शिवशरण गुरुङ
फार्नबरो । क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन यूकेको अध्यक्षमा पुनः वसन्त गुरुङ निर्वाचित भएका छन् ।
शनिबार २२ जुनका दिन ग्रेन्ज कम्युनिटी जुनियर स्कुलको हल फार्नबरोमा सम्पन्न वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनबाट गुरुङ सर्वसम्मत् अध्यक्षमा चुनिएका हुन् ।
चौथो कार्यसमितिको उपाध्यक्षमा लेप्टिनेन्ट मेखबहादुर गुरुङ, महासचिवमा प्रकाश रावत, सचिवमा किरण गुरुङ, कोषाध्यक्षमा गन्ज तामाङ, सहकोषाध्यक्षमा नारायण गुरुङ, मिडिया तथा जनसम्पर्क अधिकारीमा मुकेश राई र क्षेत्रीय प्रतिनिधिमा मित्रबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् ।
महाधिवेशनमा संस्थापक अध्यक्ष मेजर चित्रराज लिम्बु एमभिओ एमबिई र पूर्वअध्यक्ष मेजर भलामान राईलगायत एसोसिएसनका थुप्रै जेष्ठ, आजीवन तथा साधारण सदस्य परिवारसहित उपस्थित थिए । तीन चरणमा महासचिव प्रकाश रावतले सञ्चालन गरेको साधारणसभा तथा चौथो महाअधिवेशन आरम्भमा एसोसिएसनका दिवंगत नीरबहादुर राई र जीत पुनको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।
पहिलो चरणा अध्यक्ष बसन्त गुरुङले स्वागत मन्तव्य राखेपछि महासचिव रावतले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गञ्ज तामाङले प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरिएको थियो । साधारणसभामा पूर्वअध्यक्ष मेजर भलामान राई र अध्यक्ष गुरुङले निर्णयार्थ प्रस्तुत गरेको संस्थाको नयाँ विधान परिमार्जनसहित पारित गरिएको ।
पहिलो चरण कार्यक्रमको अन्तमा अध्यक्ष बसन्तकुमार गुरुङले सभामा उपस्थित सबै सदस्यहरुलाई आभार प्रकट गर्दै धन्यवाद मन्तब्य राखेर तेस्रो कार्यसमितिको कार्यकाल समाप्त भएको घोषण गरेका थिए ।
वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनको दोस्रो चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन यूके चौथो कार्यसमिति निर्वाचन कार्यक्रम राखिएको थियो । पूर्वअध्यक्ष मेजर भलमान राई, मेजर चित्रराज लिम्बु र पूर्व रेजिमेन्टल सार्जन्ट मेजर शिवरण गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समितिले दोस्रो चरणको कार्यक्रममा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन यूकेको निर्बाचन समिति २०१९ बाट प्रकाशित आचारसंहिता र कार्यतालिकाअनुरुप सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरी सर्वसम्मतिबाट चौथो नयाँ कार्यसमिति गठनको परिणाम घोषणा गरेका थिए ।
निर्वाचन समितिको अध्यक्ष मेजर भलामान राईको अध्यक्षतामा निर्वाचन समिति सचिव शिवशरण गुरुङले सञ्चालन गरेको निर्वाचन समिति र चौथो महाधिवेशनमा सर्वसम्मतिबाट बसन्त गुरुङको नेतृत्वमा रहेको तेस्रो कार्यसमितिलाई नै पुनः तीन वर्षको एक कार्यकाल थपेर क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन यूकेको चौथो कार्यसमितिको गठन गरिएको हो ।
कार्यक्रमको तेस्रो चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन यूकेको वार्षिक भेटघाट तथा क्युओजिएलआर ६१आंै जन्म दिवस सेलेब्रेसन कार्यक्रम रहेको थियो ।
चौथो महाअधिवेशनको साधारणसभापछि भव्यताकासाथ सम्पन्न वार्षिक भेटघाट कार्यक्रम एसोसिएसनको सदस्यहरु तथा परिवारहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा रेजिमेन्टका बहालवाला कमान्डर क्युओजिएलआर लेप्टनेन्ट कर्णेल वेष्ट, गोर्खा मेजर चक्रबहादुर क्षेत्री र रेजिमेन्टल सार्जन्ट मेजर प्रकाश गुरुङ विशेष अतिथिको रुपमा उपस्थित थिए ।
