नेपाली ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न, वरिष्ठ गायक प्रेमध्वज प्रधानको विशेष प्रस्तुति

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त चर्चित नेपाली ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ यूकेको आयोजनामा गत शनिबार १ जुनका दिन ‘म्यूजिक फर यूनिटी’ नाराका साथ फार्नबोरोस्थित फोर्नबोरो स्टडियममा सम्पन्न भएको हो । कन्सर्टमा नेपाली सांगीतिक क्षेत्रका धरोहर ८२ वर्षीय वरिष्ठ गायक प्रेमध्वज प्रधानले विभिन्न चर्चित गीतहरु गाएका थिए ।

चर्चित लोकगायक कुलेन्द्र बिक, शान्तिश्री परियार, कुमारी चेपाङ्ग, निखिता थापा, पवन राना, सञ्जय गुरुङ, कुमार पुन लगायतले विभिन्न लोक तथा दोहोरी गीत र आधुनिक गीतहरु गाएका थिए । त्यस्तै, सलिना थापा, नेपाली चलचित्र नायक धिरज मगर, दिपक मैथाने मगर लगायतले विभिन्न गीतमा उत्कृष्ट नृत्य प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा गायक तथा गायिकाहरुले ‘यो नेपाली शिर उचाली, गलबन्दी, सालको पात लगायत चर्चित गीत गाएर धेरैजसो दर्शकलाई झुमाएका थिए । कार्यक्रमको सुरुआतमा धौलागिरि नौमती बाजाको समूहले बाजा बजाएर अतिथिहरुको स्वागत गरेका थिए भने अन्त्यमा जोडदार प्रत्यक्ष दोहोरी गीत प्रस्तुत् गरिएको थियो । मगर संघ यूकेले ओपन कन्सर्टको सुरुआत गरेदेखि नै नेपालबाट कलाकारहरु निमन्त्रणा गरी कन्सर्टलाई नेपाली संगीतमय बनाउँदै आएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय रस्मोर बरो काउन्सिल मेयर सु कार्टर र वरिष्ठ गायक प्रेमध्वज प्रधान विशेष अतिथि रहेका थिए । सो अवसरमा नेपाली राजदूत डा.सुवेदीले कन्सर्टले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, उनले वरिष्ठ गायक प्रधानले नेपाली संगीतमा दिएको योगदानको प्रशंसा गरे ।


त्यस्तै, विशेष अतिथि मेयर कार्टरले शुभकामना मन्तव्य दिएकी थिइन् भने मगर संघ यूके अध्यक्ष ले.रि. सुनिल रानाले मगर संघ यूकेले गर्दै आएको कार्यक्रमहरुको बारेमा जानकारी दिँदै सबैलाई स्वागतका साथ उपस्थितिको लागि धन्यवाद दिए ।
नेपाली कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २००७ देखि आयोजना गर्दै आएको कन्सर्टमा २ वटा खानाको स्टलसहित व्यापार तथा व्यवसायीहरुको स्टलहरु समेत रहेको थियो । स्टल अवलोकन गर्ने दर्शकहरुको संख्या पनि कम थिएन ।

करिब ५००० जना दर्शकको उपस्थिति रहेको सांस्कृतिक कार्यक्रमलाई सूर्य गुरुङ, मिस यूके नेपाल २०१६ टेनिसा राना र दिनेश रोकाले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि मगर संघ यूकेकी साँस्कृतिक सचिव तन्याङ्ग सरु राना मगर र सहसचिव रुक आले लगायतले विशेष भूमिका खेलेका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, ग्रेटर रसमुर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, स्थानीय सांसद लियो डोचार्टी, स्थानीय काउन्सिलर प्रवेश केसी, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी, आईडिया फर नेपालका सिईओ गोकर्ण श्रेष्ठ, चिनचिन लगायत अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्नका लागि मगर संघ यूके सल्लाहकार राजन राना, उपाध्यक्ष छविमाया पुन, कोषाध्यक्ष होम रोका, सल्लाहकार दल थापा, थमन रोका, गणेश बुढाथोकी लगायतले विशेष भूमिका खेलेका थिए । त्यस्तै, कार्यक्रमलाई सफल बनाउन मगर संघ यूकेका हरेक शाखाले आर्थिक सहयोग सँगसँगै शाखा अध्यक्ष लगायत सिंगो कमिटी स्वयंसेवा खटिएका थिए ।

सुरक्षालाई विशेष ध्यान दिइएको कार्यक्रममा फस्ट एडर, एम्बुलेन्स र सेक्युरिटीको समेत व्यवस्था गरिएको थियो । त्यस्तै, स्थानीय प्रहरीको समेत विशेष निगरानी रहेको थियो ।

मगर संघ यूकेका अध्यक्ष ले.रि. सुनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर संघ यूकेकी वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक सीता पुनले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव रुद्र थापाले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!