एटा संवाददाता
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिम्खोलाका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काइँला) ले १० लाख रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेका छन् ।
आफ्ना दिवंगत बुबा शेरबहादुर र आमा जनिमा गर्बुजा (शेर–जनिमा) को चौथो स्मृति दिवसको अवसरमा हाल बेलायत बस्दै आएका चिम्खोले काइँलाले चिम्खोलाका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षय कोष स्थापना गरेका हुन् । दुर्गमका बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययनमा आकर्षित गरी शैक्षिक जनशक्ति उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । अक्षय कोषबाट हरेक वर्ष चिम्खोला गाउँबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधीमा अध्ययनरत विद्यार्थीको शैक्षिक शुल्कमा सहयोग पुग्नेगरी कम्तीमा एक लाख प्रदान गर्ने समाजसेवी काइँलाले बताए ।
हालै जन्मथलो चिम्खोला पुगेका समाजसेवी काइँलाले अक्षयकोषमार्फत यो वर्ष रु ५० हजार रकम दुई विद्यार्थीलाई वितरण गरेका छन् । सो कोषबाट चिम्खोला निवासी हाल इन्जिनियरिङ कलेजमा अध्ययनरत धविन पुन र म्याग्दी बहुमुखी क्याम्पस बेनीमा ऐच्छिक अंग्रेजी विषयमा बिएड (स्नातक) अध्ययन गरिरहेकी अनिता सुनुवारलाई जनही २५/२५ हजार रुपैयाँ दिइएको हो ।
गलेश्वरधामको वृद्धवृद्धा आश्रममा भोजन दान
हालै आफ्नो गृहगाउँ चिम्खोला पुगेका चिम्खोले काइँलाले गलेश्वरस्थित गलेश्वरधामको वृद्धवृद्धा आश्रममा भोजन दान गरेका छन् । अमर मावि चिम्खोलाका पूर्व शिक्षकसमेत रहेका काइँलाले स्व.बाबाआमाको स्मृतिमा आश्रमका ज्येष्ठ नागरिकलाई रकमसहित भोजन दान गरेका हुन् । उनले सो अवसरमा पितृ उद्धार कोषमा रु. २० हजार दिँदै चलचित्र मेजर पेन्सन खाउली प्रदर्शन गरेर वृद्धवृद्धाहरुलाई मनोरञ्जन दिलाएका थिए । समाजसेवी काइँलाले यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए युके) को नेतृत्वमा गलेश्वरमा निर्मित वृद्धाश्रमलाई रु ५० हजार सहयोग गरेका थिए ।
सो अवसरमा भूतपूर्व गाविस अध्यक्ष एवं सुवेदार नन्दप्रसाद पुन, श्रीमती पौकाकारी पुन, हस्तकुमार गर्बुजा, श्रीमती नेत्र गर्बुजा, छोरीहरु प्रिया पुन, मेगोमी गर्बुजा, छोरा लिंकन गर्बुजाले पनि आश्रममा पुगेर वृद्धवृद्धाहरुलाई दान गरेका थिए । कार्यक्रमको संयोजन गलेश्वरधामका कोषाध्यक्ष बमबहादुर पुनले गरेका थिए ।






