नगेन्द्रराज नेम्वाङ्ग
लन्डन । पाँचथर समाज सेवा यूकेको १२ औं वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गत शनिबार २२ जुनका दिन फार्नबोरोस्थित सामुयल कोडी कलेजमा विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रमलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र पाँचथर समाज सेवाका अध्यक्ष चन्द्र सुन्दासले
दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा समाज १२ वर्ष पुगेको अवसरमा प्रकाशित स्मारिकालाई प्रमुख अतिथि डा. सुवेदी, समाजका अध्यक्ष सुन्दास, विशेष अतिथि र सल्लाहकारहरुले विमोचन गरेका थिए । सो अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तब्य दिँदै कार्यक्रम सफल भएको र अर्को वर्ष पुर्वेली लोकभाका र धान नाचबाट कार्यक्रम सुरु गर्नुपर्नेमा सुझाव दिए ।
विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत् गरिएको कार्यक्रममा प्रभु गुरुङ, सुवास गुरुङ, एलिजा गुरुङ र पुष्पा गुरुङले विभिन्न नेपाली गीतमा आकर्षक नृत्य गरेका थिए । त्यस्तै, नेपालबाट आएका गायक ब्रबिन शेर्मा, स्थानीय कलाकारहरु बीर नेम्वाङ्ग, गायक तारा लक्समले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए ।
कार्यक्रममा हालै शैक्षिक योग्यता हासील गरेका विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । त्यस्तै, पाँचथर कप फुटबल प्रतियोगितामा खटिएका सदस्यहरुलाई समेत प्रशंसा पत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव टेक सुहाङ्गद्वारा राफल ड्र को संयोजन गरेका थिए भने उपाध्यक्ष यदु लावतीले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए ।
करिब २०० जनाको उपस्थिति रहेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूके अध्यक्ष जंग सुनुवार, धनकुटा समाज यूके अध्यक्ष पूर्ण लिम्बु, तेर्हथुम समाज यूके अध्यक्ष डम्मर सिंघक, धरान समाज यूके अध्यक्ष सूर्यमान गुरुङ, सेवारो कलाकार संघ उपाध्यक्ष रिता फोम्बो लिम्बु, ताप्लेजुङ्ग समाज यूके अध्यक्ष वुद्धि दर्नाल लगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष चन्द्र सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ्गले स्वागत मन्तब्य राखेका थिए भने महासचिव खुशी तावा लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए ।