यसैगरी रेजिमेन्टल एशोसिएसनबाट पनि रेजिमेन्टका पूर्वकमान्डरहरु तथा अफिसर साहेबहरुमा लेप्टेनेन्ट कर्णेल ब्रिजर ओबिई, लेप्टेनेन्ट कर्णेल गिलहाम, लेप्टेनेन्ट कर्णेल मेकालिस्टर र लेप्टेनेन्ट ग्रिन अतिथिको रुपमा उपस्थित थिए । सबै अतिथिहरुलाई एशोसिएसनका अध्यक्ष बसन्त गुरुङ, उपाध्यक्ष लेप्टेनेन्ट मेखबहादुर गुरुङ र महासचिव प्रकाश रावतले खादा लगाई कार्यक्रममा हार्दिक स्वागत गरेका थिए ।
क्वीईन्स वान गोर्खा लोजिष्टिक रेजिमेन्टबाट सैनिक सेवानिवृत्त भइसकेपश्चात् संयुक्त अधिराज्य बेलायतका विभिन्न क्षेत्रमा पेसा तथा व्यवसायमा संलग्न एउटै परिवेश र एउटै रेजिमेन्टका सम्पूर्ण भूतपूर्व सदस्यहरुलाई एउटै थलोमा समेटी आपसी समझदारी, सद्भाव र सहयोगको भावनात्मकरुपमा विकास गरी एकताको सुत्रमा आवद्ध भई भावी सन्ततिहरुमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन यूकेको चिनारीलाई बेलायतमा सधैं दीगो र जिवन्तता राख्ने मार्ग सुनिश्चित गर्नुको साथै आफ्नो रेजिमेन्टको संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बर्धन गर्दै आफ्ना सहपाठी र तिनका परिवारजनमा आवश्यक विभिन्न सहयोग, परोपकारी तथा सामाजिक सेवाका निम्ति सन् २००६ मा स्थापना भएको क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन ।
अल्डरसटको प्यालेस रेस्टुरेन्टका प्रोपाईटर ऋषि रानाको व्यवस्थापनमा थुप्रै परिकारका अति स्वादिष्ट भोजन, पर्याप्त पेय पदार्थको साथ मनोरञ्जनका निम्ति कार्यक्रममा निर्मल श्रीसको संयोजनमा एक तोला सुन प्रथम पुरस्कार र आधा तोला सुन दोस्रो पुरस्कारसहित अन्य आकर्षक पुरस्कारहरु रहेको राफल ड्र पनि आयोजना गरिएको थियो ।
राफल ड्रको प्रथम पुरस्कार श्रीमती मिना रावत र दोस्रो पुरस्कार मित्र गुरुङले जितेका थिए । मनोरञ्जनका लागि आफ्नै एसोसिएसनमा रहेका आन्तरिक प्रतिभाहरुको समायोजन गरी होमबहादुर रानाको संयोजकत्वमा गीत तथा नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रेजिमेन्टको प्रथम गोर्खा लेप्टेनेन्ट कर्णेलमा पदोन्नति भएका मेजर देवेन्द्र आले एमभिओ एमबिई, स्यान्डस्र्ट टाउन काउन्सिलको काउन्सिलरमा निर्वाचित भएका रामकुमार लिम्बु र मिस इंगल्यान्ड २०१९ प्रतियोगिताको फाइनलमा प्रवेश हुन सफल प्रतिष्ठा रावतलाई अध्यक्ष गुरुङले खादा लगाई सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा अध्यक्ष बसन्त गुरुङले एसोसिएसनले हासील गरेका प्रगति र उपलब्धिहरुको संक्षेपमा चर्चा गर्दै उपास्थित सबैलाई आभार प्रकट गरेका थिए । यसैगरी कार्यक्रममा सम्मानित हुन पाउँदा अत्यन्त खुसी ब्यक्त गर्दै लेप्टिनेन्ट कर्णेलमा पदोन्नति भएका मेजर देवेन्द्र आले एमभिओ एमबिई, काउन्सिलर रामकुमार लिम्बु र प्रतिष्ठा रावतले कार्यक्रमको आयोजक समिति तथा उपस्थित सबैलाई आभार प्रकट गर्दै हार्दिक धन्यबाद दिएका थिए ।
मन्तव्य राख्ने क्रममा गोर्खा मेजर चक्रबहादुर क्षेत्रीले अध्यक्ष लगायत आयोजक समितिलाई हार्दिक धन्यवद व्यक्त दिँदै रेजिमेन्टको वर्तमान गतिविधि, प्रगति र समसामयिक विषयहरुमा उपस्थित सबैलाई अवगत गराएका थिए । कार्यक्रमको अन्तमा निर्मल श्रीसको डिजेमा सबैले नाचेर भरपुर रमाइलो गरेका थिए ।






