नगेन्द्रराज नेम्वाङ
सबै मान्छे स्वास्थ्य र आनन्द जीवन बाँच्न चाहन्छन् । सानो परिवार सुखी परिवार चाहन्छन् घर परिवार, छरछिमेक हँुदै समाजभित्र नियालेर हेर्ने हो भने स्वास्थ्य र आनन्दित व्यक्ति बिरलै पाइन्छ ।
यसै सन्दर्भमा प्रेमको व्याख्या गर्ने हो भने प्रेम उर्जा हो र प्रेम शक्ति पनि हो । प्रेम मनको अवस्था पनि हो । प्रेम आकर्षण पनि हो । जुन चिजले आकर्षण गर्दछ, त्यसप्रति प्रेम लगाव भइरहेको हुन्छ । जहाँ प्रेमको आभाष पाइन्छ, त्यहाँ आनन्द पनि प्राप्त गर्न सकिन्छ । प्रेमको अभावमा बाँच्न असहज हुन्छ । शरीरलाई रोग लाग्छ, मानसिक पीडा सुरु हुन्छ । मानिसको शरीरको कुनै अंगमा आकर्षण हुन्छ । जुन चिजले उसलाई सुहाइरहेको हुन्छ वा उसको शरीरको सौन्दर्य बढाइरहेको हुन्छ । कोहि मान्छे हाँस्नेबित्तिकै गालामा डिम्पल बसिदिन्छ । डिम्पलले म्याच गरिरहेको हुन्छ अनुहारको सुन्दरतामा । कुनै मान्छेको आकर्षण आँखामा हुन्छ भने कसैको दाँतमा हुन्छ । दाँत मिलिरहेको छैन तर पनि हाँस्न थाल्दा दाँतले सुहाइरहेको छ भने आकर्षण दाँतमा रहेछ भनि बुझ्न सकिन्छ । यसलाई दन्ते मोहनी पनि भन्ने गरिएको छ ।
आकर्षण आवाजमा पनि हुन्छ । कोही मान्छे बोलिरहेको अवस्थामा उसको बोली सुन्नाले आनन्द अनुभव भएमा उसको बोलीमा आकर्षण रहेछ भनी बुझ्न सकिन्छ । प्रकृतिसँग पनि प्रेम गर्न सकिन्छ । हिमाल, खोलानाला, पहाड, झरना, डाँडाकाँडा, वनजंगल देख्नेबित्तिकै मनमा एक किसिमको आनन्द महसुस गर्न सक्नु पनि प्रकृतिप्रति आकर्षण हो । आकर्षण नै प्रेम हो । अर्को शब्दमा भन्नु पर्दा प्रेम बुझ्नलाई मनको अवस्था विचारबाट भावनामा प्रवेश गर्नु पर्दछ । मनको अवस्था, विचार र भावनामा इमोशन हुन्छ ।
विचारमा मानसिक दुःख हुन्छ, भावनामा आनन्द हुन्छ, इमोशनमा रिस र शक्ति हुन्छ । विचार, भावना इमोशनलाई नियन्त्रण गर्न अर्थात् गहिरिएर बुझ्नका लागि योग, ध्यान र साधनाको आवश्यकता पर्दछ ।






