सुधा गुरुङ
बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बिएनसी) को च्यारिटी डिनर नाईट भव्य र सभ्यसाथ सम्पन्न भएको छ ।

आफ्नो ड्रीम हाउस प्रोजेक्ट अर्थात् समाज घर खरिद गर्न सहयोग जुटाउने उद्देश्यले गत २९ जून शनिबार बिएनसीले च्यारिटी निडर आयोजना गरेको हो । साँझ ७ बजेतिर जेनेरल सेक्रेटरी नवराज थुलुङ्गले फायर सेफ्टी ब्रीफ गरेपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रम आरम्भमा च्यारिटी डिनर संयोजक सुधा गुरुङले डिनर नाईट आयोजना गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पार्दै अधिकांशले अक्सर अरुकै लागि च्यारिटी गर्ने गरेकोमा अब आफ्नै घरको लागि केही गरांै भन्दै प्रतिघरले १ हजार पाउन्ड प्रदान गरी ट्रस्टी मेम्बर बन्न सबैलाई अनुरोध गरेकी थिइन् ।
त्यस्तै हाउजिङ्ग कमिटीका मुख्य संयोजक पूर्वबिएनसी अध्यक्ष क्याप्टेन पञ्चवीर राईले विभिन्न समुदायले आआफ्नै समाज घर विभिन्न स्थानमा किनेका भए पनि भौगोलिक रुपमा आपूmबाट टाढा रहेका ती समाज घरमा वर्षको दुई, तीन पटक विशेष तिथि मितिमा मात्रै गइने हुँदा आफ्नै गाउँमा आफ्नो लागि एउटा समाजघर नितान्त आवश्यक रहेको कुरामा जोड दिए । त्यसपश्चात् जेनेरल सेक्रेटरी थुलुङ्गले बिएनसी हाउजिङ्ग प्रोजेक्टबारे अत्यन्तै प्रभावकारी ढंगले पावर प्वोईन्ट प्रेजेन्टेशन प्रस्तुत गरेका थिए । हाउजिङ्ग एकाउन्ट होल्डरप्रसाद राईले हालसम्म उठेको रकमको विवरणबारे कार्यपत्र प्रस्तुत गरे । फलस्वरुप उल्लेख्य मात्रामा थुप्रै सदस्यहरुले ट्रस्टीमा आफ्नो नाम दर्ता गराए । कार्यक्रममा करिब २१० जना जति विभिन्न उमेर समूहका बिएनसी सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रमको दोस्रो चरणमा जोडदार सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । जसमा स्थानीय बिएनसी यूथ कलाकारहरु र प्रिया लिम्बुले मनमोहक नृत्यहरु पेस गरेपश्चात् नेपालबाट आएका कलाकारद्वय प्रिती आले र पवन रानाले सबैलाई आफ्नो गायनकलाले मन्त्रमूग्ध बनाउन र झुमाउन सफल भए ।
कार्यक्रमको अन्तमा राफल ड्र पनि गरिएको थियो । हरितालिका तीज नजिकिँदै गरेको बेला पहिलो पुरस्कार आधा तोलाको तिलहरीको भाग्यशाली विजयी बन्न सफल भए ललित गुरुङ दोस्रो र तेस्रो पुरस्कार बिजयी भए क्रमशः जीवन गुरुङ गुरुङ र राम राई । राफल ड्र पछि अध्यक्ष ओम गुरुङले सबै कलाकारहरु, डिजे सन्तोष गुरुङ, स्वादिष्ट खानाको व्यवस्था मिलाउने गोर्खा किचन अल्डरसट, सम्पूर्ण बिएनसी भोलन्टीएरहरु, कुशल उद्घोषिका सन्तोषी गुरुङ र उपस्थित सबै अतिथिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेपश्चात् बडो सौहार्दपूर्ण वातावरणमा कार्यक्रम समापन भएको थियो ।
सन् २००६ मा केवल १५, १६ घर अवकाशप्राप्त गोर्खा सैनिक र एक दुई सिभिलियन परिवारको बसोबास रहेको बेजिङ्गस्टोकमा बिएनसी समाजको स्थापना गर्ने संस्थापक अध्यक्ष हुन्, क्याप्टेन भक्त लिम्बू । क्याप्टेन लिम्बू वीर गोर्खा सैनिक रामबहादुर भिसीका ज्येष्ठ सुपुत्र हुन् ।
नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न जातजातिका अवकाश प्राप्त सैनिक परिवार साथै गैरसैनिक परिवार बेजिङ्गस्टोकमा एकदमै मिलेर बसेका छन् । बिएनसीमा २ थरीको सदस्यता लिने प्रावधान छ । साधारण सदस्य शुल्क पाँच पाउन्ड र आपतकालीन सदस्य शुल्क दस पाउन्ड रहेको छ । बिएनसी सदस्यता लिएर दर्ता भएका कुल ४५० घर छन् भने सदस्यता नलिएका परिवारहरु पनि थुप्रै रहेको अनुमान छ ।
जताततैबाट पायक पर्ने, स्कुल, कलेज, अस्पताल, सपिङ्ग सेन्टर, बस, रेल सबै कुराको सुविधा रहेको बेजिङ्गस्टोकमा दिनानुदिन नेपालीको बसोबास बाक्लिँदै गएको छ । ह्याम्पशायर काउन्टीका अन्य स्थानहरुको दाँजोमा बेजिङ्गस्टोकमा घरहरु सस्तो हुनु पनि मानिसहरुका लागि आकर्षणको अर्को मुख्य कारण हुनसक्छ ।
बिएनसी मेन कमिटीले नेपाली नयाँ वर्षमा समर पार्टी र दसैं तिहारताका विन्टर पार्टीको आयोजना गर्ने गर्दछ भने बिएनसी लेडिज टिमले नियमित तीज रमझम र बेला मौकामा लेडिज नाईटको पनि आयोजना गरी स्वदेशका विविध संघसंस्थालाई थुप्रै सहयोग पुराइसकेको छ । त्यस्तै बिएनसी यूथले पनि समाजमा सक्रिय भूमिका निर्वाह गर्दै विविध क्रियाकलापहरुको आयोजना गर्ने गर्दछन् । साथै सिनियर सिटीजन आमा बाबाहरुको लागि पनि सप्ताहमा दुई पटक हरेक मंगलबार र शुक्रबार नियमित कफी मर्निङ्ग, योगा र अंग्रेजी कक्षासमेत सञ्चालन गर्ने गर्दछ । वर्षको एकपटक उनीहरुलाई खाना खुलाउनुको साथै घुमाउन पनि लगिने व्यवस्था बिएनसीले मिलाउने गर्दछ ।
समग्रमा बिएनसीले तीनै पिढीका बासिन्दाका क्रियाकलापको लागि राम्रो व्यवस्था मिलाएको छ । साथै समाजका सबै सदस्यहरुले मिलिजुली भोलन्टीएरली काम गर्ने भएकोले पनि होला बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी बेलायतभरी नै एक नमुना समाजको रुपमा चिनिन सफल भएको दाबी गरिएको छ ।






