पत्रकार एवं साहित्यकार ‘चिम्खोले काइँला’ को ‘मगर संघ यूकेः इतिहासदेखि वर्तमानसम्म’ सार्वजनिक

SHARE:

एटा संवाददाता
लन्डन । मगर संघ यूकेका पूर्वअध्यक्ष एवं पत्रकार, गीतकार, चलचित्रकर्मी, साहित्यकार दुत पुन ‘चिम्खोले काइँला’ को ‘मगर संघ यूके इतिहासदेखि वर्तमानसम्म’ नामक पुस्तक हालै सार्वजनिक
भएको छ ।

लेखक चिम्खोले काइँलाले गत जुन १ शनिबारका दिन फार्नबारो सम्पन्न एक कार्यक्रमबीच आफ्नो पुस्तक सार्वजनिक गरेका हुन् । सो अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, वरिष्ठ गायक प्रेमध्वज प्रधान, मगर संघ यूके अध्यक्ष ले.रि. सुनिल राना, मगर संघ यूके संरक्षक घनबहादुर थापामगर, जमुना पुन लगायतको विशेष उपस्थिति रहेको थियो ।

सो अवसरमा लेखक काइँलाले, ‘म विगत लामो समयदेखि मगर संघ यूके र यस पेरिफेरीका आम संघसंस्थासँग सहकार्य गर्दै प्रत्यक्ष या अप्रत्यक्षरुपले हरेक कार्यको साक्षी बनेको छु । मलाई लाग्यो मैले साक्षी बनेर देखेका र भोगेका अनि मलाई लागेका कुराहरु यत्तिकै राख्नु न्यायोचिन होइन । यी कुरा पुस्तकमार्फत् प्रस्तुत गर्नुपर्छ । यही कुराले डोर्‍याएपछि म पुस्तक लेख्नतिर लागेँ । मैले यस पुस्तकमा इमान्दरीपूर्वक मगर संघ यूकेको इतिहासलाई लिपिबद्ध गर्ने कार्य गरेको छु । कुनै कुरा ढाँटेर या बढाएर लेखेको छैन भन्ने कुरामा पनि म निश्चिन्त छु । मलाई लाग्छ, यो मेरो परम कर्तव्य हो । यद्यपि लिपिबद्ध गर्दा केही कमीकमजोरी हुन सक्छन् । कमजोरी पक्ष र थप्नुपर्ने कुरालाई यसको दोस्रो संस्करणमा समेट्ने छु । यसका लागि यहाँहरुको सही सल्लाह र प्रतिक्रियाको अपेक्षा पनि गर्दछु ।

म सोच्छु, मगर संघ यूकेको इतिहासलाई नबङ्ग्याइकन वास्तविक कुरा सोझो तरिकाले लेख्दाको कटु सत्य कतिपयलाई तितो भइदिन सक्छ । सत्य हुँदाहुँदै पनि तितो अनुभूतिले संस्था या कुनै व्यक्तिमा अप्ठ्यारो उब्जाइदिन सक्छ । यहीँनेर म भन्न चाहन्छु, मेरो कुनै व्यक्तिगत आग्रह या दुराग्रहका कारणले यस्तो भएको होइन । व्यक्तिगत रुपमा मेरो सबैसँग आपसी सद्भाव र उस्तै निकट सम्बन्ध छ । यही कारण कसैलाई कहीँ अप्ठ्यारो पर्न जान्छ भने म व्यक्तिगत रुपले क्षमा पनि माग्न चाहन्छु ।

इतिहास घुमाउरो, जटिल र सोलोडोलो हुनुहँदैन, यो त पानीजस्तै पारदर्शी र सहज भइदिनुपर्छ । जसले गर्दा वर्तमान र भविष्यका पाठकहरुलाई सत्यबोध हुन सकोस् । आखिर इतिहासले सत्य कुरा नै बोल्नुपर्छ । कहीँ झुटो बोल्यो भने वर्तमान र भविष्यलाई नोक्सान पुर्‍याउँछ । इतिहासमा सधैँ सत्य कुरा नै लेखिनुपर्छ र इतिहास वास्तविक कुराको सटिक खुराक नै हुनुपर्छ भन्ने मेरो मान्यता हो भने सामाजिक कार्यको नुहुमा पदको दुरुपयोग गरि व्यक्तिगत स्वार्थ लिने सामाजिक अभियन्ता हु भन्ने महानुभावहरुलाई खबरदारी पनि हो ।

यस पुस्तक लेखनकार्यमा विशेष सहयोग पुर्‍याउनुहुने मगर संघ यूकेका संस्थापक उपाध्यक्ष बिल पुर्जा, पूर्वअध्यक्ष नेम थापा, वर्तमान अध्यक्ष ले. सुनिल राना, सल्लाहकार राजेन्द्र राना, जगत थापा, बम थापा सूर्यवंशी, नेत्र आले, वर्तमान उपाध्यक्ष लाल पुन र वर्तमान महासचिव रुद्र थापा तथा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

सन २००२ मा जन्मेको मगर संघ यूके बालबालिका, केटाकेटी हुँदै हालमा सत्र वर्षे वयस्क जवान भएको छ । यस सत्र वर्षे वयस्क जवानलाई आजसम्म हुर्काउँदा, स्कुल पठाउँदा, ज्ञानगुनका सीपहरु सिकाउँदा तथा हरेक कुराहरुको अनुभव गर्दा अनेक उतारचढावहरु नआएका होइनन्, पटक पटक कुलतमा फसिसकेको वयस्क युवकलाई पटक पटक उद्धार गरिएको कुरा ध्रुव सत्य हो, अब यस वयस्क युवकलाई फेरि पनि कुलतमा फस्न दिन हँुदैन, यस युवकलाई कलेज पठाउन पर्ने छ, विश्वविद्यालय पठाउनु पर्ने छ तथा विद्यावारिधी गराउनु पर्ने छ, जसले गर्दा यस युवकले भविष्यमा सम्पूर्ण मगरहरुको हकहित र अधिकारको लडाइँ लड्न सकोस् ।

यस पुस्तक लेखनका लागि आँट थपिदिनुहुने तथा पुस्तकको भाषा सम्पादन गरिदिनुहुने नेपालका कुशल शब्दशिल्पी साहित्यकार तथा गीतकार भावेश भुमरीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस पुस्तकलाई प्रकाशन गरेर सहयोग गरिदेने सुरप्रभा गीतसङ्गीत प्रालिलाई हार्दिक धन्यवाद दिन चाहन्छु भने अति हार्दिकताका साथ पुस्तकको आवरण बनाउने तथा लेआवट गरिदिने भाइ सुरज व्यञ्जनकारलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु’, भने ।

लेखक चिम्खोले काइँला मगर संघ यूकेको महासचिव र अध्यक्षको भूमिकामा रहेर मगरहरुको हितमा महत्वपूर्ण काम गरिसकेका छन् । उनकै कार्यकाल फार्नबोरोमा मगर भवन खरिद गर्न सफल भएका थिए भने नेपालमा उच्च शिक्षा हासील गर्न चाहने मगरहरुको हौसला तथा उनीहरुको सहयोगार्थ ‘एक करोड’ रुपैयाँको अक्षय कोषको स्थापना गर्ने योजनालाई अगाडि बढाएका थिए ।

भूतपूर्व गोर्खा सैनिकसमेत रहेका चिम्खोले काइँलाले यसअघि थुप्रै गीत, कथा र कवितासंग्रह पाठकबीच पस्किसकेका छन् भने नेपाली चलचित्र ‘मेजर पेन्सन खाउली’ को कथा लेखन तथा निर्माण समेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!