मधुकर गुरुङ
लन्डन । नेपालमा सफल प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ को अल्डरसटस्थित एम्पायर हलमा रेड कार्पेट शो गरिएको छ । उक्त चलचित्र गत आइतबार २ जुनका दिन चलचित्र निर्देशक झरना थापा र नायिका सुहाना थापाको बिशेष उपस्थितिमा प्रदर्शन गरिएको थियो । सो चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पन थापा, रविन्द्र झा, रक्षा गौतम, रुपा घिसिङ्ग, सरोज खनाल, बिशाल पहारी लगायतको जोडदार अभिनय रहेको छ ।
उक्त चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने झरना थापाले निर्देशन गरेकी छन् । गतबर्ष मात्र उनैले निर्माण गरेको ‘मेरो हजुर २’ लाई दर्शकहरुले रुचाएका थिए ।
वियोगान्त प्रेम कथालाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त चलचित्रको दृश्य, छायांकन, कथा, संवाद, गीत आदि राम्रो रहेको दर्शकहरुको भनाइ थियो । यसै चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी सुहाना थापाले दर्शकको मन जित्न सफल भएकी छन् । पछिल्लो समय नयाँ पुस्ता आगमन भइरहेको अवस्थामा सुहानाको अभिनयले निरन्तरता पाउने संभावना देखिएको एकजना चलचित्रकर्मीले विश्वास व्यक्त गरे । त्यस्तै, दर्शकहरुले मन जित्न सफल हुँदै आएका नायक अनमोल केसीको अभिनय परिस्कृत हुँदै आएको देखिन्छ । साथै, नायक सलोन बस्नेतले हाँस्य कलाकारको भूमिकालाई राम्रो गरी निभाएका छन् ।
सपन इन्टरटेन्टमेन युकेको पहलमा पहिलो पटक बेलायतमा उक्त चलचित्र प्रदर्शन गरिएको हो । सपन इन्टरटेन्टमेनले यसअघि अनमोल केसीद्वारा अभिनित नेपाली चलचित्र ‘कप्तान’ को अल्डरसटमा बिशेष प्रदर्शन समेत गरेका थिए ।






