काठमाडौं । लामो समयदेखि नेपाली जनताले धेरैपटक सुनेको शब्द हो– समृद्धि । हरेक नेताको भाषणमा नछुट्ने शब्द पनि हो– समृद्धि । राजनीतिक दलको चुनावी घोषणापत्रमा धेरै रटानका साथ उठाइएको एजेण्डा हो– समृद्धि । पछिल्लो सरकारको मुख्य लक्ष्य नै हो– समृद्धि ।
खासमा हो चाहिँ के त समृद्धि ? देश समृद्ध वा जनता समृद्ध ? अहिले व्यापक बहसको विषय बनेको छ । त्यस्तै समृद्ध मुलुक कसरी बन्छ ? मुलुकमा के भयो भने समृद्ध हुन्छ ? सबैको चासोको विषय बनेकै छ । तर, नेताहरु समृद्ध मुलुक बनाउने, सुखी नेपाली र खुशी नेपाली बनाउने भनेर सरकारको रटान दिक्दार लाग्दो भइसकेको छ ।
वर्तमान स्थिति
लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिएको नेपाल अब भने समृद्धितर्फ लम्कनै पर्ने बाध्यात्मक परिस्थति छ । समृद्धि सबैको चाहना हो । जनताको चासोको विषय हो । पा“च वर्ष स्थिर सरकारले विकास र समृद्धिलाई प्रथामिकतामा राखेर अघि बढिरहेको छ । देशको आर्थिक समृद्धि मात्र नभइ समग्र क्षेत्रको समान पहु“च र पावरका आधारमा विकासले गति लिन र दिन सरकार लागि परेको छ । सरकारले आफनो पाँच वर्षे कार्यकाललाई सुखी नेपाली समृद्ध नेपालको नारा दिएको छ ।
समृद्धिका लागि सरकारले राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो सम्बन्धलाई थप मजबुद बनाउन लागिपरेको छ । विकास र समृद्धि आमजनताको चाहना नहुने कुरै भएन । तर अहिलेसम्म विकासका आश्वासन बाहेक जनताले केही पाउन सकेका छैनन् । साना साना खुसीमा समेत रमाउने आमजनता ठूला सपना देख्न थालिसकेका छन ।
संबिधान जारीपछि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न सकिएपछि राजनितक द्वन्द्ध पाँच वर्षको लागि अन्य भएको छ । निर्वाचनबाट पाँच वर्ष स्थिर सरकारले शासन सञ्चालन गरिरहेको छ । विकास र सृमृद्धिको बाचाका साथ जनताको मत पाएको अहिले कम्युनिष्ट सरकारप्रति धेरै नेपालीले आशा र भरोसा गरिरहेका छन । लामो समयको राजनितिक अस्थिरता र संक्रमणकालको अन्त्यसंगै अब मुलुक विकास र समृद्धितर्फ उन्मुख हुने अपेक्षा राजनीतिक दलहरुको रहेको छ ।
राजनीतिक संक्रमणको अन्त्यसँगै आमजनताका आशा र अपेक्षा बढ्दो छ । नेपालमा देखिएको गरिबी, बेरोजगारी, दिन प्रतिदिन बढिरहेको छ । महंगीबाट मुक्तिको आशा धेरैले गरिरहेका छन् । राजनितिक नेत्तृत्वबाट विकास र समृद्धिको आश्वासन पाउन लागेको पनि धेरै भयो तर अझै पनि आश्वासनमै सीमित बन्नुपरेको छ । अहिले राजनीतिक दल भित्रका केही नेता र हुने खाने वर्गका लागि व्यक्तिगत समृद्धि प्राप्त छ । तर, आभारतभूत वर्ग दैनिक श्रम गरेर दुई छाक खाने आधारभूत वर्ग सँधै नेता र सरकारी मान्छेको आश्वासनको भरमा समृद्धिका लागि आशावादी बन्नुपर्ने नियती छ । आम जनता आफनो भन्दा पनि आफ्नो पुस्ताको लागि समृद्धि खोजी रहेका छन ।
निर्वाचनका बेला भोटका लागि जनतासँग समृद्धि र बिकासको बाचा गर्नेहरु व्यक्तिगत स्वार्थ र लाभका लागि मरिहत्ते गरिरहेका छन् । जसका कारण जनता समेत समृद्धिको आशा तुहिने हो कि भन्ने आशंका गरिरहेका छन् ।
दलका नेताहरुकै दाबी अनुसार सिंहदरबार गाउँगाउँमा पुगिसकेको अवस्थामा अब तिब्र गतिको आर्थिक विकास हुन जरुरी छ । भौतिक विकासको आडमा हुने आर्थिक विकास मात्र होइन, जनस्तरको खुशी र सन्तुष्टिको मापदण्डका आधारमा समृद्धिको खोजी हुन जरुरी छ । त्यसैले दुई तिहाई बहुमतको साथ पा“च वर्षे स्थिर सरकाबाट जनताले देशको अभूतपूर्व विकास र समृद्धिको धेरै आशा र अपेक्षा गर्नु अस्वभाविक होइन । आम जनताले अझै पनि विकास र समृद्धिको प्रारम्भिक लक्षणहरु समेत अनुभूति गर्न नसकेको राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईँ बताउँछन् ।
कसरी हुन्छ त समृद्ध देश ?
