एटा संवाददाता
लन्डन । ‘फूलको आँखामा फुलै संसार…’ लगायत चर्चित गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल नेपाली बुद्धिष्ट आनी छोइङ डोल्माले आउँदो जुलाई ७ साँझ रेडिङ्गस्थित रिभरमेड लेजर सेन्टरमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएकी छन् ।
गत आइतबार २३ जुन साँझ अल्डरसटस्थित एम्पायर हलमा बुद्धिष्ट गुम्बा रेडिङ्गले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । कार्यक्रममा बुद्ध धर्मसँग सम्बन्धित गीत, प्रवचन र सांगीतिक धुनहरु बजाइने छ ।
आयोजक बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेमबहादुर गुरुङले बुद्धिष्ट गुम्बा रेडिङ्ग आफ्नो धर्म र संस्कार संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २०१८ मा स्थापना भएको जानकारी गराउँदै सो संस्थाको गुम्बा निर्माण सहयोगार्थ आनी छोइङ डोल्मा कन्सर्ट च्यारिटी नाईट कार्यक्रम आयोजना गर्न लागिएको बताए । साथै, कार्यक्रममा गायिका डोल्मा सँगसँंगै प्रिन्स नेपाली (सारंगी वाद्यक), न्ह्यू बज्रचार्य (संगीतकार), रमन महर्जन (बाँसुरी वादक) र सुन्दरकुमार महर्जन (ड्रमर) नेपालबाट आउने महासचिव कमल गुरुङले जानकारी गराए । उनले प्रतिव्यक्ति ५० पाउन्ड प्रवेश शुल्क राखिएको कार्यक्रममा ७०० जनाले सहभागी हुने जानकारी गराइसकेको र करिब १००० जनाको उपस्थिति रहने अपेक्षा गरिएको बताए ।
पत्रकार सम्मेलनमा गुम्बा निर्माण सहयोगार्थ १ लाख साठी हजार पाउन्ड संकलन भइसकेको र धेरैजनाले प्रतिबद्धता व्यक्त गरिसकेको आयोजकले जानकारी गरायो । करिब ५ देखि ७ लाख पाउन्डसम्मको रेडिङ्गमा गुम्बा खरिद गर्ने योजना रहेको समेत उनले जानकारी दिए । र, आफूहरुको सो परियोजना करिब ३/४ वर्षमा पूरा हुने विश्वास व्यक्त गरे ।
साँझ साढे ५ बजेबाट सुरु हुने सो कार्यक्रममा आनी डोल्माको एकल गायन प्रस्तुति रहने छ । सांगीतिक कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरुले अनलाइनका साथसाथै आयोजकबाट पनि टिकट उपलब्ध हुने आयोजकले बताए ।
पत्रकार सम्मेलनमा बुद्धिष्ट गुम्बा रेडिङ्गका कोषाध्यक्ष मेजर बुद्धि गुरुङ, आमा समूहकी अध्यक्ष एवं ट्रष्टी रजनी गुरुङ, ट्रष्टी उषा गुरुङले समेत पत्रकारहरुको जिज्ञासालाई मेटाएका थिए । सो अवसरमा कान्तिपुरका नविन पोखरेल, नेपाली पत्रका ध्रुवराज अर्याल, शितलपाटीका वाचस्पति रेग्मी, एभरेष्ट मिडियाका एसके गुरुङ लगायत पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।
बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव कमल गुरुङले संचालन गरेका थिए । सो अवसरमा बुद्धिष्ट गुम्बा रेडिङ लगायत समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।






