तस्वीर :मिलन तमु
लण्डन । नेपाली समुदायबीच बेलायतमा अत्यन्त चर्चित ‘नेपाली मेला’ तयारीबारे नेपाली राजदूतावास लण्डन र आयोजक तमुधिं युकेबीच छलफल भएको छ । बुधबार २६ जुन साँझ नेपाली राजदूतावास लण्डनमा सो छलफल भएको हो ।

आगामी २५ अगष्टका दिन लण्डनस्थित केम्पटन पार्कमा आयोजना गर्न लागेको एघारौं नेपाली मेलालाई कसरी व्यवस्थित रुपले सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत छलफलमा नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख शरद राज आरनले नेपाली दूतावासले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए ।
उनले नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धनमा नेपाली मेलाले खेल्दै आएको भूमिकाबारे चर्चा गर्दै दूतावासले व्यापक रुपमा मेलाको विभिन्न कार्यक्रम र सामाजिक संजालमार्फत प्रचारप्रसारमा सक्दो सहयोग गर्ने वचन दिए । साथै, उनले यसपटक पनि सदाझै बेलायतस्थित विदेशी कुटनैतिक अधिकारीहरुलाई निमन्त्रणा गर्ने जानकारी गराए ।
त्यस्तै, उनले मेलामा भिजिट नेपाल २०२० को समेत प्रचारप्रसार गर्नुपर्ने सल्लाह दिँदै भिजिट नेपालको इलोक्ट्रोनिक प्रचार सामग्री आयोजक तमुधिं युकेलाई प्रदान गरे ।
सो अवसरमा नेपाली मेला आयोजक संस्था तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले मेलालाई अझ व्यवस्थित र आकर्षक बनाउन आफुहरुले सक्दो प्रयत्न गर्ने बताए । साथै, उनले नेपालबाट केही सेलिब्रेटीहरुलाई निमन्त्रणा गर्ने योजना रहेको बताउँदै यसपटक बढीभन्दा बढी युवाहरुलाई सहभागी गराउन आवश्यक पहल भैरहेको समेत जनाए ।
त्यस्तै, मेला संयोजक एवं तमुधिं युके उपाध्यक्ष जुमकाजी गुरुङले उक्त मेला बिहान साढे १० बजेबाट शुरु गरिने र करिब १२ः४५ बजेदेखि झाँकी प्रदर्शन गरिने लगायत कार्यक्रमको रुपरेखा प्रस्तुत् गरे । साथै, उनले यसपटक प्रदान गरिने पुरस्कारको राशीबारे समेत जानकारी गराए ।
तमुधिं युकेको आयोजना र नेपाली राजदूतावास लण्डनको सहयोगमा सम्पन्न हुँदै आएको मेलाको तयारीबारे गरिएको सो छलफलमा नेपाली दूतावास लण्डनका सकेण्ड सेक्रेटरी लब सुवेदी, थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, तमुधिं युके सल्लाहकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, भूतपूर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, तमुधिं लण्डन ईकाई निवर्तमान अध्यक्ष दिपक (डेविट) गुरुङ, फोटो पत्रकार मिलन तमु लगायतले मेला सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सुझावहरु दिएका थिए ।
स्मरण होस्, तमुधिं युकेले सन् २००९ सालदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाली मेलामा उत्कृष्ट झाँकी तथा नृत्य प्रस्तुत् गर्ने समूहलाई नेपाली दूतावास लण्डनद्वारा प्रायोजित ‘एम्बासेडर कप’ ले सम्मान गर्दै आएको छ ।
बेलायतस्थित विभिन्न जातीय र भेगीय नेपाली संघसंस्थाहरुले भाग लिँदै आएको नेपाली मेलाले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा बिशेष भूमिका खेल्दै आएको छ ।






