो भएन । जहाँ सिस्टमको खाँचो थियो, त्यो डेभलप गुरुङ दम्पतीले गरेका छन् । ‘हाम्रो होटल सिस्टमले चलेको छ, त्यही सिस्टम फलोअप गर्ने हो’, कुराकानीका क्रममा व्यवसायी गुरुङले भने । व्यवसायलाई स्मुथ्ली हाँक्न हरेक होटलमा एक÷एक जना म्यानेजर नियुक्त गरेका छन् भने प्रत्येक डिपार्टमेन्टमा सुपरभाइजरहरु । अन्यमाजस्तै उनका होटलहरुमा रिसेप्सन, बार, किचेन, हाउसकिपिङ, सेक्युरिटी, स्टोर डिपार्टमेन्ट छुट्टयाइएको छ ।
***
व्यवसाय सफल बनाउन मिहिनेत, लगनशीलता र कर्तव्यनिष्ठ भइ समयको सही सदुपयोग गर्न सक्नुपर्ने ठम्याइ छ, गुरुङको । समयको बचत गर्न उनको परिवार होटलमै बस्छन् । आमाबुवा, जेठादाजु प्रकाश गुरुङ, भाउजु माला गुरुङ परिवारसहित बेलायत बस्छन् । माइला दाइ विकास गुरुङ, भाउजु सावित्री गुरुङका परिवार भने हङकङ बस्छन् । व्यवसायी गुरुङ भने श्रीमती र छोराछोराहरुसहित होटलमै बस्दै आएका छन् ।
***
परिवारका तीन दाजुभाइ र एक दिदीमध्ये कान्छा हुन्, विजय । सानो उमेरमै उनले चार होटल सफल ढंगले चलाएर परिपक्वता प्रदर्शन गरेका छन् । दुई वटा सिंगापुर, गोर्खा हेरिटेज मजाले सञ्चालन भइरहेका छन् भने होटल बागदरबार आउँदो महिनामै ओपनिङ गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइरहेका छन् । सबै होटल गरी पाहुनालाई एक सय कोठा व्यवस्था रहेको उनले बताए ।
सिंगापुर गेस्ट हाउस रिपुटेड भएकोले गेस्टहरु स्वतःस्फूर्त आइरहेको उनी सुनाउँछन् । उनका अनुसार आफूना गेस्टहरुले स्टाफहरुको व्यवहार, होटलको सरसफाइ, गुड सर्भिस, गुड हस्पिटालिटी, पारिवारिक र सुरक्षित वातावरण मन पराउने गरेका छन् ।
तपाईंहरुको होटलमा विशेष परिकार के छ ? भन्ने प्रश्नमा उनले जवाफ फर्काए, ‘नर्मल्ली नेपालीलाई मन पर्ने इन्डियन, चाइनिज, कन्टिनेन्टल, नेपाली खाना हाम्रोमा पाइन्छ ।’ गुरुङका होटलहरुमा पाहुना विशेषगरी यूके, सिंगापुर, हङकङ, जापान, कोरिया, अमेरिकामा बसोबास गर्नेहरु आउने गर्छन् । जसमध्ये नेपाली बढी हुन्छन् भने विदेशी पर्यटक पनि ओइरिन्छन् ।
***
व्यवसायी गुरुङका अनुसार गेस्टहरु एक, दुई पटकमात्रै होइन घरीघरी होटलहरुमा आउनुहुन्छ । ‘उहाँहरु पटक पटक आउनुहुन्छ । घरजस्तै मान्नुहुन्छ’, गर्विलो पारामा उनी भन्छन्, ‘रुम नभएको बेला स्टाफ रुममै सुत्छु । तर बाहिर जान्न भन्ने कतिपय गेस्ट पनि आउनुहुन्छ, उहाँहरुको भावना बुझेर नै मैले होटलहरु थप्दै गएको हुँ ।’ सिंगापुरको जस्तो हस्पिटालिटी अरुमा नपाउने गेस्टहरुले बताउने गरेको उनले सुनाए ।
***
बडो अचम्मको कुरो के छ भने गुरुङले होटलहरुको प्रचार गरिरहनु परेको छैन । ग्राहक आफैंले विज्ञापन गरिरहेको सञ्चालक गुरुङ महसुस गर्छन् । ‘प्रचारप्रसार खासै केही गरेको छैन । जो गेस्ट होटलमा छिर्नुहुन्छ । उहाँ छिरिसकेपछि आफ्ना प्mयामिली सर्कलरलाई हाम्रोमै रिफर गर्नुहुन्छ’, उनले प्रस्ट पार्दै भने, ‘हाम्रो व्यवहार, आतिथ्य सत्कारले खुसी भएर नै होला उहाँहरु आफैंले एड्भटाइज्ड गरिदिनुहुन्छ ।’ त्यही माथि सुन्धारा एरियाका होटलहरुमा अफ सिजन नलाग्ने भएकोले गुरुङको व्यवसाय फस्टाउनमा झनै मद्दत पुगिरहेको छ ।
