एटा संवाददाता
लन्डन । बेलायत भ्रमणमा रहेका पत्रकार दीपेन्द्र श्रेष्ठले बेलायतको अल्डरसट सहरमा एक दिने ‘भाषण कला तथा नेतृत्व विकास तालिम’ दिएका छन् । उनले गत शुक्रबार ३१ मे साँझ अल्डरसटस्थित एम्पायर हलमा भाषण कला सिकाए दिएका हुन् । श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष एवं रेडियो अन्नपूर्ण ९३.४ मेघाहर्ज पोखराका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । पोखरालाई केन्द्रमा राखेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका श्रेष्ठले पत्रकारिता, भाषण कला तथा नेतृत्व विकास, उत्प्रेरणा लगायतको विषयमा प्रशिक्षण दिँदै आएका छन् ।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले करिब ४ घण्टासम्म प्रशिक्षण दिएका थिए । उनको प्रशिक्षणबाट धेरै कुरा सिक्न पाइएकोमा एक सहभागीले खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तो खालको कार्यक्रम आयोजना गर्नसमेत सुझाव दिए ।
माउसटेल वेभ सर्भिसेज, गोर्खा इन्फरमेशन म्यानेजमेन्ट र गोर्खा मिडियाको आयोजनामा सम्पन्न भएको प्रशिक्षणमा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा माउसटेल वेभ सर्भिसेजका मान गुरुङले इम्पावरमेन्ट ईभेन्टको बारेमा बोलेका थिए भने गोर्खा मिडियाका मिलन तमुले धन्यवाद र गोर्खा इन्फरमेशन म्यानेजमेन्टका पूर्ण गुरुङले श्रेष्ठको संक्षिप्त परिचय दिएका थिए ।
कार्यक्रमलाई एम्पायर हल, फोनिज यूके, एफएनजे यूके, सपन इन्टरटेन्टमेन, एभरेस्ट टाइम्स र पोखरेली मञ्च यूकेले सहकार्य गरेका थिए । त्यस्तै, कार्यक्रमलाई गोर्खा बुलियन, ओम्रो क्लोथ र सकुन फेशनले प्रायोजन गरेका थिए ।
नेपाली समुदायको नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति, डायोस्पोराका पत्रकारहरुले प्रशिक्षणको माग गरेकोले प्रशिक्षणको आयोजना गरिएको आयोजकले बताए ।