इच्छाशक्ति हुने हो भने नेपाललाई समृद्ध बनाउनसक्ने कैयौं आधारहरु छन् । ती आधारलाई उपयोग मात्र गर्न सक्ने हो भने आम जनता खुशी बन्नसक्छ । जहाँ खुशी मिल्छ, जहाँ शिक्षा, स्वास्थ्य, रोजगारका सम्भावनाहरु देखा पर्छन्, जहाँ मुलुकको अर्थतन्त्र बलशाली बन्दै जान्छ, जहाँ जनताको आधारभूत मानवअधिकारको रक्षा हुन्छ, त्यहाँ समृद्धि प्राप्ति हुन्छ ।
मुलुकको समृद्धिका बाधक पक्ष भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचार अन्त्य नगरुञ्जेल मुलुकले समृद्धि हासिल गर्न सक्दैन । जनता खुशी हुन सक्दैन । त्यसको सुरुवात सबैभन्दा पहिला राजनीतिक नेताहरुबाट हुनुपर्छ । राजनीतिक दलका नेताहरुले भ्रष्टाचार नगर्ने र नगराउने हो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ । नेताहरु नै भ्रष्टाचारको मुख्य जड हो । त्यस्तै निजामति कर्मचारीबाट जनता वाक्कदिक्क छन् । कर्मचारीहरुले प्रवाह गर्ने सेवा जनमुखी छैन । पैसा नदिइ, कुनै सेवा सुविधा नदिई कर्मचारीले काम नगर्ने आमगुनासो कम हुन सकेको छैन । अझ व्यापक बनेको छ ।
त्यसैले पनि सरकारी सेवामा रहेका कर्मचारी जनमुखी बन्न सक्नुपर्छ । त्यसको सुरुवात हुन नसक्दा समृद्ध मुलुकको नारा कतै कागजमा सीमित हुने त होइन भन्ने आशंका बढेको छ । तर, पनि नेपालमा सम्भावनाको व्यापक क्षेत्र छ । ती क्षेत्रमा केही फड्को मार्ने मात्र हो भने मुलुकमा विकास हुनसक्छ । समृद्ध बन्नसक्छ ।
कृषिमा क्रान्ति
कृषिबाट समृद्धि ल्याउने हो भने अन्न भण्डार तराईका भूभागमा व्यावसायिक कृषि आवश्यक छ । त्यसको लागि उन्नत मल बिउको साथै सिचाईको व्यवस्था हुनु आवश्यक छ । नेपालमा करिब २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन भएको अनुमान छ । कृषियोग्य जमिन दिन प्रतिदिन कम भइरहेको छ । कृषि योग्य भूभागलाई छुट्टाएर सिंचाई सुविधा पुर्याउन सक्ने हो भने समृद्ध नेपालको एउटा आधार बन्न सक्दछ ।
अहिलेको कृषि प्रणाली समेत परम्परागत छ । व्यावसायिक कृषि पेशामा लाग्ने हो भने कृषि प्रधान देश आत्मनिर्भर बन्न सक्दछ । तर धेरैले पहिलेदेखि कृषि क्रान्ति बहस भए पनि अहिलेसम्म कृषिलाई त्यति महत्व दिइएको छैन । अहिले दुई तिहाईको कम्युनिष्ट सरकारले आर्थिक समृद्धिको आश्वासन बाँडिरहँदा कृषिको व्यावसायीकरण कसरी हुन सक्दछ भनेर ठोस कार्यदिशा बन्न नसक्दा समृद्धिको बहस बहसै मात्र सीमित हुन्छ कि भन्ने चिन्ता पनि उत्तिकै छ । त्यसैले कृषि क्रान्ति जरुरी छ ।
जलस्रोतको सम्भावना, लोडसेडिङको मार