***
गेस्टको आकर्षण बढाउने भूमिका सरसफाई, डेकोरेसनको अलावा स्वादिलो, हाइजेनिक भोजन र आतिथ्य सत्कार नै हो । कर्मचारीहरुको व्यवहार पनि गेस्टका लागि उपयुक्त हुनुपर्छ । सरकारले सामाजिक सुरक्षा कोष र मजदुरहरुको न्यूनतम पारिश्रमिक, श्रमिक ज्याला बेला बेलामा कानुन संशोधन गरेर तोक्ने गरेको छ । त्यही रुल फलो गर्दै आप्mना स्टाफहरुलाई सरकारले तोकेभन्दा थप सुविधा दिने गरेको सञ्चालक गुरुङ दाबी गर्छन् । ‘सुन्धारा एरियामा स्टाफहरुलाई वेस्ट सेलरी मैले दिएको छु । जसकारण १४, १५ वर्षदेखि कन्टिनिउ स्टाफहरु मसँगै छन्,’ उनले निर्धक्कसाथ भने, ‘मैले दिएको सेलरीमा खुसी भएर नै उनीहरु यत्ति लामो समयसम्म बसिराखेका छन् । स्टाफहरुलाई स्टाफको रुपमा मात्रै नभएर आफ्ना पारिवारिक सदस्यको रुपमा हेर्छु ।’
***
विजयको सफलताको सुत्रमा मिहिनेत, लगनशीलता त छँदैछ सँगसँगै उनी होटलको काममै इन्जोय गरिराखेका हुन्छन् । जसले गर्दा उनी दुःख र थकाइ र समय बितेको भेउ नै पाउँदैनन् । ‘कामप्रति लगनशील रहेर इन्जोय गरेपछि दुःख, समय बितेको र थकाइ पत्तो हुँदोरहेनछ’, गुरुङले भने, ‘यसैमा खुसी छु ।’ मान्छेको इच्छा र आवश्यकता असीमित हुन्छन् । रहरहरु जन्मिइनै रहन्छन् । करोडौं प्रोपर्टीको होटलहरु सञ्चालन गरिरहे पनि लक्ष्य चुम्न बाँकी नै रहेको व्यवसायी गुरुङ बताउँछन् । ‘होम टाउन भएकोले भविष्यमा पोखरामा स्टार लेभलको होटल खोल्ने प्लानिङमा छु’ उनले सुनाए ।
***
व्यवसायी गुरुङ युवा अवस्थादेखि नै सामाजिक काममा पनि रुचि राख्थे । व्यवसायको अलावा विभिन्न सामाजिक संघ संस्थाहरुमा इन्भल्व छन् उनी । समाजसेवाको सिलसिलामै गत फागुनदेखि नेपाल होटल व्यवसायी समाजको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । यसअघि पनि उनले ७ वर्ष सोही पदभार थामिसकेका थिए ।
यस्तै आप्mना गुरुङ समुदायका संघ संस्थामा पनि उनको संलग्नता छ । चारभञ्ज्याङ तमु समाज काठमाडौंको महासचिव छन् भने तमु बौद्ध सेवा समिति, कोने (घोताने घोन्डे) समाज नेपालजस्ता सामाजिक संस्थाहरुमा केन्द्रीय सदस्य रहेर उनले योगदान दिइरहेका छन् । उनले गत वर्ष चारभञ्ज्याङ तमु समाज काठमाडौं र कोने (घोताने घोन्डे) समाज नेपाललाई जग्गा किन्न र भवन निर्माणका लागि व्यक्तिगत रुपमा नगद ५–५ लाख रुपैयाँ सहयोग गरी उदारभाव देखाएका छन् ।
***
रोजगारीका सिलसिलामा दैनिक सयौं युवाहरु विदेसिनेक्रम अभैm मत्थर हुन सकिरहेको छैन । ब्रिटिस, सिंगापुरलगायत देशका सेना, प्रहरीमा भर्ती हुन जानेको ताँती पनि टुट्न सकेको छैन । यस्तै परिवेशमा पनि स्वदेशमै केही गर्नुपर्छ, केही गर्न सकिन्छ भन्ने इच्छा, अठोटले सराह्रनीय र प्रेरणादायी कर्म गरिरहेका छन् युवा युवसायी गुरुङ । नाफाको उद्देश्यमात्रै नलिई स्वदेशमै रोजगारी सिर्जना, पर्यटन र होटल व्यवसाय प्रवद्र्धन अनि राज्यलाई राजस्व जम्मा गराउने काम गरिरहेका छन् उनी । मातृभूमिको विकास र समृद्धिका पाइलामा अहोरात्र खटिरहेका विजय गुरुङलाई अझ विजयको शुभकामना !
प्रस्तुति : टीकाराम तामाङ






