काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताएका छन्।

संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले अतिकम विकसित र भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा नेपालले उठाएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, “मैले संविधान जारी भएसँगै राजनीतिक स्कटकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई टु्ंगोमा पु¥याएको र नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषयसहित १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृृद्धिको दिशा र सुशासनको नीतिका बारेमा धारणा राखेँ ।”
ओलीले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताए। उनले भने, ‘यो सरकार पाँच वर्षसम्म चल्छ। चुनाव गराउँछ र यो भन्दा बलियो भएर आउँछ।’ नेकपाकै नेताले सरकारको आलोचना गरेकोप्रति इंगित गर्दै उनले अस्थायी कुरा र हल्लाका पछाडि नकुद्न आग्रहसमेत गरे। ‘हावा चल्यो, हावामा पात बह्यो भने त्यस्तो राजनीतिको पछाडि कुद्ने होइन’ ओलीले भने, ‘मान्छेलाई कहिलेकाहीं चित्त बुझेको हुँदैन। कवितात्मक ढंगले, लयात्मक ढंगले केही कुरा भनिहाल्यो भने त्यसैलाई समातेर एकदम कुद्नुपर्ने केही पनि छैन।’उनले कुनै दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका यथार्थ समस्या सम्झिने राजनीति नगर्न आग्रह पनि गरे।
प्रधानमन्त्री ओली अमेरिका रहँदा सत्तारुढ नेकपाकै वरिष्ठ नेता माधव नेपालले संसद् बैठकमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए। ओली नेतृत्वको टोली गत असोज ६ गते न्यूयोर्क प्रस्थान गरेको थियो।