आर्थिक समृद्धिको अर्को प्रमुख आधार जलबिद्युत हो । ८३ हजार मेगाभन्दा बढी उर्जा क्षमता भएको मुलुक नेपाल हो । तर, अहिलेसम्म एक हजार मेघावाटसम्म पनि बिजुली उत्पादन हुन सकेको छैन । वर्षौदेखि लोडेसेडिङको मारमा परेको मुलुक विद्युत प्राधिकरणको व्यवस्थापन र भारतबाट आयातित बिजुलीको भरमा बल्लतल्ल नाम मात्रको लोडसेडिङ मुक्त बनेको छ ।
अझै पनि लोड व्यवस्थापन राम्रोसँग नहुँदा अघोषित रुपमा लोडसेडिङ खेप्नुपरिरहेको छ । पछिल्लो समय लोडसेडिङ अत्यसँगै अब उर्जा उत्पादन र निर्यातमा जोड दिन थालिएको छ । सरकारले समृद्धिका लागि १० वर्षभित्र १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिका लागि स्वार्थ समूहहरुको प्रभावमा नपर्ने हो भने आर्थिक समृद्धिको लागि जलस्रोत नेपालको लागि बरदान नै सावित हुनसक्ने देखिन्छ ।
हिमालदेखि तराईसम्म जडिबुडी
देशलाई समृद्ध बनाउका लागि अर्को आधार भनेको नेपालका लागि जडिबुटी नै हो । नेपाल त्यस्तो मुलुक हो जहाँ हिमालय पर्वतदेखि तराईको चारकोशे झाडीसम्म जडिबुटीको अपार सम्भावना छ । हिमालमा अमूल्य जडिबुटीलाई सदुपयोग गरेर अधिक मुनाफा लिन सक्ने अवस्था छ ।
अहिले बिश्वमै यल्लोपेथिक भन्दा आयुर्बेदिक औषधीको प्रयोगमा जोड दिइँदै आएको छ । हाम्रो मुलुकका जडिबुटीलाई पहिचान गरी औषधी उद्योग मात्र खोल्न सकियो भने समृद्धि धेरै टाढाको बिषय हुने छैन । यति मात्र होइन नेपालका दुर्लभ जडिबुटी खेर गरिरहेको छ । यसलाइ्र्र समयमै पहिचान गरेमात्र हामी समृद्ध बन्न सक्ने आधार छ ।
प्रवल सम्भावना पर्यटनको
सुन्दरको जति वर्णन गरेपनि नेपाल जस्तो प्राकृतिक रुपमा स्वर्ग जस्तो मुलुक संसारमै बिरलै पाइन्छन् । धेरै पर्यटनहरु नेपाल आएपछि मात्र लालायित हुन्छन । सर्वाेच्च शिखर, पहाडको सौदर्य दृश्यदेखि तराईका फाँट नेपालका लागि पर्यटनमा सम्भावना भएका क्षेत्र हुन् ।
प्राकृतिक सौन्दर्य होस वा धर्मिक आस्थावानका लागि पशुपति, मुक्तिनाथ, स्वयम्भु, लुम्बिनी, देवघाट लगायतका धार्मिकस्थल पर्यटनबाट समृद्ध बन्न सक्ने अवस्था छ । यसका लागि व्यापक रुपमा प्रचार, आन्तरिक व्यवस्थापन, सेवा र सुविधामा व्यापक जोड दिनुपर्छ । त्यसका लागि सरकारको स्पष्ट नीति आवश्यक छ ।
यी क्षेत्रहरु नेपालको समृद्धिका लागि एउटा महत्वपूर्ण क्षेत्रहरु हुन् । विकास र समृद्धिका लागि कहाँबाट सुरु गर्ने भन्ने अन्यौलताचाहिँ पक्कै भएकै छ । देशमा व्यापक सम्भावना छ भनेर हात बाँधेर बसेर भने हुँदैन । कोही कसैले गरिदेलान भनेर पनि हुँदैन । खासमा समृद्धिका लागि आआफ्नो ठाउँबाट सुरु गर्न सक्नुपर्छ । त्यसका लागि सरकारले वातावरण बनाउन सक्नुपर्छ






